तेमाल- काभ्रे जिल्लाकाे तेमाल गाउँपालिकाका एक पुरुषको शंकास्पद अवस्थामा शव फेला परेपछि दुई जना पक्राउ परेका छन् । तेमाल गाउँपालिका ७ चापाखोरीका ६५ वर्षीय टुल्कु लामा शंकास्पद अवस्थामा मृत फेला परेपछि दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

घटना शंकास्पद रहेको भन्दै स्थानीयले निवेदन दिएपछि मृतक लामाका छोरा मिलन र साढुभाई नाता पर्ने रोशी गाउँपालिका-९ का २६ वर्षीय अर्जुन तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । लामाको खरबारीमा रहेको अमलाको रुख नजिकै शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुरुमा अमलाको रुखमा कपडाको डोरीको पासो लगाएर झुण्डिएको सूचना आएपनि प्रहरी घटनास्थलमा पुग्दा डोरी फुकाईएको भेटिएको थियो । लामाका छोरा मिलनले भने बुबा बाँच्ने आशामा डोरी फुकाएको प्रहरी समक्ष बयान दिएका छन् ।

तर, स्थानीयले भने शव रुखमा झुण्डिएको अवस्थामा नभई भुँईमा फेला परेको र टाउकोमा चोट लागेको देखिएकाले शंकास्पद भएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । घटनालगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला