काभ्रे । जिल्ला समन्वय समिति, काभ्रेको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
समितिको सभाहलमा सोमबार पत्रकार सम्मेलन गरि दोश्रो जिल्ला सभा बैठकमा प्रस्तुत तथा पारित भएको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

जिल्ला समन्वय समिति, काभ्रेका प्रवक्ता प्रेमकुमार लामाद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार सभा बैठक ब्यवस्थित र भब्यरुपमा सम्पन्न भएको छ ।
उद्घाटन  र बन्द सत्र गरी दुई चरणमा सम्पन्न भएको सो सभाको उद्घाटन सत्र सूचना तथा संचार प्रविधि मन्त्री गोकुल प्रसाद बाँसकोटाज्ल समितिको कार्यालय परिसरमा एभोकाडोको बिरुवा रोपी गरेका थिए ।

समुद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सरकारले स्थायी संरचना र विकासका लागि हचुवाको भरमा योजना नबनाई डिटेल सर्भे पछि रकम विनियोजन गर्ने कुरालाई जोड दिएको बताए । आम नागरिकलाई विकासको भोक जागेको बेला सरकारले स्थायी ढंगको विकास निर्माणबाट सम्वृद्ध नेपालको परिकल्पना गरिरहेको बताउँदै वहाँले पानी र जैविक विविधता जोगाउने गरी खानी र क्रसरहरुको ब्यवस्थापन गर्नु पर्ने कुरामा जोड दिए ।
धुलिखेलसम्मको मेट्रो रेल, एयरपोर्ट, खानेपानी, महाभारत ट्रेकिंग ट्रेल लगायतका विकासका महत्वपूर्ण योजनाहरुमा सरकारले ध्यान दिएको बताए ।

‘पूर्वाधार विकासमा सबै नगरपालिका र गाउँपालिका केन्द्रहरुबाट सदरमुकाम जोड्ने सडक पीच गर्ने, पालिका केन्द्रबाट वडा कार्यालयसम्म पुग्ने सडकहरुको स्तरोन्नति गर्ने, एकिकृत फोहोर मैला ब्यवस्थापन, बहुउद्देश्यीय कभर्ड हल, एकिकृत खानेपानी, रिचार्ज पोखरी, जलाधार क्षेत्र संरक्षण, सार्वजनिक शौचालय निर्माण, खेतीयोग्य जमिनमा सिंचाई सुविधा लगायतलाई प्राथमिकतामा राखिएको छ ।’ लामाले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छः ‘आर्थिक विकासका लागि सम्वृद्ध काभ्रेपलाञ्चोक भन्ने अभियानका लागि शिक्षा, स्वाथ्य, रोजगार, कृषि र पर्यटन क्षेत्रको हब बनाउने लक्ष्य राखिएको छ । ब्यवस्थित बजार केन्द्र, कृषिजन्य उत्पादन र भण्डारण, पकेट क्षेत्र घोषणा, पशु उत्पादनको ब्यवस्थित बजारीकरण, पशुपंक्षी क्षेत्रको दिगो विकास, सहकारी क्षेत्रको प्रवद्र्र्धन लगायतका लक्ष्य लिईएको छ । नीति तथा कार्यक्रममा सामाजिक विकास, उद्योग तथा पर्यटन विकास, सूचना संचार, शुसासन तथा संस्थागत विकास सँगै सम्वृद्ध काभ्रेपलाञ्चोक निर्माणका लागि प्रदेश तीनको राजधानी बनाउन माग गरिएको छ ।’
जिल्ला समन्वय समितिका प्रमुख श्री उद्धब के.सी.द्वारा प्रस्तुत काभ्रेपलाञ्चोक जिल्लाको नीति तथा कार्यक्रम
यस ऐतिहासिक दोश्रो जिल्ला सभाका प्रमुख अतिथी माननीय सूचना तथा संचार प्रविधि मन्त्री गोकुलप्रसाद बाँसकोटाज्यू, माननीय ब्यवस्थापिका संसद सदस्यज्यूहरु, माननीय प्रदेश सभा सदस्यज्यूहरु, जिल्ला समन्वय समन्वय समिति महासंघ नेपालका अध्यक्षज्यू, राजनैतिक दलका प्रमुखज्यूहरु, प्रमुख जिल्ला अधिकारीज्यू, जिल्ला सभाका सदस्यज्यूहरु, सुरक्षा निकायका प्रमुखज्यूहरु, कार्यालय प्रमुखज्यूहरु, गैरसरकारी, निजी तथा संचार क्षेत्रका प्रमुख तथा प्रतिनिधीज्यूहरु, उपस्थित सम्पूर्ण महानुभावहरु ।
सर्बप्रथम काभ्रेपलाञ्चोक जिल्लाको जिल्ला सभाको दोश्रो बैठक एवम् जिल्ला समन्वय समितिको निर्वाचित पदाधिकारीहरुले पदबहाल गरेपछिको पहिलो जिल्ला सभा बैठकमा हाम्रो आमन्त्रणलाई स्वीकार गरी उपस्थित हुनुहुने प्रमुख अतिथिज्यू, अतिथिज्यूहरु जिल्ला सभाका सदस्यज्यूहरु लगायत उपस्थित सम्पूर्ण महानुभावहरुमा हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु ।
यस अवसरमा म देश र जनताका अधिकार, आत्मसम्मान, प्रतिष्ठा, गौरव, समृद्धि, शान्ती र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आप्mनो अमूल्य जीवन वलिदान गर्नुहुने सम्पुर्ण ज्ञात, अज्ञात शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै शारिरीक र मानसिक रुपमा अशक्त हुनु भएका महानुभाव र वहांहरुको परिवार प्रति हार्दिक सम्मान प्रकट गर्दछु । जनआन्दोलनको क्रममा घाइते हुनुभई अझै पनि अचेत अवस्थामै रहनुभएका काभ्रेली सपुत मुकेश कायस्थको स्वास्थ्यलाभको कामना गर्दछु ।
आदरणीय उपस्थित महानुभावहरु¸
नेपाली जनताको अथक प्रयत्न र निकै लामो संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा जारी भएको नेपालको संविधान, २०७२ ले गरेको ब्यवस्थाका आधारमा स्थानीय तहहरुको निर्वाचन सम्पन्न भई झण्डै १५ बर्षसम्म जनप्रतिनिधिविहीन रहेका स्थानीय तहहरूले जनताका प्रतिनिधी पाएका छन् ।
निर्वाचनले राष्ट्रिय स्वाभिमान, स्वाधीनता, राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउन सघाएको छ । सङ्घीयता र राज्य पुनःसंरचनाको वास्तविक थालनी यसै निर्वाचनबाट भएको छ । स्थानीय तहहरू शक्तिशाली, अधिकारसम्पन्न र संविधानको परिधिभित्र स्वायत्त भएका छन् । पहिलो पटक जनताको स्वशासन आरम्भ भएको छ । गाउँ र नगरमा सामाजिक–आर्थिक रुपान्तरण र विकासको अभियान शुरु भएका छन् । स्थानीय तहहरू सामाजिक न्याय, समुन्नति र आधारभूत लोकतन्त्रका नमूना बन्नेतर्फ अग्रसर छन् ।
विगत समयदेखि नै जिल्ला विकास समितिले जिल्लाको समग्र विकासमा नेतृत्वदायी तथा समन्वयकारी भूमिका निर्वाह गरेको कुरा यहाँहरुलार्इ विदितै छ । जिल्लाका विषयगत कार्यालयहरु¸ अन्य सरकारी तथा गैरसरकारी संस्था तथा निकायहरुसंग समन्वय गरी जिल्लाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको जिल्ला विकास समिति नयाँ ब्यवस्था र नयाँ भूमिकाका साथ जिल्ला समन्वय समिति भएको छ।हाल राज्यबाट जिल्ला समन्वय समितिलाइ प्रदान गरिएको निकै नै संकुचित भूमिका र जिम्मेवारीले संविधानतः गठन भएको निर्वाचित जनप्रतिनिधिमूलक संस्थाको अवमूल्यन भएको महशुस सर्बत्र गरिएको छ।अतः आगामी दिनमा जिल्ला समन्वय समितिलाइ थप जिम्मेवारी प्रदान गर्न र निर्वाचित प्रतिनिधिहरुको भूमिकाविहिन अवस्थाको अन्त्य हुनुपर्ने कुरालाइ यस सम्मानित सभामा जोडदार रुपमा उठाउन चाहन्छु ।
आदरणीय महानुभावहरु¸
ऐतिहासिक, धार्मिक, पुरातात्विक एवम् पर्यटकीय दृष्टिले अत्यन्त धेरै सम्भावनाहरु बोकेको यस जिल्लाको सामाजिक, आर्थिक, सांस्कृतिक विकासको दृष्टिबाट पछाडि परेका वर्ग, महिला, लोपोन्मुख आदिवासी÷जनजाति, दलित, असहाय, अपांग, अति गरिब समुदाय एवम् विकट भौगोलिक क्षेत्रका जनतालाई सेवा र सुविधा उपलब्ध गराउने क्रममा जिल्लामा उत्पादनशील क्षेत्रमा लगानी अभिवृद्धि गरी रोजगारीका अवसरहरुको वृद्धि गर्नु, पुनर्निर्माण, पुनस्र्थापना तथा राहतका कार्यक्रम संचालन गर्नु, सुशासन प्रवद्र्धन गर्नु, भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नु र सामाजिक विकासलाई जोड दिने एवम् स्थानीय सरकारहरुबाट भएका विकास प्रयासहरुमा नागरिकहरुलाई सहभागी गराई स्वामित्वबोध गराउनु, विकासको प्रतिफल सुनिश्चित गर्नु जस्ता विकास प्रकृयाका चुनौतिहरु हाम्रा सामु विद्यमान रहेका छन् ।
उल्लेखित चुनौतिहरुका बावजुद जिल्लामा राजनैतिक सहमति एवम् समझदारी, विकासप्रति जनतामा नयाँ उत्साह र जागरण, जिल्लामा प्राकृतिक, पर्यावरणीय एवम् जैविक बिविधताको प्रचुरता, जिल्लामा उल्लेख्य कृषि भूमीको उपलब्धता, विकास प्रकृयामा गैरसरकारी क्षेत्र, नागरिक समाज तथा निजी क्षेत्रको सहयोग, राजधानीसँगको सहज पहुँच, शैक्षिक तथा स्वास्थ्य क्षेत्रका प्रतिष्ठित संघ संस्थाहरुको कृयाशिलता, दुईवटा प्रमुख राजमार्गहरुबाट जिल्लाका अधिकांश भागहरुलाई समेटिनु लगायतका अवसरहरु जिल्लामा विद्यमान छन् । उल्लेखित सम्भावना तथा अवसरहरुको पूर्ण एवम् समुचित सदुपयोग गर्दै दिर्घकालीन तथा अल्पकालीन नीति, योजना तथा कार्यक्रमहरुमार्फत विकास प्रकृयालाई अगाडि बढाउनेतर्फ जिल्लाका सम्पूर्ण सरोकारवालाहरुकोे ध्यान केन्द्रित हुनुपर्ने कुरालाई जोड दिन चाहन्छु।
आदरणीय महानुभावहरु¸
अब म चालु आर्थिक बर्षमा जिल्ला समन्वय समितिबाट सम्पादन भएका कार्यहरुको प्रगति अवस्थाका बारेमा संक्षिप्त रुपमा राख्ने अनुमति चाहन्छु । यस बर्ष जिल्ला समन्वय समितिको काम बिगतमा शुरु भइ क्रमागत रहेका केही पूर्बाधार विकासका कार्यक्रम¸ आन्तरिक राजश्व संकलन कार्य¸ दर्ता अनुमति सिफारिश सम्बन्धी कार्यहरुका साथै अनुगमन तथा समन्वयको कार्यमा सीमित रह्यो । स्थानीय पूर्बाधार तथा कृषि सडक बिभाग अन्तरगत जिल्ला समन्वय समितिको कार्यालय तथा जिल्ला प्राविधिक कार्यालयबाट चालु आर्थिक बर्षमा संचालित ६ वटा मोटरेवल पुल मध्ये रोशीखोला पुल दाप्चा¸ पाट्नेखोला पुल बेथानचोक¸ चाखोला पुल मण्डनदेउपुरको निर्माण सम्पन्न भएको छ भने रोशीखोला त्रिवेणीघाट तथा रोशीखोला बल्थलीको ५० प्रतिशत काम सम्पन्न भएको छ ।
त्यस्तै खोपासी ढुंखर्क च्याम्रांगबेसी मिल्चे बोरांग सडक¸ कुन्ताबेसी नयाँगाउँ नगरकोट सडक¸ हिगुवापाटी ज्याम्दी दोलालघाट सडक¸ दोलालघाट फलाटे कोलाती ढाँडखर्क पोखरीचौरी गुराँसे सडक¸ मिल्चे बोरांग तालढुंगा बनखु सडक¸ कटुञ्जे सिपाली बुढाखानी बनखु सडक तथा खोपासी ताल्ढुंगा सडकका अधिकांश कामहरु सम्पन्न भएका छन् । खोपासी तालढुंगा सडकको कोक्रेभीरमा प्राविधिक कारणले जोड्न नसकिएको खण्डलाइ ट्रयाक परिवर्तन गरी डाँडापारीको पश्चिमी क्षेत्रलाइ जिल्ला सदरमुकामसँग जोड्न सफलता मिलेको छ ।  झोलुंगेपुल अन्तरगत क्रमागत ५ आयोजनाको कार्य सम्पन्न भएको छ भने ८ वटा पुलको निर्माण कार्य अगाडि बढिरहेको छ । जिल्ला प्राविधिक कार्यालयको भवन निर्माणको काम अगाडि बढिरहेको ब्यहोरा समेत यस सम्मानित सभा समक्ष अवगत गराउन चाहन्छु ।
