काठमाडाैं– सरकारले डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम महसुल विवादमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि ‘अनावश्यक’ दबाब बढाउँदै गएको छ । तर, तिनै घिसिङले सरकारको शतप्रतिशत स्वामित्वमा रहेको प्राधिकरणलाई नमुनायोग्य नाफा कमाउने संस्थाका रूपमा स्थापित गरेका छन् । याे समाचार आजकाे नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
आफ्नो पहिलो नियुक्तियता प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउँदा, अधिकतम ग्राहकसम्म पहुँच बढाउँदा, वित्तीय खर्च घटाउँदा, राजस्व बढाउँदा, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दा प्राधिकरण नाफामा गएको घिसिङले बताएका छन् ।
सरकारको शतप्रतिशत स्वामित्वमा १ भदौ ०४२ मा स्थापना भएको नेपाल विद्युत् प्राधिकरणको वित्तीय अवस्था आर्थिक वर्ष ०७२/७३ सम्म आशालाग्दो थिएन । उक्त आवमा प्राधिकरण आठ अर्ब ८९ करोड रुपैयाँ नोक्सानीमा थियो । सञ्चिति नोक्सानी भने ३४ अर्ब ६१ करोड रुपैयाँ पुगेको थियो । त्यसमाथि घण्टौँसम्म लोडसेडिङको अवस्था थियो ।
सोही क्रममा प्राधिकरणको कार्यकारी निर्देशकमा २९ भदौ ०७३ मा घिसिङ पहिलोपटक नियुुक्त भएका थिए । सोही आवमै प्राधिकरणले एक अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको थियो । सोही वर्ष २५ कात्तिक (लक्ष्मी पूजाको दिन) मा गार्हस्थ्य वर्गमा लोडसेडिङ अन्त्य गरियो । सञ्चित नोक्सानी भने २८ अर्ब ४२ करोड सीमित भयो । त्यसयता प्राधिकरण निरन्तर नाफामा छ ।
आव ०७३/७४ देखि ०८०/८१ सम्म गरेर प्राधिकरणले कुल ७४ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको छ । आव ०७३/७४ मा एक अर्ब ५० करोड, ०७४/७५ मा दुई अर्ब ९८ करोड, ०७५/७६ मा नौ अर्ब ८४ करोड, ०७६/७७ मा १३ अर्ब ३७ करोड, ०७७/७८ मा ६ अर्ब २७ करोड, ०७८/७९ मा १५ अर्ब ६ करोड, ०७९/८० मा १२ अर्ब ८ करोड र आव ०८०/८१ मा १३ अर्ब ३१ करोड रुपैयाँ नाफा प्राधिकरणले कमाएको छ ।
गत आवसम्म आउँदा प्राधिकरणको सञ्चिति नाफा पनि ४७ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । आव ०७२/७३ मा प्राधिकरणको सञ्चिति ३४ अर्ब ६१ करोड रुपैयाँले नोक्सानीमा थियो । त्यो नोक्सानी आव ०७३/७४ मा २८ अर्ब ४२ करोड, ०७४/७५ मा २५ अर्ब ३० करोड र आव ०७५/७६ मा १२ अर्ब १८ करोड रुपैयाँ झर्यो । त्यसपछि आव ०७६/७७ मा त्यो चार अर्ब ४९ करोड रुपैयाँले बचतमा गएको थियो । त्यसपछि आव ०७७/७८ मा ११ अर्ब ६ करोड, ०७८/७९ मा २४ अर्ब ७७ करोड, ०७९/८० मा ३३ अर्ब ६४ करोड र आव ०८०/८१ मा ४७ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।
पछिल्लो समय प्राधिकरणको वित्तीय अवस्था बलियो हुँदै गएको छ । यसबीचमा ३१ वैशाख ०७५ देखि औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ हटाइएको छ । कात्तिक ०७८ देखि भारतमा व्यावसायिक रूपमै विद्युत् निर्यात गर्न सुरु गरिएको छ । गत आवमा नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको छ । यीलगायत विभिन्न पूर्वाधार निर्माणले प्राधिकरण वित्तीय रूपमा मात्रै होइन, कार्यसम्पादन र व्यवस्थापनका आधारमा पनि बलियो हुँदै गएको देखिन्छ ।
यस अवधिमा २७ माघ ०७७ देखि भदौ ०७८ सम्म प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य भए । पहिलो कार्यकाल सकाएर भदौ ७७ मा बाहिरिएका घिसिङ २५ भदौ ०७८ मा पुनः नियुक्त भए । उनको कार्यकाल भदौ ०८२ सम्म छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























