नमोबुद्ध– काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाको नगरसभा शुक्रबारबाट शुरु भएको छ । नगरसभामा नगरप्रमुख कुन्साङ लामाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत ढंगले पारित भएको छ ।
नगर प्रमुख लामाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, सुशासन लगायतका विभिन्न क्षेत्रहरुको नीति समावेश गरिएको छ ।
असार १० गते भित्रमा गाउँ÷नगर सभा गर्नुपर्ने व्यवस्था भए पनि नमोबुद्ध नगरपालिकाले भने आजै नगरसभाका प्रारम्भ गरिएको छ ।

आगामी असार १० गते फेरि बस्ने गरी नगर सभा स्थगन भएको नगर प्रमुख लामाले घोषणा गरेका थिए ।
सभामा नगर उपप्रमुख रात्न लामा, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, पत्रकारहरुको सहभागी थियो ।

यस्तो छ शिक्षा नीति
नमोबुद्ध नगरपालिकाले कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गरिने नीति लिएको छ । नगर प्रमुख लामाले प्रस्तुत गरेको सो नीति तथा कार्यक्रममा प्रविधियुक्त सिकाई प्रवद्र्धन गर्ने र विद्यालयमा प्राविधिकधारका विषयहरु पठन पाठन गर्न सम्भाव्यता अध्ययन गरी सरोकारवालाहरुसँगको सल्लाह सुझाव बमोजिम सम्बन्धित निकायमा पहल गरिने उल्लेख छ ।
‘बालविकास देखि कक्षा ५ सम्म कुल बिद्यार्थी संख्या ३० भन्दा कम भएका सामुदायिक बिद्यालयका बिद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रममा नगरपालिकाको साझेदारी बढाईनेछ ।’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘विद्यार्थी संख्या र भूगोल समेतका आधारमा विद्यालय समायोजन र दरबन्दी मिलानको कामलाई तत्काल अगाडी बढाईनेछ । भूगोल हेरेर विद्यालय बस संचालन गरी आवतजावतलाई सहज सरलीकरण गरिनेछ ।’
कृषि तथा पशुपंक्षी विकास नीति
नगरपालिकाले कृषि यान्त्रिकरण, वीउ प्रविधि तथा प्रशोधन एवंम् भण्डारणमा अनुदानको व्यवस्था गरी कृषि क्षेत्रको उत्पादन एवं उत्पादकत्व वृद्धि गर्ने जनाएको छ । ‘कृषि कर्मको सारः खाधान्न र तरकारीमा आत्मानिर्भर हुँदै व्यापार’ नारासलाई सार्थकता बनाउने जनाएको छ ।
‘रासायनिक मलको अभावलाई परिपूर्ति गर्न नेपाल सरकार र प्रदेश सरकारको समन्वयमा मलको कोटा बढाउन विशेष पहल गरिनेछ।’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘दिगो, आत्मनिर्भर, व्यवसायिक कृषि प्रणालीको विकास गर्न र कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न उत्पादन देखि बजारीकरण सम्मको स्पष्ट सुधार कार्ययोजना निर्माण गरी कार्यान्वयन गरिनेछ।’
त्यसैगरि नगरप्रमुख लामलो प्रस्तुत गरेको नीति तथा कार्यक्रमा एक गाउँ एक कृषि तथा पशु प्राविधिक, एक वडा एक कृषि दुत तथा एक पालिका एक पशु चिकित्सकको व्यवस्थापन गरी कृषकको घर(आँगनमा विज्ञ कृषि प्राविधिक सेवा उपलब्ध गराई उल्लेख गरिउको छ ।
भौतिक पूर्वाधार विकास नीतिः
नगर भित्र रहेका वडा कार्यालयहरुबाट पालिकाको केन्द्र र नजिकको पिच सडकमा जोडिने सडक लगायतका मुख्य सडकहरुको आवश्यक्तानुसार निर्माण, स्तरोन्नती र मर्मत गरी सडक पूर्वाधारको दिगो र गुणस्तरीय व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगरपालिकाको गौरवकको रुपमा रहेको जयटार–जनक मावि चुवाने सडक, कानपुर डाँडागाउँ हुँदै विपि राजमार्ग जोड्ने सडक, दलसिंगे–ऐसेलुचौर दाप्चा सडक, श्यामपाटी कुरुगाँउ वडा कार्यालय जोड्ने सडक, विपि राजमार्ग वडा कार्यालय जोड्ने सडक, वि.पि. राजमार्ग–ढुङ्गासाँघु–चरुवा–भेडाबारी–बोहोर सडक, नौबिसे–कांक्रे सडक, दाप्चा–बसेरी सडक, भकुण्डे–आरुबारीचौर–दाप्चा सडक, दाप्चा–गहते सडक, दाप्चा–पिपलटार सडक, तल्लो हटिया काँक्रे चौकीडाँडा सडक लगायतका आयोजनाहरु सञ्चालन गरिने उल्लेख छ ।
‘प्रत्येक वडामा बालमैत्री पार्क, पिकनिक स्पट,चौतारो, पोखरी, खेलमैदान, पुस्तकालय, संग्रहालय, योगकेन्द्र आदि स्थापना गर्दै लगिनेछ।’ नीति तथा कार्यक्रममा उल्लेख छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























