बनेपा– आम जनता पार्टी (आजपा) बागमती प्रदेशकाे आयाेजनामा काभ्रेकाे बनेपामा प्रदर्शन गरेकाे छ । दलतन्त्र र भ्रष्टाचारको विरुद्धमा आज बनेपामा जनप्रदर्शन गरेको हाे ।

बनेपाकाे मुख्य सडकमा जनप्रदर्शन पश्चात सभालाई सम्बोधन गर्नुहुँदै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशमा बढ्दै गइरहेको भ्रष्टाचार, अनियमितता, लुटतन्त्रको विरुद्धमा जनप्रदर्शन गरेको बताउँदै दलाल दलतन्त्र र भगौडा पुँजीवादी व्यवस्थाको भण्डाफोर गर्नुपर्ने आफ्नो पार्टीको निष्कर्ष रहेको बताए ।

भ्रष्टाचार, अनियमितता, कुशासनको विरुद्धमा आन्दोलन गर्दै आएको आजपाले भ्रष्टाचार नियन्त्रण गर्नमा राज्यका संयन्त्रहरू असफल रहेकोले जनस्तरबाट भ्रष्टाचारीलाई जनकारबाही गर्ने निर्णय गरेको छ,’ अध्यक्ष साहको भनाइ थियो।

यसैगरी बैंकहरूले लिएको मनोमानी ब्याज फिर्ता गराउन तथा लघुवित र सहकारीका ठगहरूविरुद्ध पीडित आमजनताको पक्षमा जारी संघर्षलाई थप सशक्त प्रभावकारी एवम् देशव्यापी बनाउने योजना रहेको उनले बताए ।

यसैबीच कार्यक्रमलाई सम्बाेधन गर्दै आजपाका उपाध्यक्ष ज्ञानेन्द्र कुमार तामाङले दलतन्त्रको ठेकदारहरूलाई खबरदारी गर्न, जनआन्दोलनका मुद्दाहरूको रक्षा गर्न, देशलाई बर्बाद गर्ने नेताहरूबाट जवाफ माग्न, देशलाई आर्थिक सङ्कटबाट बचाउन, काण्डैकाण्डका नाइकेहरूलाई कारवाही गराउन दबाब दिने उद्देश्यले जनप्रदर्शन गरेको बताए ।

रमेश थपलियाको अध्यक्षता र प्रशान्त तिमल्सिनाको सन्चालनमा भएको कार्यक्रममा तिलक थापा, त्रिभुवन साह, नारायण खड्का, देवी पन्डित लगायतले मन्तव्य राखेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।