चौंरीदेउराली– काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ३ मा निर्मित शहिद गेट र शहिदको शालिक उद्घाटन भएको छ । आज प्रतिनिधि सभा सदस्य तथा पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज)ले एक समाराेहका बीच उद्घाटन गरेका हुन् ।

तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धको क्रममा सहिद भएकाहरुको संझनामा सो गेट निर्माण भएको हो । जनयुद्धकै क्रममा २०६० साल सावन ३२ गतेका दिन दोरोम्बा हत्यकाण्डमा शहिद भएका सोही वडाका भवु तामाङ (सोम)को शालिक पनि एकै साथ अनावरण गरिएको छ । सो हत्याकण्डमा २१ जना माओवादी नेता कार्यकर्ताहरुको सामूहिक हत्या गरिएको थियो ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० र आर्थिक वर्ष २०८०/०८१ (दुई आर्थिक वर्ष) मा विनियोजित १४ लाख रुपैयाँ बजेटबाट सहिद गेट र सहिदको सालिक निर्माण भएको वडा अध्यक्ष चित्रप्रसाद चौंलागाईंले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दोङले सहिदहरुलाई बिशेष समयमा मात्र सम्झेर नहुने बताउँदै सहिदहरुलाई सधैं सम्झिनुपर्नेमा जोड दिए । सहिदको सालिक र सहिद गेट निर्माण भएपछि सहिदहरुको सम्मान मात्र होइन सहिदले देखाएको बाटोमा निरन्तर लाग्ने प्रतिबद्धता समेत अभिव्यक्त भएको उनले बताए ।

यसैबीच कार्यक्रमको विशेष अतिथि वागमती प्रदेश सभा सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री रत्न ढकालले चौंरीदेउराली गाउँपालिकाबाट जनयुद्धको क्रममा दर्जनौ सहिदहरु जन्माएको बताउँदै सहिदले देखाएको बाटोमा आफूहरु निरन्तर रुपमा लाग्ने प्रतिबद्धता जाहेर गरे ।

‘जन्मनु मर्नु ठूलो कुरा होइन, जन्मेपछि निरन्तर बाँचिरहने ठूलो कुरा हो । यस गाउँपालिकाबाट देश र जनताको लागि आफ्नो ज्यानको आहुती दिने दर्जनौं सपूतहरु जन्माएको छ । उहाँहरु कहिल्यै पनि मर्ने छैन ।’ ढकालले भने, ‘सहिदहरुको राज्यताको परिवर्तन र सर्वहारा बर्गको मुक्तिको सपना थियो । त्यो काम अब हाम्रो जिम्मेवारीमा आएकोछ । सहिदले देखेको सपना अझै पूरा भएको छैन । हामी पूरा गर्ने छौं ।’

यसैबीच हिजो गाउँगाउँमा जाली फटाहा, विकृति विसंगति विरुद्ध जनयुद्ध गरेको स्मरण गर्दै उनले अब ती जालीफटाहा सह पसेको र तिनीहरुले नै भ्रस्टाचार बिरुद्ध लागेको क्रान्तिकारी सरकार ढालेको दावी गरे । सरकारबाट हट्नु आफ्नो पार्टीको लागि अवसर रहेको बताउँदै ढकालले माओवादी पार्टीको औचित्य फेरि पुष्टि गर्ने अवसर आज पाएको उनले बताए ।

त्यसैगरि गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंले गाउँपालिकाले देशलाई आमूल परिवर्तन गर्न ज्यान दिने सहिदहरुको सम्झनामा सहिद गेट सहिद पार्क र सहिदहरुको सालिक निर्माण गरिएको बताए ।

१० वर्षे जनयुद्धको क्रममा सहिद भएकाहरुको त्याग र बलिदानीलाई गाउँपालिकाले सम्मान गर्ने बताउँदै अध्यक्ष चौंलागाईंले सहिद तथा बेपत्ता योद्धाहरुको परिवारलाई गाउँपालिकाले प्रतिमहिना ३ हजार रुपैयाँका दरले राहत स्वरुप वितरण गरेको बताए ।

जनयुद्धको क्रममा सो वडामा २ जना सहिद र एक जना बेपत्ता पारिएका थिए । यस वडाबाट भबु तामाङ (सोम) र प्रदिप गौतम सहिद भएका थिए भने कमला शर्मालाई तत्कालीन राज्यसत्ताले बेपत्ता पारिएको थियो ।

सहिद परिवार र पूर्णकालीन कार्यकर्ताहरुलाई सम्मान

सोही कार्यक्रममा जनयुद्धको क्रममा सहिद भएका भवु तामाङका जीवन साथी माइली लामालाई सम्मान गरिएको थियो । साथै जनयुद्धको क्रममा पूर्णकालीन भएका माओवादी नेता कार्यकर्ताहरु र जनआन्दोलनमा घाइते भएकाहरुलाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । सम्मान हुनेहरुमा तत्कालीन समयमा पूर्णकालीन भएकाहरु दिनेश शर्मा, सावित्री लामा, दुर्गासिं लामा, कुलबहादुर गौतम, यादव ढुंगेल, कुमार लामा, लक्ष्मी चौंलागाई, विनोद घिसिङ, तत्कालीन गाउँ जनसरकार प्रमुख मोहन प्रसाद ढुंगेल, स्व. भिमसेन गौतमको श्रीमतिद्वय सरिता गौतम र भगवाती गौतम, जनआन्दोलनका घाइते जगतबहादुर लामा, किसान आन्दोलनका घाइते मन्तरबहादुर तामाङ, सहिद प्रदिप गौतमकी जीवन साथी कल्पना गौतम, पिएसके निर्माण सेवा प्रालिका सञ्चालक सुदिप गौतम, सहिद गेट निर्माण उपभोक्ता समिति, सुना एण्ड डोल्मो थाङ्का उद्योग लगायतलाई रहेका छन् ।

३ नं. वडा का जननिर्वाचित वडा अध्यक्ष चित्रप्रसाद चौंलागाईंको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्व वडा सदस्य तथा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष भोजबहादुर गौतमले स्वागत गरेको थियो । कार्यक्रममा लामा विधिबाट समेत पूजा पाठ गरिएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।