बाँकेको नेपालगन्ज– १७ परसपुरकी निर्मला कुर्मीको अपहरणपछि हत्या घटनाका मुख्य आरोपी बादशाह कुर्मीले लुम्बिनी प्रदेश सरकारको वनमन्त्री पदबाट राजीनामा दिएका छन् । आरोपीका रूपमा प्रहरीको अनुसन्धान घेरामा रहेकै वेला मन्त्री बनाएपछि पीडित पक्ष र अभियन्ताहरू एक महिनादेखि विरोधमा थिए । कांग्रेसका तर्फबाट ९ साउनमा मन्त्री नियुक्त भएर १८ साउनमा वनमन्त्रीको जिम्मेवारी पाएका उनले मंगलबार मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष राजीनामा बुझाएका हुन् । याे समाचार आजकाे नयाँ पत्रिका दैनिकमा प्रकाशन गरिएको छ ।

व्यापक दबाबपछि राजीनामा बुझाउन बाध्य भएका बादशाहले निर्मलाको न्यायका लागि लड्दै आएका रुबी खानलगायत अभियन्ताको आन्दोलनलाई ‘डलर कमाउने हावादारी आन्दोलन’ भन्दै आलोचना गरेका छन् । उनले आफ्नो राजीनामा आन्दोलनको दबाबका कारण नभई घरायसी समस्याका कारण आएको दाबी गरेका छन् ।

‘रुबी खानहरूले निर्मला कुर्मीको नाममा कमाउ धन्दा गरिरहेका छन् । निर्मलाको न्यायका लागि आवाज उठाएको देखाएर विदेशी डलर कमाइरहेका छन् उनीहरूले,’ बादशाहले भने, ‘नियम, कानुनको जानकारी नभएकाहरूले हावाको भरमा गरेको आन्दोलनकै कारण राजीनामा दिने कुरै आउँदैन । आन्दोलनका कारण नभई मेरो घरायसी समस्याका कारण राजीनामा दिएको हुँ भन्ने सबैलाई स्पष्ट पार्न चाहन्छु ।’

तर, उनलाई राजीनामा दिन मुख्यमन्त्री आचार्यले नै सन्देश पठाएका थिए । मंगलबार नै मुख्यमन्त्री आचार्य र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीबिचको छलफलले राजीनामा दिन उपयुक्त हुने सुझाव दिएको थियो ।

बाँके क्षेत्र नम्बर ३ प्रदेश सभा (२) बाट विजयी बादशाहमाथि निर्मला कुर्मीको अपहरण गरी हत्या गरेर सम्पत्ति हत्याएको आरोप छ । महिला अधिकारकर्मी रुबी खानले कुर्मीको हत्या प्रकरणमा बादशाहमाथि कारबाहीको माग गर्दै आएकी छिन् । पछिल्लोपटक उनी मन्त्री नै बनेपछि महिला अधिकार मञ्च बाँके र विभिन्न संघसंस्थाले काठमाडौंमा धर्नासँगै पैदल मार्चसम्मका आन्दोलन गरेका थिए ।

धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले मुख्यमन्त्री आचार्यलाई ज्ञापनपत्र बुझाएर बादशाहलाई कारबाही गर्न माग गरेको थियो । त्यस्तै, उनलाई मन्त्री नियुक्त गरेपछि कांग्रेसबाटै पनि आलोचना भएको थियो । संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको सिफारिसमा उनी मन्त्री बने पनि कांग्रेस लुम्बिनी प्रदेश समिति सभापति अमरसिंह पुनले पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र दिएर बादशाहलाई मन्त्री बनाउने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका थिए ।

निर्मला २५ माघ ०७५ को राति बेपत्ता भएकी थिइन् । अपहरणपछि उनको हत्या गरिएको पुष्टि १४ पुस ०७७ मा भएको थियो । घटनामा नेपालगन्ज– १७ कै बादशाह कुर्मी, कृष्णकुरारी सिंह, कुवर बब्बरसिंह ठाकुर, उर्मिला कनोजिया, अम्मरलाल कुर्मी र धीरेन्द्र सिंह तथा नेपालगन्ज– १८ का रमेश थापा र पार्वती विष्ट संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालले जाहेरी दिएकी थिइन्  । उनीहरूविरुद्ध २० चैत ०७७ मै किटानी जाहेरी परेको थियो । तर, उनीहरूमध्ये हालसम्म कसैलाई पनि पक्राउ गरिएको छैन ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।