धुलिखले-  काभ्रेकाे राेशी गाउँपालिका वडा नं ५ मा रहेकाे बहुमुल्य बुद्धचित्तमालाकाे रुख काटेकाे अभियाेगमा पूर्पक्षकाे लागि थुनामा रहेकाे सिजन भनिने मानबहादुर तामाङ रिहा भएकाे छ । तामाङलाई उच्च अदालत पाटनले असार २० गते ५० लाख धरौटीमा छाड्न आदेश दिएसँगै शुक्रबार जिल्ला अदालत काभ्रेपलाञ्चोकमा धरौटी बुझाएर रिहा भएका हुन् ।

५४ करोड ९९ लाख ७ सय ८० रुपैया क्षतिपुर्ति मागदावी गरि विस्फोट पदार्थ सहित बोधिचित्तको रुख काटेको अभियोगमा जिल्ला अदालत काभ्रेकाे आदेशले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाे थियाे । उनलाई  जिल्ला अदालत काभ्रेका न्यायाधीश राजेन्द्र नेपालको आदेशले जेठ २८ गते पुर्पक्षमा राख्ने आदेश दिएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीशद्धय राज्यलक्ष्मी बज्राचार्य र ब्रजेश प्याकुरेलको संयुक्त इजलाशले विस्फोटक पदार्थ, अपराधिक उपद्रव, संगठित अपराध मुद्दामा जिल्ला अदालत काभ्रेले २०८१ जेठ २८ गते गरेको आदेश मिलेको नदेखिँदा बदर गर्ने आदेश गरेको हो । मुलुकी फौजदारी कार्याविधि संहिता, २०७४ को दफा ६८ तथा ७२ समेतको आधारमा प्रतिवादी सिजन भन्ने मानबहादुर तामाङलाई ५० लाख वा सो बराबरको जमानत दिएमा तारेखमा राख्नु भन्ने आदेश दिएको छ । उच्च अदालत पाटनले सिजन भन्ने मानबहादुरलाई मुख्य योजनाकार नभएकाले छाडिदिन भनेको जनाएकाे छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।