बनेपा– काभ्रे जिल्लाकाे बनेपामा रहेकाे शिरमेमाेरियल अस्पतालकाे आइसियूमा जाने ढाेका स्थानीयले ताेडफोड गरेकाे छ । शुक्रबार राती एक सुत्केरी महिलाकाे उपचारकाे क्रममा मृत्यु भएपछि मृतकका आफन्तहरुले आक्राेशित भइ ढाेका ताेडफोड गरेकाे हाे । मृत्यु हुनेमा बनेपा–३ निवासी इश्वरी सुन्दाश रहेका छन् ।
इलाका प्रहरी कार्यालय, बनेपाका अनुसार गत बुधवार अर्थात सावन ९ गतेका दिन बनेपा न.पा. ३ नाला बस्ने बिकाश सुन्दाशको श्रीमती वर्ष ३२ की इश्वरी सुन्दाश सुत्केरी गराउन शिरमेमाेरियल अस्पतालमा भर्ना गरिएकाे थियाे । साेही दिन १२:२५ बजेको समयमा इश्वरीले छोरा जन्माइ सके पश्चात रगत जस्तो तरल पदार्थ बग्न नरोकिए पछि पश्चात निजको सोही अस्पतालमा पाठेघरको शल्यक्रिया गरेकाे थियाे । शल्यक्रिया पश्चात इश्वरीलाई हिजाे राती ११ः५५ बजे डाक्टरले मृत घोषणा गरेकाे थियाे ।
डाक्टरकाे लापार्वाहीका कारण मृत्यु भएकाे आफन्तहरुकाे आराेप छ । मृत्युपछि आफन्तहरु आक्राेशित भइ ताेडफोडमा उत्रेपछि प्रहरीले भिड नियन्त्रण गरी छलफलकाे वातारण बनाएकाे थियाे । प्रहरीका अनुसार अस्पताल प्रशासन र पिडीतको आफन्तहरु छलफलमा बसेकोमा आज विहान फेरी छलफलमा बस्ने सहमति भएकाे छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























