काठमाडौं– करिब १ किलो सुन तस्करीमा संलग्नको आरोप लागेका ४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ ।

२५ भदौ २०८० मा प्रहरीले ९६० ग्राम सुनसहित काभ्रेको खानीखोला गाउँपालिका–३ का २८ वर्षीय बाबुलाल दोङ, रोशी गाउँपालिका–३ का ३३ वर्षीय जगत लामा र महाभारत गाउँपालिका–३ का ३६ वर्षीय मिङमा दोर्जे स्याङतानलाई पक्राउ गरेको थियो ।

सो घटनामा फरार रहेका काभ्रेकै महाभारत गाउँपालिका–२ का ३२ वर्षका विकास योञ्जन पनि गत ३१ असारमा पक्राउ परेका छन् । उनीहरु चारै जनालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो ।

बाबुलाल दोङ, जगत लामा र मिङमा दोर्जेलाई जनही ९२ लाख १७ हजार ९२० रुपैयाँ बिगो कायम गरिएको छ । उनीहरुले उक्त रकम सुन चोरी पैठारी वापत आर्जन गरेको आरोप छ ।

विकास योञ्जनको हकमा भने १ करोड १७ लाख १७ हजार ९२० रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ । योञ्जनले पनि सुन चोरी पैठारीमार्फत ९२ लाख १७ हजार ९२० र जेबी कन्सट्रक्सन एण्ड सप्लायर्सको शेयर खरिद वापत २५ लाख गरी १ करोड १७ लाख १७ हजार ९२० रुपैयाँ गैरकानुनी आर्जन गरेको भन्सार कार्यालयको दाबी छ ।

योञ्जन ०७९ मा भएको निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट काभ्रे क्षेत्र नम्बर–१ ‘क’ मा प्रदेशसभा सदस्यका लागि समानुपातिकमा समेत सिफारिस भएका थिए । उनी नेपाली काँग्रेस वागमती प्रदेशका प्रचारप्रसार विभागको सदस्य समेत हुन् ।

गत वर्ष भदौमा पक्राउ परेका दोङ, लामा र दोर्जे सुन चोरी पैठारीको कसुरमा हाल पुर्पक्षका लागि थुनामा छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।