महाभारत- काभ्रे जिल्लाकाे महाभारत गाउँपालिकाले कफी कृषकहरुलाई कृषि सामाग्री वितरण गरेकाे छ । कृषकलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै उत्पादन वृद्धि गरि किसानहरुलाई कफिबाटै आत्मनिर्भर र आर्थिकोपार्जन होस् भन्ने उद्देश्यले सो सामाग्री वितरण गरेकाे हाे ।

बुधबार गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले कफि किसानलाई ८० वटा पल्पर मेसिन, १०० वटा कफी इस्टोर गर्ने जाली १०० जनालाई ५०० मिटर पार्चमेन्ट सुकाउने जाली, बिन्स बनाउने मेसिन, महिचर मेसिन, डिजिटल तराजु र ह्यण्ड ग्रेडर सहित वितरण गरेका थिए । कफी उत्पादनको पकेट क्षेत्ररुपमा विस्तार गर्न गाउँपालिकाले पहल लिइरहेकाे छ । यसैलाई ध्यानमा राखेर साे सामाग्रीहरुकाे वितरण गरेकाे अध्यक्ष जिम्बाकाे दावी छ ।

किसानको आयआर्जनको माध्यम कफीखेती बन्न थालेपछि महाभारत गाउँपालिकाले यहाँका किसानलाई अनुदानमा कफीको बिरुवा पनि वितरण गर्दै आएको छ । गाउँपालिकामा एक हजार चार सय ३३ रोपनी जमिनमा कफीखेती भइरहेको छ । अध्यक्ष जिम्बाले गाउँपालिकाको भूभागमा कफीको लागि निकै नै उत्कृष्ट हावापानी रहेको जनाउँदै कफीको उत्पादन बढाउने आफूहरुको योजना रहनेसमेत प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा उपाध्यक्ष सागर मोक्तान, प्रमुख प्रशाकीय अधिकृत हरि सिं विष्ट, सहकारीको प्रतिनिधि लगायत कफी कृषकहरुको उपस्थिति रहेकाे थियाे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।