काभ्रे । स्मार्ट सिटीको योजनाहरु बुन्दै गरेका बनेपा नगरपालिकामा खानेपानीको अभावदेखि लिएर दुषित खानेपानीको उपयोग गर्नुपर्ने बाध्यताले बनेपाबासी अक्रान्त छन ।

यस नगरपालिकामा खानेपानीको अभाव त छँदैछ एकहप्ता कुरेर धारामा आएको पानी धमिलो पाएपछि झनै अक्रान्त भएका छन् । बनेपा नपा वडा नंं. ६ कि कौशिल्या रायमाझी धेरै दिनपछि खानेपानी आफ्नो धारामा आउँदा खुशी थिइन् । उनको त्यो खुशी क्षणभरमै दुःखमा फेरियो ।

भाँडो सफा गरि पानी थाप्न लागेकी रायमाझीले धमिलो पानी देखिपछि दुखी भएकी हुन् । ‘भाँडो सफा गरेर राखेकी थिएँ, तर धमिलो पानी आयो ।’ रायमाझीले सुनाइन्, ‘पानी आयो भनि खुशीले भाँडा कुँडा जम्मा गरेर पानी थाप्न मात्र के लागेको िथएँ, पानी त धमिलो आयो । मलाई दुःख लाग्यो ।’

खानेपानीको लामो प्रतिक्षामा रहेकी उनले अन्य प्रयोजनको लागि भएपनि खानेपानीको धारोबाट आएको धमिलो पानी जोहो गर्नैपर्ने बाध्यता थियो । ‘के गर्नु खाना योग्य नभएपनि कपडा धुन, नुहाउन, शौचालयमा राख्न भएपनि थाप्नै प¥यो नि ।’ निराश अनुहार लिएर उनले भनिन् ‘नगरको विकासको ठूलो–ठूलो योजना बनाउने भनेको सुनेको हुँ तर यो आधारभूत कुरा पूरा नगरी कसरी अगाडि बढ्ला खोई ?’

उनी मात्र होइन बनेपा चाँदनी चोकमा विगत १ दशक देखि मःम पसलस सञ्चालन गर्दै आएका जीतबहादुर कुँवरले पनि यस्तै समस्या सुनाए । उनको धारामा पनि धमिलो पानी आएपछि व्यवसाय सञ्चालनमा समेत ठूलो समस्या भएको उनले बताए । नगरले खानेपानी प्रति गरेको उदासिन्तका कारण उनले दैनिक झारको पानी किनेर ग्राहकलाई दिन बाध्य छन् । ‘खानेपानीको धाराबाट आएको पानी न पिउन योग्य छ, न कपडा धुन र नुहाउन नै ।’

यो समस्या बनेपा बजार भरिको हो । फोहोरको शहरको रुपमा चिनिन थालेको बनेपा नगर अब दुषित खानेपानीको शहरको रुपमा चिनिन थालेको छ । सम्बन्धित निकायमा जानकारी दिँदा समेत बेवास्त गरेको नगरबासीको आरोप छ ।
यस अघि बनेपा बजारको फोहोर हप्तौ नउठाएपछि स्थानीय महिलाहरुले नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेलाई व्यंग्यस्वरुप फोहोर उपहार दिएका थिए ।

फोहोर उठाउन नगरबासीले फोहोर नै उपहार दिनुपर्ने अवस्था आएकोमा स्वच्छ, सुद्ध खानेपानीको लागि अब के गर्नुपर्ने हो भन्दै नगरबासीले व्यंग्य गर्न थालेका छन् ।

नगर प्रमुख यसो भन्छन्

यस विषयमा बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं वादेले अहिलेसम्म आफ्नो कार्यालयमा यस्तो गुनासो नआएको बताए । ‘म त्यो विषयमा बुझ्छु, अहिलेसम्म गुनासो आएको छैन ।’ प्रमुख वादेले भने, ‘त्यसतर्फ सचेत गराउँदै तत्काल समस्या समाधान गर्छु । कार्यालयमा आएर गुनासो गरे अध्ययन गरेर समस्या समाधान गर्छौं ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।