महाभारत– काभ्रे जिल्लाको महाभारत गाउँपालिका अब पूर्ण विद्युतिकरण गाउँपालिका भएको छ । विहिबार नेपाल सरकारका ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत, प्रतिनिधि सभा सदस्य तथा पूर्व राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज), नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले संयुक्त रुपमा विद्युतिकरणको उद्घाटन गरेका हुन् ।

निक्कै लामो समय टुकीबत्तिको सहारामा बसेका महाभारत गाउँपालिकाका ३ हजार ४ सय १७ घर धुरीले अब विजुली बत्तिको उपभोग गर्न पाएका छन् । भौगोलिक विकट्ता र राज्यको विभेदका कारण सो क्षेत्रमा विद्युतिकरण हुन सकेको थिएन । माओवादी केन्द्रको ‘लालकिल्ला’ भनेर चिनिने सो गाउँपालिकामा विद्युतिकरणको प्रतिबद्धता गर्न गाउँपालिका अध्यक्ष जिम्बादेखि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सम्म पुगेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सरकारले नेपालका सबै नागरिकहरुको घरमा सहज रुपमा बिजुली बत्ती पु¥याउने योजना बनाएको बताउँदै अब विद्युतिकरण हुन बाँकी क्षेत्रहरमा पनि पूर्ण विद्युतिकरण हुने बताए । काभ्रेको महाभारत गाउँपालिकालाई पूर्ण विद्युतिकरण हुनु सुखद बताउँदै बस्नेतले यसलाई पूर्ण रुपमा उपयोग गर्न महाभारतवासीलाई अनुरोध गरे ।

यसैगरि कार्यक्रमलाई सम्बोधन गर्दै सांसद दोङले जनयुद्ध कालदेखि आजसम्म महाभारतबासीले परिवर्तनको लागि खेलेको भूमिकाको प्रतिफल पूर्ण विद्युकिरण रहेको बताए । आफ्नो पार्टीले तीन पटक प्रतिनिधि सभामा निर्वाचित हुँदै गर्दा सडक र विद्युतिकरणलाई उच्च प्राथमिकतामा राखेर काम गरेको बताए । अबको मिशन सडक र उत्पादन रहेको उनले प्रतिबद्धता जाहेर गरे ।

यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा उत्पादित बिजुली निर्यात गर्न लागेको बताउँदै बिजुलीको उपभोग बढाउन, लागत कम गर्न र निर्यात मार्फत मुलुक समृद्धि बनाउन प्रयत्न जारी रहेको बताए ।

उज्यालो यात्रा सफल

यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष जिम्बाले महाभारबासीको उज्यालो यात्रा सफल भएको बताए । उज्यालो महाभारत निर्माण गर्न आफूले नेतृत्व गर्न पाउँदा आफू निक्कै हर्षित भएको जिम्बाले बताए । ‘सामान्य भन्दा सामान्य आवश्यकताका लागि पनि बत्तीको आवश्यकता थियो, विकासको नयाँ युगमा प्रवेश गर्दा समेत गाउँपालिकाका नागरिकहरु अन्धकारमा बस्न बाध्य थिए ।’ अध्यक्ष जिम्बाले भने– ‘संघीयताले विकासको नयाँ मुहार फेर्न सफल भएको छ । तीन तहका सरकार निर्माण पछि सुरु भएको महाभारत उज्यालो यात्राको क्रमले सफलता पाएको छ ।’

महाभारत गाउँपालिकाका ३४ सय १७ घर धुरी पहिलो पटक पूर्ण रुपमा विद्युत्तिकरण भएका छन् । पहिलो चरणमा १ अर्ब ५६ करोड बजेट विनियोजन भएकोमा ८३ करोड रुपैया महाभारत र खानीखोलाका लागि ठेक्का सम्झौता भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।