नमाेबुद्ध– काभ्रे जिल्लाकाे नमोबुद्ध नगरपालिकाले शिक्षकको दरबन्दी मिलानकाे विषयलाई लिएर शिक्षक र नगर सरकारबीच विवाद चर्केकाे छ । नगर कार्यपालिकाको निर्णय अनुसार नगरका समुदायिक विद्यालयमा कार्यरत ३२ जना शिक्षकहरुकाे कार्यक्षत्र हेरफेर गरिएसँगै विवाद चर्केकाे हाे ।

काँग्रेस, एमाले र माओवादी निकट शिक्षक संगठनहरु समेत नमाेबुद्ध नगरपालिकाकाे निर्णकाे विरुद्धमा उभिएकाे छ । शिक्षक संगठनहरुकाे नगर स्तरीय समिति र जिल्ला स्तरीय समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै नगरकाे कदमलाई प्रतिशाेध पूर्ण भनिएकाे छ ।

यता नगर शिक्षा शाखाले भने विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षकको दरबन्दी मिलान सुरु गरिएको जनाएकाे छ । सामुदायिक विद्यालयमा विद्यार्थी अनुपात नमिलेको, गुणस्तरीय शिक्षण–सिकाईं नहुँदा एसइई परीक्षामा कम विद्यार्थी मात्रै उत्तिर्ण भएकाले शिक्षक दरबन्दी मिलान अनिवार्य भएकोले सोही अनुसार गरिएको नगरप्रमुख कुन्साङ लामाले बताए ।  नियम–कानुनसम्वत् हिसावले नै शिक्षकको दरबन्दी मिलान गरिएको नगर प्रमुख लामाकाे दावी छ ।

‘आवश्यकता अनुसार नै कानुनसम्वत् दरबन्दी मिलाउन गरिएको छ, यसमा कुनै आग्रह–पूर्वाग्रह राखिएको छैन, सुरुवा भई गएका शिक्षकलाई हाजिर गर्न भनिएको छ ।’ लामाले भने, ‘नगरको निर्णयबिरुद्ध शिक्षकहरु हाजिर नभई आन्दोलनमा गए हामी पनि कानुन अनुसार जानेछाैं ।’

हाजिर गर्न नगए करारमा नियुक्ति गर्ने

हाजिर गर्न नजाने शिक्षकको तलब रोक्का गर्नेसमेत नगरप्रमुख लामाले बताए । ‘नगरले विद्यालयलाई पत्राचार गरिसकेको छ, सोहीअनुसार नभए, सोही दिनदेखिको तलब काटिन्छ ।’ उनले भने, ‘नगरको निर्णय लत्याएर विद्यालयनै नगए उनीहरुको तलबै काटेर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न नदिई करारमा शिक्षक नियुक्ति गरेर भएपनि नगरले शिक्षण सुचारु गर्नेछ ।’

नगर शिक्षा शाखाले पनि कुनै पूर्वाग्रह नराखी शिक्षकको दरबन्दी मिलान गरेको जनाएको छ । शाखा प्रमुख कल्पना घिमिरेले नियमसंगत रुपमा गरिएको दरबन्दी मिलानबारे चित्त नबुझे नगरमा हैन, शिक्षकलाई शिक्षा मन्त्रालयमा जान आग्रह गरिन् । उनले भनिन् ‘बन्द भएको विद्यालयमासमेत शिक्षकले तलब खाँदै आएका रहेछन्, त्यहाँका शिक्षकलाई अन्तै पठाउने कुरा गलत हुन्छ ? कम विद्यार्थी भएको विद्यालयबाट अन्त पठाउनु र विद्यार्थी धेरै भएको विद्यालयमा शिक्षक थप्नु नै विद्यार्थी अनुपातको दरबन्दी मिलान हो ।’

घिमिरेले सरुवा गरिएका विद्यालयमा हाजिर गर्न नगए शिक्षकको तलब नै रोक्का गर्नेसमेत बताइन् । ‘अझ विद्यालयमा भएकाभन्दा बढी विद्यार्थी देखाएर रकम लिइएको पाइयो, यो कत्तिको नैतिकता हो ? उनले भनिन्, यो निर्णयबाट पछि हटिन्न, सरुवा चित्त नबुझे सडकमा आन्दोलन हैन अदालतमासमेत जान सक्नुहुन्छ ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।