भुकम्प पुर्ननिर्माण आयोजना कार्यालयमार्फत चालु आर्थिक बर्षमा भुकम्प आवास निर्माण अनुदान तर्फ ६६ हजार ९ सय ९१ घरधुरीसँग सम्झौता गरिएको, सो मध्ये ३२ हजार ७ सय १२ घरधुरीले दोश्रो किस्ता वापतको रकम लगेको तथा ९ हजार ६ सय चौरासी घरधुरीलाई तेश्रो किस्ता रकम समेत प्रदान गरी सकिएको छ । उक्त कार्यका लागि हाल सम्म ५ अर्ब ८७ करोड ५२ लाख अनुदान बितरण गरिसकिएको ब्यहोरा समेत निवेदन गर्न चाहन्छु ।
चालु आ.ब.मा जिल्ला समन्वय समितिको कार्यालयबाट १९ वटा खानी दर्ता अनुमतिपत्रहरुको नवीकरण भएका छन् भने ती मध्ये १८ वटा सम्बन्धित कागजातहरुसहितको फायल नगरपालिका गाउँपालिकामा हस्तान्तरण भएका छन् । त्यसैगरी ३१० वटा निर्माण ब्यवसायी अनुमतिपत्र नवीकरण भएको छ भने सो सँग सम्बन्धित ३५३ वटा निर्माण ब्यवसायी दर्ता सम्बन्धी फायलहरु सबै गाउँपालिका तथा नगरपालिकाहरुमा हस्तान्तरण गरिएको छ ।
जिल्लाबाट ब्यवस्थापिका संसद तथा प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने माननीय सदस्यज्यूहरुबाट काभ्रेपलाञ्चोक जिल्लालाई प्रदेश नं. ३ को राजधानी कायम गर्न भएको पहलकदमीलाई जिल्लाको तर्फबाट थप टेवा पुर्याउन जिल्लाका सबै सरोकारवालाहरुको सहभागितामा ब्यवस्थापन समिति गठन गरी आबश्यक सूचनाहरु तथा प्रचार सामाग्री तयार गर्ने, सम्बन्धित सरोकारवालाहरुसँग भेटघाट गर्ने, लविङ गर्ने, राजधानी अध्ययन कार्यदललाई अवलोकन भ्रमण गराउने लगायतका औपचारीक तथा अनौपचारीक रुपमा प्रयत्नहरु भएका छन् ।
जिल्ला समन्वय समितिको नियमित कृयाकलापहरु अन्तर्गत जल उपभोक्ता समितिहरु दर्ता गर्ने, गैरसरकारी संस्थाहरुको दर्ता तथा नवीकरणका लागि सिफारिश गर्ने, सामाजिक सुरक्षा सम्बन्धी तथ्यांकहरु अनलाइन प्रबिष्टीका लागि गाउँपालिका तथा नगरपालिकाहरुलाई प्राविधिक सेवा उपलब्ध गराउने, सरकारी तथा गैरसरकारी क्षेत्रबाट जिल्लामा संचालित कार्यक्रम आयोजनाहरुको अनुगमन गर्ने, स्थानीय सरकार बिषयगत कार्यालय तथा गैरसरकारी संस्थाहरुबाट संचालित कार्यक्रमहरुको समीक्षा गर्ने लगायतका कार्यहरु सम्पन्न भएका छन् ।
जिल्लाका सबै सरोकारवालाहरुको सहभागितामा दुई दिने योजना र विकास सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरी समृद्ध काभ्रेपलाञ्चोक निर्माणका लागि जिल्ला विकास मार्गदर्शन तयार गर्ने कार्य सम्पन्न गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको सहयोगमा जिल्लाका सबै स्थानीय सरकारका पदाधिकारी तथा कर्मचारीहरुका लागि क्षमता अभिबृद्धि तालिम अन्तर्गत योजना र बजेटिंग तथा स्थानीय सरकार संचालन सम्बन्धी तालिमहरु सम्पन्न गरिएका छन् ।
