काभ्रे । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा बेथानचोक गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई क्षमता अभिबृद्धि तालिम कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीलाई अधिकार, ऐन, नियम, विकास निर्माण सम्बन्धी जानकारी दिने उद्देश्यले यस गाउँपालिकामा ३ दिने तालिम आइतबार सम्पन्न भएको हो ।
तालिममा स्थानीय तहका जनप्रतिनिधिको काम कर्तव्य अधिकार, खरिद व्यवस्थापन, सूचना संचार प्रविधिको प्रयोग, स्थानीय सरकार संचालन ऐन, सुशासन सदाचार, लगायतका विषयमा तालिम संचालन भएको थियो ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सबै वडाका वडा अध्यक्ष, समावेशी सदस्यहरु, कर्मचारीहरु गरी कुल ४२ जना सहभागी रहेका थिए । तालिममा जिल्ला समन्वय अधिकारी कोमल प्रसाद धमला, मानवअधिकारकर्मी भोजराज तिमल्सिना, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले प्रशिक्षण दिएका थिए ।
यस अघि जिल्लाका खानीखोला, महाभारत, चौंरी देउराली, भूम्लु, तेमाल लगायतका गाउँरापालिकाहरुमा तालिम संचालन भइसकेको तेमाल अनलाईनलाई आयोजकले जानकारी दिएको छ ।