धुलिखेल– जिल्ला प्रहरी कार्यालय काभ्रेकाे नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रम जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्काको अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथी तथा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले अपराध न्यूनिकरणमा प्रहरी एक्लैको दायित्व सम्भव नहुने बताउँदै समुदाय स्तरमा सचेतना बढाउने, नागरिकहरुको कर्तब्य र दायित्व बोध गराउने, समुदायमा रहेका विभिन्न तह र तप्काका ब्यक्तिहरुसँग अन्तरक्रिया गर्ने, सुझावहरु संकलन गर्ने र सुधार गर्दै लैजानु आवश्यक रहेकाे बताए ।

प्रहरीलाई प्रविधी मैत्री, अनुसन्धान केन्द्रित र नागरिकहरुलाई कर्तब्यमुखी र समुदायलाई हरेक क्षेत्र प्रति उत्तरदायि बन्ने वातावरण तयार गर्नु पर्ने भनाइ राख्दै उनले  प्रहरीले खेलिरहेको भूमिका र पुरा गरेको दायित्व प्रति सन्तुष्ट रहेको र अझै परिस्कृत र प्रविधिमैत्रीमा ध्यान दिन सुझाव समेत दिए ।

यसैबीच विशेष अतिथी प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले प्रहरीले गर्ने हरेक कार्यहरु नागरिक मैत्री रहेकाे बताउँदै नागरिकहरुका हरेक समस्या समाधानका लागि प्रहरी सधै तत्पर रहेकाे बताए ।

त्यसैगरी कार्यक्रममा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले नागरिकहरुको जिउधनको सुरक्षा, जिल्लामा भएका विविध घटना तथा परिघटनाहरुमा प्रहरीले शशक्त भूमिका निर्वाह गरेको बताउँदै अपराध अनुसन्धान तथा नियन्त्रण, दुर्घटना न्युनिकरण, नागरिकहरुलाई सचेतना र शान्ति सुरक्षाका क्षेत्रमा प्रहरीले जस्तो सुकै अवस्थामा समेत दायित्व र जिम्मेवारी पुरा गरेको दावी गरे ।

नागरिकहरुले दिएका सुझावहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्धता ब्यक्त गर्दै प्रहरी प्रमुख एसपी खड्काले अपराधको संख्या बढिरहेको, अपराधका बारेमा नागरिकहरुले प्रहरीलाई सूचना दिने संख्या थपिएको तथा नागरिकहरु पनि सचेत बन्दै गएको बताईन् ।

कार्यक्रममा नेपाली सेना कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंह, राष्ट्रिय अनुसन्धान कार्यालयका शेखरजंग चन्द, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएस्पी राजकुमार श्रेष्ठ, काभ्रे उद्योग बाणिज्य संघ, काभ्रे उद्योग बाणिज्य संघ, धुलिखेल उद्योग बाणिज्य संघ, नागरिक समाजका प्रतिनिधिहरुलगायतका सहभागी थियाे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।