चालु आर्थिक बर्षमा जिल्ला समन्वय समितिले स्थानीय कर तथा राजश्व बाँडफाँड अन्तर्गत ३६ करोड २४ लाख ९५ हजार ८१२ रुपैयाँ संकलन गर्न सफल भएको छ । गत आ.ब.को मौज्दात रकम समेत जिल्ला समन्वय समिति कोषमा आन्तरिक आम्दानीको रकम रु. ४० करोड ९६ लाख ४८ हजार ७२२ रुपैयाँ मौज्दात रहेको ब्यहोरा समेत अनुरोध गर्न चाहन्छु ।
त्यसैगरी माथी उल्लेखित कार्यक्रमहरु संचालन, भुकम्प आवास निर्माण अनुदान वितरण तथा कार्यालय संचालनका लागि चालु आ.ब.को कूल बजेट रु. ६ अर्ब ११ करोड ३७ लाख १७ हजार मध्ये जेष्ठ मसान्तसम्म रु. ५ अर्ब ९४ करोड ४८ लाख ९४ हजार ३०२ रुपैयाँ खर्च भएको ब्यहोरा यस सम्मानित सभा समक्ष अवगत गराउन चाहन्छु । त्यस्तै चालु आ.ब.को आषाढ मसान्त सम्मको संशोधित अनुमान तथा आगामी आ.ब.को प्रस्तावित बजेट समेत अनुसूचीमा समावेश गरी स्विकृतिका लागि यस सभा समक्ष पेश गरेको ब्यहोरा समेत निवेदन गर्न चाहन्छु ।
आदरणीय सभासदज्यूहरु,
काभ्रेपलाञ्चोक जिल्लाको आर्थिक, सामाजिक र मानवीय विकासको लागि यस जिल्ला भित्र थुप्रै सम्भावना तथा अवसरहरु रहेका छन् भने केही समस्या र चुनौतीहरु पनि देखिएका छन् । अवसरहरुको पूर्ण उपयोग गर्दै तथा समस्या र चुनौतिहरुलाई चिर्दै अगाडी बढ्न हामी सबैको साझा प्रयत्न रहने कुरामा विश्वास लिएको छु ।
समृद्ध काभ्रेपलाञ्चोक निर्माणका लागि सबै गाउं÷नगरपालिकाहरुलाई मार्गदर्शन हुने गरी देहायका नीतिहरु अवलम्वन गर्न प्रस्ताव गरेको छु । नगरपालिका, गाउँपालिका तथा जिल्ला सभाको प्रभावकारी र सक्षम नेतृत्वबाट आगामी ५ बर्षभित्रै देहायका लक्ष्य प्राप्तिमा जिल्ला सभा प्रतिबद्ध रहनेछ ः
(क) पूर्वाधार विकास
  • जिल्लाका सबै नगरपालिका र गाउँपालिकाका केन्द्रहरु बाह्रै महिना चल्ने कालोपत्रे सडकबाट जिल्ला सदरमुकामसँग जोडिनेछन् । सबै गाउँ, बस्ती हरुमा सडक सञ्जाल पुर्याइनेछ ।
  • नगरपालिका तथा गाउँपालिकाका केन्द्रहरुमा ब्यवस्थित र सुबिधासम्पन्न बसपार्क निर्माण गरिनेछ । नगरपालिकाका सम्पूर्ण वडाहरुलाई जोड्नका लागि प्रत्येक नगरपालिकामा चक्रपथ निर्माण गरिनेछ ।
  • नगरक्षेत्रका फोहोर मैलाको दिगो ब्यवस्थापनका लागि दीर्घकालीन एकिकृत ल्याण्डफिलसाइटको पूर्बाधार निर्माण गरिनेछ ।
  • प्रत्येक नगरपालिकामा एक एक वटा नगर सभागृह तथा बहुद्देश्यीय कभर्ड हल निर्माण गरिनेछ । प्रत्येक वडामा ब्यवस्थित खेलमैदान निर्माण गरिनेछ ।
  • सम्पूर्ण नागरिकमा स्वच्छ पिउने पानीको पहुँच स्थापित गरिनेछ । काभ्रे उपत्यका खानेपानी योजनालाई निर्धारित समयमै सम्पन्न गरिनेछ। खानेपानी समस्याग्रस्त तेमाल, दाप्चा, पलाञ्चोक, रोशी, डाँडापारी, कोशीपारी, साँगा जनागाल लगायतका क्षेत्रमा सम्भाव्य श्रोतहरु पहिचान तथा नविनतम प्रविधिको प्रयोग गरी दिगो खानेपानी आपूर्तिको ब्यवस्थापन गरिनेछ । जिल्लाका उचाईमा रहेका क्षेत्रहरुमा पानीको श्रोत बढाउन जमिन रिचार्ज हुनेगरी बर्षातको पानी संकलन तथा पुर्नभरण ९च्भअजबचनभ० पोखरीहरु निर्माण गर्ने कार्यलाई अभियानकै रुपमा अगाडि बढाइनेछ ।
  • जिल्लाकै उच्चभागमा रहेको महाभारत जलाधार क्षेत्रलाई ब्यवस्थित गर्ने तथा खारखोला क्षेत्रमा ड्याम बाँधी उक्त आयोजनालाई खानेपानी, सिंचाई तथा पर्या पर्यटनको एकिकृत प्याकेजको रुपमा अगाडि बढाइनेछ ।
