काठमाडाैं– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले कलेजो प्रत्यारोपणमा गति लिएको छ । मिर्गाैला प्रत्यारोपण गर्दै आएको केन्द्रले यो वर्षदेखि कलेजो प्रत्यारोपणमा समेत गति लिएको हो ।

आजकाे नयाँ पत्रिका दैनिकमा लेखिएकाे छ, केन्द्रका अनुसार पछिल्लो एक वर्षमा १५ जनामा सफल कलेजो प्रत्यारोपण भएको छ । अंग प्रत्यारोपण गरेका र अंगदान गरेका शतप्रतिशत सकुशल घर फर्किएका हुन् । जटिल शल्यक्रियामार्फत हुने कलेजो प्रत्यारोपणमा शतप्रतिशत सफलता केन्द्रका लागि ठूलो उपलब्धि भएको निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । उनी भन्छन्, ‘सीमित स्रोत–साधनबीच अझै अपेक्षाअनुसार प्रत्यारोपण गर्न सकेका छैनौँ । यद्यपि, मिर्गाैलासँगै कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी प्रशस्तै भएकाले मिर्गाैलाका प्रत्यारोपण रोकेर भए पनि कलेजो प्रत्यारोपण गरिरहेका छौँ ।’

सबैभन्दा पहिलो प्रत्यारोपण थाले पनि केन्द्रले हालसम्म कलेजो प्रत्यारोपण भने एकजना विदेशी चिकित्सकको सहयोगमा गर्दै आएको हो । तर, केन्द्रले भने बिरामी तथा दाताको सुरक्षालाई ध्यानमा राखी कलेजो प्रत्यारोपणजस्तो अति जटिल र संवेदनशील शल्यक्रिया पर्याप्त संख्यामा नियमित नभएसम्म जुनसुकै संस्थामा पनि विदेशी चिकित्सकको निगरानी रहनु उपयोगी बताउँदै आएको छ ।

केन्द्रले स्वस्थ व्यक्तिबाट मात्र नभई मस्तिष्क मृत्यु भएका व्यक्तिबाट समेत कलेजो लिएर प्रत्यारोपण गर्दै आएको छ । केन्द्रले तीन वर्षको बालकदेखि ६८ वर्षसम्मका व्यक्तिमा कलेजो प्रत्यारोपण गरिसकेको जनाएको छ ।

सन् २०१६ मा दक्षिण कोरियाको सामसुङ मेडिकल सेन्टरको प्राविधिक सहयोगमा देशमै पहिलोपटक कलेजो प्रत्यारोपण सुरु गरेको यस केन्द्रले सन् २०१९ मा डा. पुकार श्रेष्ठकै नेतृत्वमा नेपाली चिकित्सकको टोलीबाट पहिलोपटक कलेजो प्रत्यारोपण गरेको थियो । केन्द्रले हालसम्म गरेको २६ जनाको कलेजो प्रत्यारोपणमध्ये २४ जना ग्रहणकर्ता पुरुष र दुईजना मात्र महिला छन् । १८ जना कलेजोदाता महिला र आठजना दाता पुरुष रहेको केन्द्रले जनाएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा न्यूनतम शुल्क १५ देखि २० लाखमा कलेजो प्रत्यारोपण गरिँदै आएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।