धुलिखेल- काभ्रे जिल्लाकाे धुलिखेल नगरपालिकाले युवाहरुलाई विभिन्न शिपकाे तालिम दिएकाे छ । आर्थिक वर्ष २०८०/०८१ अन्तर्गत रोजगार सेवा केन्द्र, धुलिखेल नगरपालिकाको आर्थिक सहयोग तथा ग्लोवल इन्ष्टिच्युट अफ होटल म्यानेजमेन्ट एण्ड टुरिजम टेक्निकल सेन्टर प्राली भक्तपुरको प्राविधिक सहयोगमा ४८ जनालाई तालिम दिएकाे थियाे ।
धुलिखेलका विभिन्न वडाका युवाहरुलाई वेटर/वेट्रेस तथा हाउसकिपिङ सम्वन्धी १ सय ६० घण्टाको सीप तथा क्षमता विकास तालिम प्रदान गरिएको थियाे। सहभागिहरुलाई एक कार्यक्रमका बीच धुलिखेल नगरपालिकामा प्रमाणपत्र वितरण गरिएको छ ।
तालिम पश्चात अधिकांश ब्यक्तिहरुले रोजगार प्राप्त गर्ने उदेश्यले नरपालिकाले विभिन्न होटल तथा ट्रेनिङ्ग सेन्टर, उद्योग बाणिज्य संघ तथा विभिन्न संघ संस्थासँग समन्वय गरी राेजगारकाे समेत ब्यवस्था गरेकाे छ । नगर रोजगार संयोजक सम्झना शर्मा नेपालका अनुसार तालिममा सहभागिहरु मध्ये केहिलाई हायात होटल, केहिलाई भक्तपुरको सुमेरु होटल तथा अन्य विभिन्न संघ सस्थाहरुले प्रशिक्षार्थी कामदारका रुपमा पारिश्रमीक सहित उपलब्ध गराउने गरी छनौट गरेका छन् ।
यसैबीच धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाले धेरै भन्दा धेरै ब्यक्तिहरुलाई रोजगार उपलब्ध गराउने गरी नगरपालिकाले परिषद् गठन गरी सीप तथा क्षमता अभिबृद्धि, उद्यमशिलता र शशक्तिकरण सम्वन्धि तालिम प्रदान गरिरहेको बताए ।
नगर प्रमुख ब्याञ्जुले धुलिखेलमा रहेका होटल तथा लजहरु, अन्य संघ संस्थाहरु तथा विभिन्न क्षेत्रमा रोजगारको अवसर सिर्जना गर्ने गरी कार्य गरिरहेको बताउँदै सहभागिहरुलाई अवसरका आधारमा तालिम र सीप लिन, लिएको सीपलाई ब्यवहारमा कार्यान्वयन गर्न, आत्मनिर्भर बन्न तथा रोजगारमुलक कार्य गर्न सुझाव दिए ।
कार्यक्रममा उपप्रमुख निराजन जंगमले धुलिखेल पर्यटकिय क्षेत्र भएकाले सिकेको सीपलाई ब्यवहारमा कार्यान्वयन गर्न मेहनत, इमान्दारीता र निरन्तरता आवश्यक रहेको बताए । धुलिखेल नगरपालिका गरिरहेका कार्यहरुले रोजगारको अवसर सिर्जना भएको उनले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।