  • सार्बजनिक स्थलहरुमा सार्वजनिक शौचालय निर्माण गरिनेछ । सिङ्गो जिल्लालाई खुल्ला दिसामुक्त गराइनेछ ।
  • भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक संरचनाहरुहरुको ब्यवस्थित पुर्ननिर्माणको कार्य तत्काल अगाडि बढाइनेछ । नगर÷गाउँस्तरीय विपद् ब्यवस्थापन कोष स्थापना गरिनेछ । नयाँ बन्ने निजी तथा सार्बजनिक भवनहरु भूकम्प प्रतिरोधी बनाउन सचेतनात्मक कार्यक्रमहरु सञ्चालन गरिने र सोको नियमन गरिनेछ।
  • जिल्लामा खेतीयोग्य भूमिहरुमा सिंचाई सुविधा विस्तारको लागि दिगो श्रोतहरुको पहिचान तथा विकास गरिनेछ । सिंचाईका दिगो श्रोतहरुको अभाव रहेका क्षेत्रहरुमा प्लाष्टिक पोखरी, पुर्नभरण पोखरी, आकासे पानी संकलन तथा थोपा सिंचाई जस्ता उपयुक्त प्रविधिहरुको विस्तार गरिनेछ ।
  • जिल्लामा उत्पादन हुने तरकारीहरुको सामुहिक बिक्री बितरणको लागि संकलन केन्द्रहरु, सामुहिक उद्यम तथा उत्पादन कार्य गर्न आवश्यक स्थानहरुमा साझा सुविधा केन्द्र, लघु साना तथा घरेलु उद्योगहरुवाट उत्पादित सामान विक्री वितरणको लागि विक्री कक्ष स्थापना र सञ्चालन, पर्यटकीय क्षेत्रहरुको पहिचान तथा पूर्वाधार निर्माण, पर्यटकीय सडक तथा पैदल मार्ग जस्ता पूर्वाधारहरु निर्माण कार्यहरु प्राथमिकताका साथ अगाडि बढाइनेछ।
  • भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको ब्यवस्थित पुर्ननिर्माणको कार्य अगाडि बढाइनेछ । जिल्ला, गाउँपालिका तथा नगरपालिकाहरुमा बन्ने निजी तथा सार्बजनिक भवनहरु भूःकम्प प्रतिरोधी बनाउन सचेतनात्मक कार्यक्रमहरु सञ्चालन गरिने र सोको नियमन गरिनेछ ।
  • विद्युत सेवा पुग्न बाँकी रहेका क्षेत्रलाई बिशेष प्राथमिकतामा राखी राष्ट्रिय प्रसारण लाइनबाट बिद्युत सेवा पुर्याइनेछ । जिल्लामा बैकल्पिक ऊर्जा उत्पादनका लागि सौर्य तथा बायु उर्जाको प्रबद्र्धन गरिनेछ ।
  • डाँडापारी, कोशीपारी, रोशी लगायत जिल्लाका दुर्गम क्षेत्रमा स्थापना भएका लघु जलविद्युतहरुको मर्मत सम्भार तथा विस्तार र केन्द्रीय प्रशारण लाइन विस्तारको लागि आवश्यक कार्यहरु गरिनेछ ।
  • जलवायु परिर्वनले पारेका प्रभाव र असरको अध्ययन गरी जलवायु अनुकुलन योजना निर्माण गरी कार्यान्वयन गरिनेछ ।
(ख) आर्थिक विकास
  • ५ बर्षभित्र शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, पर्यटनको क्षेत्रमा नेपालकै अग्रणी जिल्ला बनाउँदै समृद्ध काभ्रेपलाञ्चोक निर्माण गरिनेछ ।
  • गरिबीका रेखामुनि रहेका परिवारहरुको पहिचान गरी आर्थिक कृयाकलापहरुमा सहयोग गरिनेछ । उनीहरुलाई आवश्यक सहुलियत र छुटको ब्यवस्था गरिनेछ ।
  • १३ वटै स्थानीय तहका केन्द्रहरुमा ब्यवस्थित बजार केन्द्र र सबै वडा केन्द्रहरुमा अत्यावश्यक सुविधासहितको सेवाकेन्द्रहरु स्थापनाको कार्य अगाडि बढाइनेछ ।
  • ढुंगा खानी, क्रसर उद्योग, नदीजन्य सामाग्री लगायतका स्थानीय तहका आन्तरिक आयसँग सम्बन्धित उद्योगहरुलाई उपयुक्त मापदण्डका आधारमा ब्यवस्थित परिचालन गरिनेछ । खानी र पानीका श्रोतहरु एकै ठाउँमा रहन नसक्ने यथार्थतालाई योजनाबद्ध रुपमा ब्यवस्थित गर्दै लगिनेछ ।
