धुलिखेल- कालोपत्रे गरेको सडकको सार्वजनिक जग्गा बेचेको अभियोगमा जिल्ला अदालत काभ्रेले दुईजनालाई दोषी ठहर गरी सजाय सुनाएको छ । जग्गाधनी मीना भैल र जग्गा सडकको हो भन्ने थाहा हुँदाहुँदै झुटो कागजातका आधारमा जग्गा बेच्ने लोकेन्द्र तोलाङ्गेलाई सजाय सुनाएको हो । काठमाडौं विश्वविद्यालय जाने बाटोको जग्गा व्यक्तिलाई बिक्री भएको खुलेपछि स्थानीयले प्रहरीमा ठगीको जाहेरी दिएका थिए ।

मुद्दामा लोकेन्द्र तोलाङ्गे मिजार, मीना भैल र ज्ञानबहादुर मोक्तानसमेतले कृष्णराम दुवालसमेत तीनजनालाई अर्कको जग्गा देखाई नक्कली ट्रेस नक्साका आधारमा मीना भैलको नाममा रहेको जग्गा बिक्री गरेका थिए । तीन आना क्षेत्रफलको जग्गा ०७५ असोजमा २२ लाखमा बिक्री भएको थियो । जब कि सो जग्गामा ०५३/५३ तिर सडक निर्माण भई कालोपत्रेसमेत भइसकेको थियो । तोलाङ्गे, भैल र मोक्तान मिलेर नापी कार्यालय काभ्रेको छाप लागेको सर्भेक्षकको समेत हस्ताक्षर भएको नक्सा ट्रेस जग्गा खरिदकर्तासामु पेस गरेका थिए । ट्रेस नक्सा नापी कार्यालयबाट जारी नै नभएको पाइएको थियो ।

न्यायाधीश शिवकुमार पोखरेलले गरेको फैसलामा प्रतिवादीहरूको मिलेमतोमा उक्त जग्गाको झुटो ट्रेस नक्सा तयार गरी जग्गा खरिद गर्नेलाई झुक्याइएको उल्लेख छ। गत १५ चैतमै फैसला गरेको ठगी तथा सरकारी छाप दस्तखत किर्तेको मुद्दामा हालै पूर्णपाठ सार्वजनिक भएको हो। ‘जाहेरवालाहरूलाई झुक्याई धोका वा गफलतमा पारी बेइमानीपूर्वक व्यक्तिगत लाभ लिने नियतले सार्वजनिक पीच बाटोको जग्गालाई बिक्री गरी ठगीको कसुर गर्ने कार्यमा निजले अपनाएको तौरतरिका हेर्दा यी प्रतिवादीको सक्रिय भूमिका रहेको र सोही कारणबाट उक्त कि.नं. ६५२ को जग्गा तह–तह बिक्री भएको तथ्यसमेत मिसिल संलग्न राजीनामाको प्रमाणित प्रतिलिपिबाट देखिन आयो,’ फैसलामा तोलाङ्गेको हकमा भनिएको छ । सो मुद्दा ८ असार ०७६ मा अदालतमा दर्ता भएको थियो ।

काभ्रे अदालतले लोकेन्द्रलाई तत्कालीन मुलुकी ऐन, २०२० को ठगीको १ नं. महल तथा मुलुकी अपराध संहिता २०७४ को दफा २४९ (३) (ग) अनुसार जम्मा तीन वर्ष ६ महिना कैद र ३५ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको छ । यसैगरी, मीना भैललाई एक वर्ष तीन महिना कैद र १२ हजार पाँच सय रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको छ । मुद्दाका प्रतिवादी सोनु तोलाङ्गेलाई सफाइ र फरार प्रतिवादी ज्ञानबहादुर मोक्तानको हकमा मुल्तबीमा राख्ने फैसलामा उल्लेख छ ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला