धुलिखेल– सून तस्करीमा संलग्न रहेका काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नं. २, गोकुलका विकास योञ्जनलाई पक्राउ गरेको छ । मलद्वारमा लुकाएर सुन तस्करी गर्ने गिरोहका मुख्य नाइकेको रुपमा रहेको योञ्जनलाई प्रहरी परिसर काठमाडौँको विशेष टोलीले काठमाडौँको चुच्चेपाटीबाट पक्राउ गरेको हो ।
नेपाली काँग्रेससँग आबद्ध उनी तस्करीका मुख्य योजनाकार रहेको सुन प्रकरणको अनुसन्धानबाट पुष्टी भएको छ । योञ्जन तत्कालीन अवस्थामा फरार रहे पनि उनले प्रयोग गर्ने सवारी साधन बरामद भएको थियो । उक्त सवारी साधनबाट नेताहरुले विकास योञ्जनलाई दिएका चेकहरु बरामद भएका थिए ।
भन्सारले उक्त चेक, आम्दानीको श्रोतका बारेमा अनुसन्धानका लाथि सम्पत्ति शुद्धीकरणलाई पठाएको छ । विमानस्थलमा सेटिङ्ग मिलाएर दुई वर्षदेखि विकास योञ्जनमार्फत सुन तस्करी हुँदै आएको अनुसन्धानबाट खुलेको छ । हप्ताको दुई केजीका दरले मासिक १० केजी सुन ल्याउने गरेको उक्त समूहले दुई वर्षको अवधिमा २ सय केजी भन्दा धेरै सुन ल्याएर विक्री गरेको बताइएको छ । तत्कालीन समयमा पक्राउ परेका तीन जना भरियाहरुले दिएको बयानका आधारमा योञ्जन सहित अन्य व्यक्तिहरूको संलग्नताका बारेमा अनुसन्धान भइरहेको छ ।
प्रहरी परिसरको विशेष टोलीले उनलाई भन्सार बुझाउने तयारी गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