  • स्थानीय तहको आन्तरिक आयमा बृद्धि ल्याउन राजश्व सम्भावित क्षेत्रहरुको पहिचान, विस्तार र नियमन गरिनेछ।
  • जिल्लाका अधिकांश क्षेत्रमा रहेको निर्वाहमूखी खेती प्रणालीलाई तुलनात्मक लाभको आधारमा ब्यवसायिकीकरण तर्फ उन्मुख गराई आत्मनिर्भर एवं सर्बसाधारण कृषकहरुको आर्थिक समृद्धि ल्याउने खालका कार्यक्रमहरु कार्यान्वयन गरिनेछ ।
  • कृषिजन्य उत्पादनहरुको सुरक्षित भण्डारणका लागि पनौती, नाला, पाँचखाल, भकुण्डे तथा मण्डन क्षेत्रमा शीत भण्डार तथा कृषि बहुद्देश्यीय सेवा भवन निर्माण गरिनेछ ।
  • जिल्लाको कृषि क्षेत्रलाई ब्यवसायमूलक र उत्पादनमूलक बनाउन तथा राजधानीको लागि तरकारी आपूर्तिको प्रमुख क्षेत्र ओगट्ने पाँचखाल तथा मण्डन देउपुर क्षेत्रलाई अर्गानिक तरकारी पकेट क्षेत्रको रुपमा अगाडि बढाइनेछ ।
  • साँगा, ढुंखर्क, चलाल, कुशादेवी, रयाले, पनौती लगायतका क्षेत्रलाई लप्सीजन्य उद्योगको पकेट क्षेत्र घोषणा गरी उत्पादनमा स्वस्थ एवम् गुणस्तरीयता कायम गर्दै बाह्य देशमा समेत निर्यातयोग्य बनाइनेछ ।
  • जिल्लाको बिभिन्न क्षेत्रमा शुरु भएको चिया, कफी, अलैंची खेती बिस्तार गरिनेछ। ब्यवसायिक माछापालन, कुखुरापालन, रेशमखेतीलाई प्रबद्र्धन गरिनेछ।
  • सबै टोल बस्तीहरुमा दुग्ध संकलन केन्द्र तथा प्रत्येक वडामा दुग्ध चिस्यान केन्द्रहरुको स्थापना र स्तरोन्नति गरिनेछ ।
  • मल, बीउ, सिंचाई, प्रबिधि र कृषि उपजको बजारको सुनिश्चितता गरिनेछ । कृषि ऋण, बाली तथा पशुपंक्षी बीमा, कृषि प्राविधिकको सेवालाई कृषकको सर्बसुलभ पहुँचका लागि वडास्तरमै पुर्याइनेछ ।
  • पशु उत्पादनको ब्यवस्थित बजारीकरण¸ पशुपंक्षी हाटबजार र आधुनिक पशु वधशाला स्थापना र निर्माण गरिनेछ।
  • जिल्लाको खासगरी तेमाल, रोशी तथा चौंरी देउराली क्षेत्रमा उत्पादन हुने मुल्यवान वोधीचित्तमालाको संरक्षण, विकास, विस्तार र सुरक्षित वजारीकरणका लागि प्रबद्र्धनात्मक कार्यक्रमहरु गरिनेछ ।
  • पशुपंछी क्षेत्रको दिगो बिकासद्वारा खाद्य संप्रभु र समृद्ध काभ्रे वनाउने सोचका साथ दुध, फुल र मासुमा आत्मनिर्भर हुन जिविकोपार्जन तथा ब्यवसायिक पशुपंछी पालन प्रबद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
  • ब्यबसायिक रुपमा कृषि, पशुपालन तथा घरेलु उद्योगहरु संचालन गर्ने कृषक तथा उद्यमीहरुलाई प्रोत्साहनका लागि स्थानीय कर मिनाहा, सहुलियत ऋणको ब्यवस्था लगायतका अन्य सेवा सुविधाहरु उपलब्ध गराइने नीति लिइनेछ ।
  • सहकारी क्षेत्रको प्रबद्र्धन र विकास गर्दै जिल्लाको समग्र विकासमा गैरसरकारी क्षेत्र, सहकारीक्षेत्र, निजी क्षेत्र, अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग साझेदारी र सहकार्य गरिनेछ ।
  • श्रममूलक, आधुनिक र वातावरण अनुकुल प्रविधिको उपयुक्त संयोजन गर्दै स्थानीय पूर्वाधार तथा आर्थिक सामाजिक विकासका कार्यहरु अघि बढाइनेछ ।
  • अब बन्ने सबै शहरहरुलाई हरित शहर ९न्चभभल ऋष्तथ० को अवधारणा अनुरुप विकास गरिनेछ।
(ग) सामाजिक विकास
