काठमाडौं । तामाङ सँस्कृतिमा आधारीत पुस्तक ‘ताम्बा ह्वाई’ शनिबार एक कार्यक्रमकाबीच लेकार्पण भएको छ । उक्त पुस्तक ताम्बा संघ नेपालका केन्द्रीय सदस्य कृतधावा तामाङ घिसिङले लेखेका हुन् ।
तामाङ समुदायको संस्कृतिपरक पुस्तकमा दोलखा सैलुङ गाउँपालिका वडा नं. १ लगायत वरिपरि ठाउँका ह्युलठिम (ठाउँको संस्कार) मा विवाहमा ताम्बाको महत्व र ताम्बाले गाउने गीत उतारेका छन् । पुस्तकमा साङ–सेरकेम, खेङा, ठुङ्सा–बाप्सा र रिमठिम शिर्षकमा गीत (ह्वाई) समावेश गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिति एवं लेखक लामा टि. ग्याल्छनले पुस्तक समग्रमा ताम्बाको ह्युलठिम (ठाउँको रिति) सम्बन्धी रहेको चर्चा गरे । ‘लेखकले ताम्बाको शैलीमा गीत (ह्वाई), विचार सम्प्रेषण गरेको रहेछ ।’ उनले भने, ‘फेरि ल्याउँदा पुस्तकलाई सबैतिर खोज गरेर उत्कृष्ठ बनाउन अनुरोध गर्छु ।’
कार्यक्रममा मोक्तान समाजका महासचिव, लेखक ध्यानबहादुर मोक्तानले अन्तरजातिय विवाहमा ताम्बाको उपस्थिति नहुन आग्रह गरेका छन् । त्यसैगरी पाख्रिन समाजका अध्यक्ष मणी लामा पाख्रिनले तामाङ समुदायको जन्मदेखि मृत्यु संस्कार, चलनचल्ती र हामीले ब्यक्त गर्न खोजेको कुराहरु उल्लेख रहेको बताए ।
त्यसैगरी तामाङ घेदुङका महासचिव बाबु घिसिङले तामाङ समाजको लागि यो ठुलो कृति भएको औल्याए । उनले लेखकप्रति धन्यवाद दिदै लेखक स्व. सन्तबिर तामाङले लेखेको ताम्बा ह्वाइपछिको अर्काे ताम्बा ह्वाई (दोस्रो पुस्तक) यो नै रहेको बताए ।
कार्यक्रममा प्रगतिशिल लेखक संघ काठमाडौंको उपाध्यक्ष कवि मुक्तान थेबा, तामाङ स्रष्टा समाज अध्यक्ष ङेमा थाङपाल, ग्लान समाजका सदस्य आनन्दी लामा ग्लान, घिसिङ समाजका अध्यक्ष कुमार घिसिङ, स्वयम्भु तामाङ समाजका अध्यक्ष इन्दराम मोक्तान, सैलुङ रिगसुम सेवा समाजका महासचिव कुमार थोकर, पुस्तकको कभर डिजाइनर म्हेन्दो डिजाइका प्रोपाइटर अक्कलसिंह पाख्रिन, ताम्बा संघका प्रतिनिधहरु लगायत सबैले शुभकामना मन्तब्य दिएका थिए ।
विमोचनमा श्यामलाल लामाको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने सहजीकरण अर्जुनबहादुर ग्लानले गरेका थिए ।