हेटौँडा– बागमती प्रदेशमा प्रतिपक्षी दलका सांसदहरुको योजनामा बजेट थप्ने सहमति भएको छ । सत्तारुढ र प्रतिपक्षी दलबीचको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा प्रतिपक्षी सांसदका योजनामा बजेट थप गर्ने सहमति भएको हो ।

यो सहमतिसँगै प्रदेशसभाको अवरोध हट्ने भएको छ । विपक्षी दलको अवरोधका कारण आज बिहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्हसम्म सञ्चालन हुन सकेको छैन । तर, हेटौँडास्थित मुख्यमन्त्री निवासमा भएको सत्तारुढ र प्रतिपक्षी दलको बैठकको सहमति पछि भने प्रदेशसभाको अवरोध हट्ने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी लगाएतका दलले बजेट असन्तुलित भएको र सच्याउनुपर्ने माग सहित बजेटमाथिको छलफलका लागि बोलाईएको हिजोको प्रदेशसभा बैठकमा अवरोध गरेका थिए ।

बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक मधुसुदन पौडेलले प्रतिपक्षका माग सम्बोधन गरिएको भन्दै दलहरुबीच प्रदेशसभाको अवरोध हटाउने र १२ असारभित्रै बजेट पास गरिसक्ने विषयमा सहमति जुटेको जानकारी दिए । नेपाली कँंग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले पनि सरकारले विकास बजेट थप गर्ने प्रतिवद्धता जनाएको बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।