धुलिखेल– बागमती प्रदेशका प्रमुख सचिव गाेविन्दबहादुर कार्कीले सेवाग्राहीहरुकाे कुरा सुन्ने धैर्यता राख्न कर्मचारीहरुलाई निर्देशन दिएकाछन् । जिल्ला समन्वय समिति काभ्रेकाे आयाेजनामा जिल्लाका कार्यालय प्रमुखहरूसंग अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै कार्कीले यस्ताे निर्देशन दिएका हुन् ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतमको अध्यक्षतामा आज (साेमबार) सम्पन्न कार्यक्रममा उनले कर्मचारीले चाहँदा सेवाग्राहीलाई खुशी हुने गरी काम गर्न सकिने बताउँदै सेवाग्रही मैत्री सेवा प्रवाहमा चुस्ततता ल्याउन मुख्य सचिव कार्कीले आग्रह गरे ।

सरकारी कार्यालयको सेवा प्रति नागरिकको भरोसा कायम राख्न जाेड दिँदै प्रमुख सचिव कार्कीले राजनीतिक रूपमा कर्मचारी तटस्थ बस्न नसक्दा कर्मचारी र जनप्रतिनिधिबिचको सम्बन्ध सुमधुर हुन नसकेको बताए ।

कार्यक्रममा जिसस प्रमुख गौतमले यस्ता अन्तरक्रियाले समस्याको उजागरसंगै समाधानको लागि भूमिका खेल्ने बताउँदै विकास गर्न कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध सुमधुर हुन जरूरी रहेको उनले बताए ।  जिल्लाको विकास निर्माणमा कार्यालय प्रमुख एवं कर्मचारीहरूको भूमिका महत्वपूर्ण रहेको समेत उनले दावी गरे ।

जिससका उपप्रमुख रिम बहादुर तामाङले समयसंगै कर्मचारीहरूको आनीबानीमा सुधार आउने हो भने सेवालाई प्रभावकारि ढंगले दिन सकिने बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेल, बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला चापागाई, रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तना, कृषि विकास कार्यालयका प्रमुख कुल प्रसाद दवाडी, वन डिभिजन कार्यालय धुलिखेलका कृष्ण बहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।