काठमाडौं–सोमबार टुँडिखेलमा आयोजित गौरापर्वको कार्यक्रममा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरी थुनामा राखेको छ । काठमाडौं प्रहरीले मंगलबार सुर्खेतका गोपीराम (गोपीकृष्ण) जैसी र अछामका रामबहादुर बुढालाई पक्राउ गरेको हो ।
कार्यक्रममा आफूहरूविरुद्ध नाराबाजी भएपछि ओली र देउवाले मञ्चबाटै त्यसको प्रतिवाद गरेका थिए । सिसिक्यामेराका आधारमा उनीहरूको पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार गृह मन्त्रालयकै निर्देशनमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी वसन्त रजौरेले सोधपुछका लागि उनीहरूलाई पक्राउ गरिएको बताए ।
‘दुईजनालाई सोधपुछका लागि मात्र पक्राउ गरिएको हो,’ उनले भने, ‘थप अनुसन्धान गरेपछि मात्र मुद्दा चल्ने–नचल्ने बुधबार प्रस्ट हुन्छ ।’ पक्राउ परेकालाई अदालत तथा जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएको छैन ।
नाराबाजीमा संलग्न अन्यलाई पनि प्रहरीले खोजिरहेको छ । नेताहरूविरुद्ध नाराबाजी गरेकै आधारमा पक्राउ गरेर थुनिएको भन्दै उनीहरूका परिवारले आपत्ति जनाएका छन् ।
कार्यक्रममा प्रधानमन्त्री ओली बोलिरहकै वेला सहभागी युवाहरूले विरोधमा नाराबाजी गरेका थिए । काठमाडौं महानगर प्रमुख बालेन शाहको पक्षमा हुटिङ गर्दै युवाहरूले ओलीका कारण देशले दुःख पाएको, ओली फिर्ता जाऊ, बालेन आऊजस्ता नारा लगाएका थिए । कतिपय युवाले एमालेबाट किनारामा पारिएका नेता भीम रावलको मञ्चमा प्रवेश हुने वेला ‘वी वान्ट भीम रावल’ भन्दै चर्काे नाराबाजी गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























