भरतपुर- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस वर्ष पनि किसानलाई समयमै रासायनिक मल उपलब्ध हुने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले साे कुरा बताएका हु्न ।
“पोहोर साल मलको खासै अभाव भएको सुनिएन । यस वर्ष पनि हामी रासायनिक मलको राम्रो तयारीमा छौँ, मलको अभाव हुन दिइँदैन ।” -प्रचण्डले भने ।
चितवनका केरा किसानलाई बीमा वापतको रकम उपलब्ध गराउन सरकार गम्भीर भएर लागेको उल्लेख गर्दै प्रधानमन्त्रीले सकेसम्म चाँडो किसानका समस्या समाधान गर्न लागिपरेको स्पष्ट पारे । उनले जनताले अनुभूत गर्नेगरी परिणाम दिन सरकार क्रियाशील रहेको बताए ।
साेही क्रममा प्रधानमन्त्री प्रचण्डले पार्टी एकीकरण हतारमा नगर्ने बताए । “हामी तत्काल र हतारमा पार्टी एकता वा वामपन्थी एकता गर्ने पक्षमा छैनौँ । धेरै राम्रो उत्साह आएर पनि विगतमा दुर्घटना भयो, त्यसकारण वाम एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छ ।” उनले भने ।
राम्रो सहकार्य गरेर जाँदा जनताले देख्नेगरी काम गर्न केन्द्रित हुनुपर्नेमा जोड दिँदै नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सतर्कताका साथ आफूहरू अघि बढेको स्पष्ट पारे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























