धुलिखेल । जिल्ला प्रहरी कार्यालय काभ्रेले टोल टोलमा प्रहरी अभियान आज (शुक्रबार) बाट सुरु गरेको छ । आज पत्रकार संग अन्तरक्रिया गरेर अभियान सुरु गरेको हो ।
अभियान असार महिनाभरी हुने प्रहरी नायव उपरीक्षक महेन्द्र प्रसाद मरासिनीले बताए । अभियानको प्रमुख लक्ष्य भयरहित, शान्तिपूर्ण र सुरक्षित समाजको स्थापना गर्ने रहेको छ ।
कार्यक्रमको चरणहरु यस्तो छ:
७ गतेदेखि १० गतेसम्म
अभियानको बारेमा प्रचार प्रसार गरिनेछ । जिल्लाको मातहतमा रहेका भिडभाड हुने स्थलहरुमा जस्तै बनेपा, धुलिखेल, पनौती बसपार्क र अन्य चोकहरुमा पर्चा, पम्पलेट बितरणका साथै माईकिङ मार्फत प्रचार प्रसार गरिनेछ ।
१० गतेदेखि १५ गतेसम्म
ट्राफिक नियम, घरेलु हिंसा, मानव बेचबिखन तथा ओसार पसार, लागु औषध, धुम्रपान, मद्यपान, सामाजिक अपराध, साईबर अपराध तथा बालबिबाह रोकथाम जस्ता विषयमा जिल्लाको वडा क्षेत्रमा रहेका स्कुल तथा कलेजमा सम्पर्क कार्यक्रम सञ्चालन हुनेछ ।
१५ गतेदेखि २५ गतेसम्म
जिल्लाभर रहेका सम्पूर्ण प्रहरी ईकालाहरुले आ–आफ्नो वडामा घरदैलो कार्यक्रम , सुझाव र सल्लाह आदान प्रदान, गस्ती तथा बस्ती भेटघाट कार्यक्रम, दुर्घटना तथा प्रकोप उद्धार व्यवस्थापन विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सञ्चालन हुनेछ ।
२५ देखि असार मसान्तसम्म
मन्दिर र सार्वजनिक स्थानहरुको सरसफाई कार्यक्रम गरी टोल टोलमा प्रहरी अभियान कार्यक्रमको समापन गरिने छ ।






















