काठमाडाैं- आइडियल यमुना सहकारीका सञ्चालक समितिका सचिव कुयाङ लामाको प्रलोभनमा परेर तामाङ समुदायको साझा संस्था नेपाल तामाङ घेदुङकाे १४ कराेड रुपेयाँ डुबेकाे छ । महँगाे ब्याज पाउँछ भनेर कुयाङले प्रलाेभन देखाएपछि आइडियल यमुना सहकारीमा नगदसहित १४ करोडबराबरको जायजेथा राखेको थियो ।

महँगो ब्याज पाउने आसमा सम्पत्ति राखेका सहकारीले रकम डुबाइदिएपछि घेदुङका पदाधिकारी मानसिक तनावमा छन् ।

घेदुङका अध्यक्ष मोहन गोलेले आइडियल यमुनाले घेदुङको १४ करोड रुपैयाँभन्दा धेरै मूल्यबराबरको जायजेथा डुबाएको बताए । ‘आइडियल यमुनाले हाम्रो संस्थाको १४ करोडभन्दा धेरै मूल्यबराबरको जायजेथा डुबाइदियो । सहकारीकै कारण अहिले संस्थाको अस्तित्व नै संकटमा पर्ने अवस्थामा पुग्यो । विश्वभरका तामाङ समुदायले घेदुङका लागि भन्दै रकम जम्मा गरेका थिए । महँगो ब्याज दिने प्रलोभन कुयाङसहितको टोलीले हामीलाई दियो । हामीले रकम सहकारीमा राख्यौँ । अहिले घर न घाटको बनायो,’ उनले भने, ‘हामीलाई खाली चेकमा हस्ताक्षरसमेत गर्न लगाए । त्यसमा आफैँ रकम भरी दुरुपयोग गरेछन् ।’

दुई हजार बचतकर्ताको आठ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले आइडियल यमुना सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई पक्राउ गरेको छ । पीडितको उजुरीका आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले उनलाई बालाजुबाट पक्राउ गरेको हो ।

सहकारी अभियन्तासमेत रहेका उप्रेती एमालेको केन्द्रीय सहकारी विभाग सचिव हुन् । तर, उजुरीपछि पार्टीले उनलाई पदबाट निलम्बन गरेको छ । उनी राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत हुन् । आइडियल यमुनाकै सञ्चालक समितिका सचिव कुयाङ लामा भने फरार छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।