काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ६, स्थित बौद्धमा जेष्ठ नागरिकहरुको लागि आधारभूत शिक्षा कार्यक्रम सञ्चालनमा आएको छ ।

आनन्तपुर महिला समाज र एजिङ नेपालको सहयोगमा सञ्चालन हुने उक्त कार्यक्रमको उद्घाटन ६ नं. वडाका अध्यक्ष दिपेन्द्र लामाले शनिबार एक कार्यक्रमका बीच गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष लामाले महिला समाजले गरेको कामको प्रशंसा गर्दै आफूले पनि जेष्ठ नागरिकहरुको लागि केही गर्ने बताए । ‘यहाँको महिलाहरुले यो एकदम राम्रो काम गर्नुभएको रहेछ । खुशी लाग्यो ।’ लामाले भने, ‘आगामी दिनमा जेष्ठ नागरिकलाई वडा कार्यालयबाट गर्नुपर्ने सबै काम गर्नेछौं ।’

त्यसै गरि कार्यक्रमको विशेष अतिथि तथा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले आफ्नो समितिबाट पनि जेष्ठ नागरिकहरुको लागि आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

६० वर्ष भन्दा माथिका निरक्षर जेष्ठ नागरिकहरुलाई साक्षर बनाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष सानुमाया वाईबाले तेमाल अनलाईनलाई जानकारी दिइन् । ६ महिनासम्म चल्ने उक्त कार्यक्रममा ३० जना जेष्ठ नागरिकहरुको सहभागीता रहने अध्यक्ष वाईबाले बताईन् ।

उद्घाटन कार्यक्रममा वडा अध्यक्ष दिपेन्द्र लामा र बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले संयुक्त रुपमा जेष्ठ नागरिकहरुलाई आश्यक शैक्षिक सामग्री तथा व्याग वितरण गरेका थिए । धेरै समय अघि स्थापना भएको यस संस्था विभिन्न सामाजिक काम गर्दै आएको छ ।

कार्यक्रममा महिला वडा सदस्य लक्ष्मी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।