बेथानचाेक- काभ्रे जिल्लाकाे बेथानचोक गाउँपालिकामा ५२ जना गृहिणी महिलाहरुलाई ५ दिने अचार बनाउने व्यावसायिक तालिम सम्पन्न भएकाे छ । गाउँपालिकाकाे गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत सञ्चालन भएकाे साे व्यावसायिक तालिम असार १६ गतेदेखि सञ्चालन भइ आज (विहिबार) सम्पन्न भएकाे हाे ।
तालिमकाे समापन वागमती प्रदेश सभा सदस्य सांसद रुकु चाैंलागाईंकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे । कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद चाैंलागाईंले महिला सीपवान भए आर्थिक समुन्नति हुने बताउँदै महिलाकाे सीप चुलो चौको मै सिमित हुँदा आर्जित सीप व्यावसायिक नभएकोले आय आर्जनका सवालमा महिला पछि परेको बताए । निर्वाहमूखीबाट माथी उठेर व्यावसायिक बन्न आवश्यक समाजका हरेक वर्ग र समुदायको पहुँच र अवस्था हेरेर स्वरोजगारी सृजना गर्नु पर्नेमा जोड दिँदै उनले समूह बनाएर वा एकल व्यवसाय गर्दा पनि प्रदेश सरकारको साथ र सहयोग मिल्ने हुँदा आफ्ना स्थानीय जनप्रतिनिधिमार्फत प्रदेशसम्म पहुँच बढाउनुपर्नेमा उनकाे जाेड थियाे ।
यसैबीच कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले तालिमले महिलाहरुकाे आत्मबल बढाउने, आर्थिक हैसियत प्रदान गर्ने हुँदा सीपमुलक तालिमबाट सिकेको कुरा व्यवहारमा उतार्न आग्रह गरे । जनप्रतिनिधिले महिलाको सीप, दक्षता विकासमा ध्यान दियौं भने महिलाले व्यहोरेको अपमान, असमानता विस्तारै न्युनीकरण हुँदै जाने कुरा उनले बताए ।
कार्यक्रममा वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले महिला सशक्तीकरण र समावेशिता नारामा वा कुरामा मात्र सिमित नराखी व्यवहार मै उतार्न आवश्यक रहेको बताउँदै अग्रणी महिलाहरुसँग कुन तालिम आवश्यक छ भन्ने सुवाझ लिएरै अचार बनाउने सीपमूलक तालिम सञ्चालन गरिएको बताउ ।
कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले वागमती प्रदेश सामाजिक विकास मन्त्रालयको ८० प्रतिशत र बाँकी बेथानचोक गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको जानकारी दिए ।
सहभागीहरुले तालिममा आँपको अचार, मिक्स अचार, गोलभेंडाको अचार, हरियो अकबरे खुर्सानीको मसला अचार, मथीको टुसाको अचार, खुर्सानीको धुलो र टिमुरको अचार, कागतीको अचार, मेथीको धुलो तथा लेदोको अचार बनाउन सिकेको गाउँपालिकाकी उद्यम विकास सहजकर्ता अम्बिका खरेलले जानकारी दिए ।
तालिममा प्रशिक्षकका रुपमा मिरा बजगाले भूमिका खेलेकी थिइन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























