धुलिखेल– करिब ४ महिना अघि धुलिखेलको चौकोट नजिकै भएको सवारी दुर्घटनामा परेर घाइते भएका नमोबुद्ध नगरपालिका वडा नं. ६, खक्सीका पञ्चमान तामाङ अस्पतालमा छटपटाइरहेका छन् । उपचारको लागि विभिन्न अस्पताल रिफर भएका पञ्चमानको उपचार खर्च व्यहोर्ने सहमति भए पनि हाल सम्म उपचार खर्च नपाएको उनको परिवारले गुनासो गरेका छन् ।

गत वैशाख १३ गते बा ३ क २०३ को महेन्द्र निशान गाडी खक्सी गाउँबाट बनेपा आउनेक्रममा धुलिखेलमा दुर्घटना भएको थियो । सो घट्नामा पञ्चमान गम्भीर घाइते भएको थियो । सो घट्नामा परि उनको मेरुदण्ड भाँचेको थियो ।

दुर्घटना भएपछि जिल्ला प्रहरी कार्यालय, काभ्रेमा नमोबुद्ध नगरपालिका वडा नं. ६, खक्सी निवासी गाडी साहु इन्द्रबहादुर तामाङले पञ्चमानको सबै उपचार खर्च बेहोर्ने सहमति गरेको थियो । तर दुर्घटना भएको ३५ दिनपछि इन्द्रबहादुर मोवाइल स्विच अफ गरेर गायब भएका थिए ।

गाउँकै दाजुभाइ भएकोले बेइमानी नगर्ला नि भनेर उनको पर्खाइमा बसे तर उनी आजसम्म सम्पर्कमा नआएको पञ्चमानकी बुहारी चन्द्रमायाले बताइन् । आजसम्म करिब ५० लाख रुपैयाँ भन्दा बढी उपचार खर्च लागेको बताउँदै बुहारी चन्द्रमायाले आफ्नो भएको सम्पत्ति सकेको बताइन् ।

‘घटना भएको ३५ दिनसम्म चाहिँ उहाँ सम्पर्कमै बस्नु भयो, त्यसपछि मोबाइल अफ गरेर बेपत्ता भयो ।’ उनले भनिन्, ‘उपचारमा ५० लाख रुपैयाँ भन्दा बढी खर्च भयो । हामीसँग भएको पैसा र सम्पत्ति समेत सकियो । तर आजसम्म सम्पर्कमै आएनन् ।’

दुर्घटना पछि उपचार खर्च माग्दा आफूसँग नगद नभएको बताउँदै इन्द्रबहादुरले चेक काटेर दिएका थिए । ५ लाखको चेक काटेर दिएको र चेक साट्न जाँदा खातामा पैसा नभएको भेटिएको छ । ‘उहाँले सुरुमै ५ लाखको चेक दिनुभयो । तर पैसा छैन रहेछ ।’ चन्द्रमायाले भनिन्, ‘एक दुई दिनमा हुन्छ भन्छ तर खातामा पैसा नै रहिन्छ । झुकाएको रहेछ ।’

इन्द्रबहादुर गायब भएपछि जाहेरी दियो तर प्रहरी चुपचाप

इन्द्रबहादुर सम्पर्कमा नआएपछि घाइते पञ्चमानको छोरा ठाकुरसिं तामाङले किटानी जाहेरी दिएका थिए । गत असार २४ गते किटानी जाहेरी दिएको र पक्राउ पूर्वी जारी गरेको २ महिना बितिसक्दा समेत प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन ।

खर्च अभावकै कारण उपचारमा समस्या भइरहेकोले प्रहरीले उनलाई पक्राउ गरेर खर्च व्यहोर्न लगाए उपचारमा सहज हुने उनले बताइन् । आइतबार उनी जिल्ला प्रहरी कार्यालय, काभ्रेमा पुगेर बुझेका छन् । मुद्दा शाखामा पुगेर उनले जाहेरीको विषयमा बुझ्दा वारेन्ट जारी गरेको तर खोजी कार्य जारी रहेको जवाफ पाएको उनले बताइन् ।

प्रहरीले ‘ऊ कहाँ बस्छ पत्ता लगाउनु, हामी गएर पक्राउ गरेर ल्याउँछौ’ भनेकोमा उनले दुःख व्यक्त गरे । ‘हामीले नै खोजी कार्य गर्ने हो भने प्रहरीमा किन जाहेरी दिन्छौँ त हामी ? वारेन्ट जारी गरेको भन्छ तर ३ महिना हुन लाग्दा पनि किन पक्राउ गरेनन् ?’ बुहारी चन्द्रमायाले भनिन् ‘उल्टै प्रहरीले हामीलाई पो ‘ऊ कहाँ बस्छ पत्ता लगाउनु, हामी गएर पक्राउ गरेर ल्याउँछौ’ भन्छ । पिडामाथि पिडा थप्ने काम भयो ।’

प्रहरीलाई फोन सम्पर्क गर्न उनले अनुरोध गर्दा पनि प्रहरीले ‘हामीले फोन गरियो भने ऊ भाग्छ, तपाईँहरू नै गर्नुहोस्’ भनी आनाकानी गरेका थिए । पछि प्रहरीले फोन गर्दा निज इन्द्रबहादुर घरमै रहेको जवाफ दिएका थिए ।

घरमै छु भन्दा पनि प्रहरीले उनलाई पक्राउ गर्न भने गएनन् । प्रहरीले उनलाई मङ्गलवार प्रहरी कार्यालयमा उपस्थित हुन आग्रह गरेका छन् ।

यसरी सबै खर्च व्यहोर्ने सहमति प्रहरीले नै गराए पनि उपचार खर्च इन्द्रबहादुरले नदिँदा पञ्चमानको उपचारमा समस्या आएको छ । सहमति कार्यान्वयन नगरेकोले प्रहरीमा जाहेरी दिँदा समेत प्रहरीले उदासिन्ता देखाउनु दुःखद कुरा हो । पञ्चमानले न्याय पाउने अधिकारी के छैन र ?

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।