काठमाडौँ– नेकपा माओवादी केन्द्रले जनयुद्धलाई अपमानित गर्ने ढंगले एमालेका सांसदहरू संसदमा बोलेको अभिव्यक्तिको विषयमा समाधान नभएसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ ।

शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकले जनयुद्धलाई एमालेले अपमानित गरेको भन्दै त्यसको सशत्त प्रतिवाद गर्न समेत निर्णय भएके प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

‘माओवादी जनयुद्धलाई एमालेद्वारा अपमानित गरेको छ । त्यो शान्ति सम्झैता र संविधानविपरित छ । संसदमा तपाईँहरुले जसरी प्रतिवाद गर्न भएको ठिक छ । हिंसासँग मात्र होइन समग्र माओवादी आन्दोलन, जनमुक्ति सेनालाई बदानाम गर्ने ढंगले आएको छ । आगामी दिनम त्यसको सशक्त प्रतिवाद गर्नेगरी समाधान नभएसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ’, बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

यस्तै सभामुखले २६ गते गरेका रुलिङ चित्तबुझ्दो नभएको भन्दै माओवादीले असन्तुष्टि जनाएको छ । एमालेका सांसद योगेश भट्टराईले माओवादी आन्दोलनलाई हिंसा भनेपछि माओवादी सांसदले त्यसको प्रतिवाद गरेका थिए । संसदको रेकर्डबाट हिंसा शब्द हटाउन सभामुख देवराज घिमिरेको ध्यानकर्षण गराएका थिए । तर घिमिरेले हिंसा शब्द असंसदीय नभएको बैठकलाई जानकारी गराएका थिए । सभामुख घिमिरेको रुलिङप्रति असहमति जनाउँदै माओवादीले बैठक अवरोध गरेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।