तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ९ मा रहेको श्री कुशेश्वर माध्यमिक विद्यालयमा ‘गुणस्तरीय शिक्षाको लागि विद्यार्थी हितकोष’ स्थापना गरिएको छ । बालबालिकालाई समुदायकै पहलमा समदुायकै सहयोगमा अनिवार्य र निःशुल्क तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले सो कोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिलबहादुर थोकर (ग्याम्जो)ले बताएका छन् ।
गत साउन १६ गते बसेको विद्यालय व्यवस्थापन समितिले कोष स्थापना तथा सञ्चालन कार्यविधि–२०८१ पारित गर्दै कोष स्थापना गरिएको विव्यस अध्यक्ष थोकरले जानकारी दिए ।
‘गुणस्तरीय शिक्षाको लागि विद्यार्थी हितकोष स्थापना तथा परिचालन कार्यविधि–२०८१’ विव्यसको बैठकले पारित गरे लगत्तै सो कोषमा रु. १ लाख ५१ हजार ४ सय ४६ रुपैयाँ रकम जम्मा भएको प्रधानाध्यापक दमैसिं दोङले बताए । उनका अनुसार विद्यालयको शिक्षक कर्मचारीहरुले एक महिनाको खाइपाई आएको तलबको कम्तिमा १० प्रतिशत रकम जम्मा गरेको थियो भने विव्यस र शिक्षक अभिभावक संघका पदाधिकारी तथा सदस्यहरुले समेत रकम जम्मा गरेको थियो ।
कोषमा सहयोग गर्न आव्हान
सो कोष गुणस्तरीय शिक्षाको लागि मात्र परिचालन गर्ने उद्देश्यले स्थापना भएको सो कोषमा सहयोग गर्न विद्यालयले अपिल गरेको छ । ‘विद्यालयको भूपू विद्यार्थी, भूपू शिक्षक, अभिभावकहरु, शिक्षाप्रेमी, व्यवसायी, राजनीतिक तथा सामाजिक व्यक्तित्व तथा सरोकारवाला सबैलाई सहयोगको लागि आव्हान गर्दछु ।’ विव्यस अध्यक्ष थोकरले भने, ‘प्राप्त सहयोग रकम नमासिने र सोको व्याज मात्र परिचालन विद्यालयमा गरी गुणस्तरीय शिक्षा कायम गरी शैक्षिक सुधार कायम गर्नेछौं । सरकारको मात्र मुख ताकेर शैक्षिक सुधार ल्याउन सक्ने अवस्था देखिएन । त्यसैले समुदायकै पहल र सहयोगमा शैक्षिक सुधार कायम गर्न लागेका हौं ।’
विद्यालयलाई पूर्ण रुपमा आवासिय बनाउने, विद्यार्थीलाई आवश्यक पर्ने आधारभूत कुराहरु निःशुल्क प्रदान गर्ने, शिक्षक कर्मचारीहरुलाई सेवामा समर्पित भाव उजागर गराउन सेवा सुविधा बढाउने लगायतका क्षेत्रमा कोषबाट प्राप्त ब्याज रम परिचालन गर्ने थोकरले जानकारी दिए ।
‘विद्यालयलाई आवासीय बनाउन अति आवश्यक छ । सरकारको भर पर्न सक्ने अवस्था देखिएन । संविधानमा शिक्षालाई मौलिक हकमा राखिएपनि बालबालिकाले यो हक उपभोक गर्न पाइरहेको छैन ।’ उनले भने, ‘संविधानले आधारभूत तहमा शिक्षा अनिवार्य र निःशुल्क र माध्यमिक विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । तर व्यबहारमा यो देखिएन । त्यसैले ‘हामी सुधार्छौं हाम्रो विद्यालय’ भन्ने नाराका साथ अब समुदाय नै लागेन भने संविधानले दिएको अधिकार बालबालिको उपभोक गर्न नपाउने देखिएकोले यो कोष खडा गरिएको हो । साथै बालबालिका उज्ज्वल राष्ट्र हो, उज्ज्वल भविस्य हो, उज्ज्वल समाज हो । हाम्रो बलियो अधार हो ।’
कोषमा कम्तिमा १ करोड रुपैयाँ जम्मा गर्ने
विद्यालयमा हल ३५ लाख रुपैयाँ रकम रहेको विव्यस अध्यक्ष थोकरले बताए । सो रकम सहित अब कोष मार्फत कम्तिमा १ करोड रुपैयाँ रकम पुर्यायाउने लक्ष रहेको उनले बताए । ‘अब हामी यो कोषमा कम्तिमा १ करोड रुपैयाँ रकम पुर्याउँछौं ।’ उनले भने, ‘शुरुवात राम्रै छ । आशा जागेको छ । बालबालिकाको क्षेत्रमा आफ्नो योगदान गर्न सबैपक्ष तयार भएको अनुभूति पनि भएको छ ।’
युवा व्यवसायी दोङले गरे ५१ हजार सहयोग
तेमाल गाउँपालिका वडा नं. ९, थालगाउँ निवासी युवा व्यवसायी तथा विद्यालयको पूर्व विद्यार्थी रोशन दोङले सो कोषमा ५१ हजार रुपैयाँ रकम जम्मा गरेका छन् । माओवादी केन्द्रको युवा नेता समेत रहेका उनले कोष स्थापना भएको थाहा पाउने वित्तिकै त्यति धेरै रकम सहयोग गरेको प्रधानाध्यापक दोङले जानकारी दिए ।
उनले गरेको सहयोगसँगै हालसम्म सो कोषमा २ लाख २ हजार ४ सय ६५ रुपैयाँ रकम जम्मा भएको विद्यालयले जनाएको छ ।
आवासीय बनाउन शुरु गर्ने
यसैबीच विद्यालयलाई आवासीय बनाउन यो वर्षदेखि नै शुरु गर्ने तयारीमा रहेको छ । विव्यस अध्यक्ष थोकरका अनुसार एसईई–२०८१ को तयारीसँग कक्षा १० का विद्यार्थीहरुलाई आवासको व्यवस्था गरी कोचिङ गर्न लागेको छ ।
‘आगामी पुष १ गतेदेखि हामीले कक्षा १० का ३७ जना विद्यार्थीहरुलाई विद्यालयमै राख्ने छौं । विद्यालयमै बस्ने व्यवस्था गरेपछि एसईई सकेपछि मात्र घर पठाउने छौं ।’ थोकरले भने, ‘आवास व्यवस्थापनको लागि गाउँपालिकाले बजेटको व्यवस्था पनि गरेको छ । गाउँपालिका र वडाले हामीलाई सहयोग गरेकै छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























