चौंरीदेउराली- काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले तामाङ समुदायको साँस्कृतिक पर्व नयाँ वर्ष ल्होछार मनाउन र जनयुद्ध दिवस मनाउन बजेटको व्यवस्था गरेको छ । गाउँपालिकाको सोमबार सम्पन्न १४ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सो कुराको उल्लेख गरेको छ ।
‘तामाङ समुदायको ल्होसार कार्यक्रम मनाउन र जनयुद्ध शुरु भएका दिन हरेक वर्ष फागुन १ गतेलाई उल्लासमय दिनको रुपमा ‘जनयुध्द दिवस’ मनाउन आवश्यक बजेटको व्यवस्था गरिनेछ ।’ अध्यक्ष चौंलागाईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
यसैबीच शहिद तथा बेपत्ता पारिएका परिवारहरुलाई राहत स्वरुप दिंदै आएको रकमलाई निरन्तरता दिने र शहिद, बेपत्ता, पूर्व जनमुक्ति सेनाका योद्धाहरुलाई सम्मान गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘जनयुद्ध जनआन्दोलनका शहिद तथा वेपत्ता पारिएका परिवारहरुलाई मासिक रुपमा राहत स्वरुप दिँदै आएको रु. तीन हजारलाई निरन्तरता गरिनेछ ।’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘राजनीतिक व्यवस्था र अवस्था परिवर्तनका लागि शहीद, बेपत्ता, जनयुद्ध घाईते अपाङ्गहरुको योगदानको सदा प्रशंसनीय र उच्च सम्मान छ र जनयुद्ध र जनआन्दोलनमा शहीद परिवारहरु, बेपत्ता, घाईते, पूर्व जनमुक्ति सेनाका योद्धाहरु लगायत मुक्ति र परिवर्तनका लागि योगदान पुर्याएका विशिष्ट व्यक्तिहरुको सम्मान, सामाजिक पुनस्थापना, सिप विकास तथा आयमुलक कार्यक्रमा प्राथमिकता दिईनेछ । चैरीदेउराली गाउँपालिका क्षेत्रभित्रका शहिदहरुको सम्मानमा निर्माण भएका शहिट गेट, शहिद पार्कहरुको आवश्यक मर्मत सम्भार कार्यहरुलाई निरन्तरता दिइनेछ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























