बेथान्चोक– काभ्रले जिल्लाको बेथानचोक गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरिएको छ । विहिबार (आज) गाउँपालिका अध्यक्ष भगवान अधिकारी र उपाध्यक्ष तारा रानाले एकैसाथ उद्घाटन गरेका हुन् ।

उद्घाटनसँगै बेथानचोक गाउँपालिकाले स्थानीय सरकार संचालन भएको ७ वर्ष पछिे आफ्नै प्रशासकीय भवनबाट सेवा शुरु गरेको छ ।

भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष अधिकारीले गाउँपालिकाले राज्यको साधन, श्रोतको अधिकतम सदुपयोग गर्दै नयाँ भवनबाट नागरिकहरुलाई सहज र सरल रुपमा सेवा प्रारम्भ गर्ने प्रतिवद्धता ब्यक्त गरे । अध्यक्ष अधिकारीले प्रशासकीय भवनका रुपमा प्रयोगमा ल्याएका भवनमा आवश्यकताका आधारमा संरचनाहरु थप गर्दै लैजाने बताए । ‘प्रशासकीय भवनमा आवश्यक पर्ने केहि शाखाहरुको ब्यवस्थापन तथा सभा हल निर्माणका लागि क्रमशः ब्यवस्थापन गर्दै जाने छौं ।’ –अध्यक्ष अधिकारीले भने– ‘दुई तल्ला भवनमा तत्कालका लागि आवश्यक पर्ने सबै संरचनाको ब्यवस्थापन गरिएको छ ।’

त्यसैगरी नयाँ भवन उद्घाटनसँगै अध्यक्ष अधिकारीले स्वास्थ्य सम्वन्धि महत्वपूर्ण निर्णय गरेको बताए । उनले स्वास्थ्य सेवाका लागि यस अघि संचालन भईरहेको बर्थिङ्ग सेन्टरको निरन्तरता, आधारभूत अस्पतालका लागि वडा नम्वर ४ मा निर्माण भईरहेको गुम्बुडाँडाको भवनलाई प्रयोगमा ल्याउने र वडा नम्वर ३ मा रहेको धुलिखेल अस्पताल तथा हरेक वडाहरुमा रहेका स्वास्थ्य संस्था मार्फत सेवालाई प्रभावकारी बनाउने निर्णय गरेको बताए ।

यस अघि बेथान्चोक गाउँपालिकाले सामुदायिक भवनबाट बार्षिक ५ लाख रुपैया भाडा दिदै सेवा उपलब्ध गराउँदै आएको थियो ।

त्यसैगरी भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष रानाले नागरिकहरुले आवश्यकता अनुसार सेवा प्राप्त गर्न अपाङ्गतामैत्री, महिला, बालालिका र जेष्ठ नागरिक मैत्री भवनको ब्यवस्थापन गरिएको बताईन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।