काठमाडौँ – समाजवादी मोर्चाको सचिवालय बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम नसकिएकाले बुधबार बस्ने गरी सकिएको छ । सोमबार दिउँसो एकान्तकुनामा बसेको बैठकमा छलफल जारी नै रहेकाले राजनीतिक दस्ताबेजले पूर्णता नपाएको सदस्य सचिव खड्कबहादुर विश्वकर्माले बताए ।

‘छलफल सकिएको छैन । आजको बैठकमा कार्यदल सदस्य प्रमेश हमाल र गंगानारायण श्रेष्ठले आ–आफ्ना धारणा राख्नुभयो । बुधबार बिहान बैठक बस्नेछ ।’ उनले भने ।

साउन १ गते बसेको मोर्चाको बैठकले वर्तमान विकसित राजनीतिक घटनाक्रम र भावी योजनाबारे समीक्षात्मक राजनीतिक दस्ताबेज पेस गर्न १५ दिनको समय सीमा दिएको थियो । तर, ढिलो गरी समाजवादी मोर्चाको सचिवालय बैठक सोमबार पहिलोपटक बसेको हो ।

सबैको धारणा आइसकेपछि दस्ताबेजलाई अन्तिमरूप दिने विश्वकर्मालाले बताए । प्रस्तावित दस्ताबेजमा मोर्चाको विगतको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम र आगामी योजना रहेको उनले जानकारी दिए ।

‘दस्ताबेजमा मोर्चाको विगतको समीक्षा छ । पछिल्लो राजनीतिक घटना छ । र, आगामी कार्यक्रम रहेको छ । सबैको धारणा आइसकेपछि दस्ताबेजलाई फाइनल गरिन्छ’, उनले भने ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी महिन्द्र राय यादव समूह मिलेर बनेको मोर्चाको सचिवालयमा नेकपाबाट विश्वकर्मासहित माओवादीबाट देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल र नेसपा यादव समूहबाट गंगानारायण श्रेष्ठ रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।