  • प्रत्येक गाउँपालिकामा कम्तिमा १५ शैया तथा नगरपालिकामा कम्तिमा २५ शैयाको सुबिधासम्पन्न अस्पताल स्थापनाका लागि पहल गरिनेछ । प्रत्येक वडामा २४सै घण्टा सेवा सुनिश्चित भएको प्रयोगशाला, एक्स रे, पर्याप्त औषधी सहितको स्वास्थ्य संस्थाको ब्यवस्था गरी आधारभूत र प्राथमिक स्वास्थ्यमा सबैको पहुँच सुनिश्चित गरिने छ ।
  • सबै सेवाकेन्द्रहरुबाट अत्यावश्यक औषधी निशुल्क, ५ बर्षमुनिका बालबालिका, ६० बर्षमाथिका जेष्ठ नागरिक तथा अपांगता भएका ब्यक्तिहरुलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क गरिनेछ ।
  • बाल मृत्युदर र मातृमृत्युदरलाई न्युनिकरण गर्दै जिल्लावासीहरुलाई क्यान्सर, मृगौला, मुटुरोग लगायतका गम्भीर प्रकृतिका रोगहरुको उपचारका लागि आबश्यक सहयोग गरिनेछ । आर्युवेदिक, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका प्रचलित स्वास्थ्य उपचार सेवाको व्यवस्थापन गरिने छ ।
  • महिला स्वयंसेविकाहरुको क्षमता विकास र उचित पारिश्रमिकको ब्यवस्था गर्दै प्रत्येक टोलबस्तीमा परिचालन गरिनेछ ।
  • निकृष्ट बालश्रम उन्मुलन कार्यमा प्राथमिकता दिई बालश्रममुक्त गाउँ नगर तथा जिल्ला घोषणा गर्ने कार्यको थालनी गरिनेछ ।
  • निरक्षरता पूर्णरूपमा अन्त्य गरिनेछ । शिक्षामा सबैको पहुँच स्थापित गरिने छ।
  • जिल्लाका सामुदायिक विद्यालयहरुको गुणस्तर बृद्धि गर्दै बालकक्षा सञ्चालन, कम्प्युटर शिक्षा, पुस्तकालय स्थापना तथा शैक्षिक गुणस्तर सुधारका कार्यक्रमहरु सचालन गरिनेछ ।
  • महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका, जेष्ठ नागरिक, लोपोन्मूख समुदाय र भौगोलिक तथा आर्थिक रुपमा पछि परेका समुदायहरुको उत्थान र स्थानीय शासनमा पहुँच सुनिश्चित गरिनेछ ।
  • लक्षित बर्गहरुलाई विकासको मूलप्रवाहमा ल्याउन सहजीकरणका लागि धुलिखेल नगरपालिकाबाट शुरु भएको महिला परिषद, युवा परिषद, दलित समन्वय परिषद, आदिवासी जनजाति परिषदहरुको गठन र परिचालनको कार्यलाई अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा पनि अगाडि बढाइनेछ ।
  • पूर्ण अशक्त र अपांगता भएका ब्यक्तिको परिवारका एकजना सदस्यलाई हेरचाह सम्बन्धी र रोजगारमूलक तालिमका साथै आयआर्जनका लागि सहयोग उपलब्ध गराइनेछ ।
  • सबै क्षेत्रमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिताको हकलाई सुनिश्चित गर्दै स्थानीय तहका सबै संयन्त्रहरुमा ५० प्रतिशत महिला सहभागिताको लागि प्रयत्न गरिनेछ ।
  • जेष्ठ नागरिक, एकल र बिधवा महिला, असक्त अपाङ्ग र बालवालिकालाई नेपाल सरकारवाट प्रदान गरिदै आएको सुरक्षा बृत्ति समयमै सुलभ तरिकाबाट उपलब्ध गराउने ब्यवस्था मिलाइनेछ ।
  • ज्येष्ठ नागरिक सेवा केन्द्र तथा असहाय बालवालिका सेवा केन्द्रहरुको स्थापना र संचालन गरिनेछ ।
  • जेष्ठ नागरिकहरुको सम्मानजक बसाई, खानपान र सुरक्षाको लागि आवश्यक नीति ऐन कानून बनाई कार्यान्वयन गरिने छ । जेष्ठ नागरिकहरुको ज्ञान अनुभवलाई उपयोग गरिने कार्यक्रमहरु संचालन गरिने छ ।
  • कलाकार, स्रष्टा, संस्कृतिकर्मी, मिडियाकर्मी र सबै क्षेत्रका अगुवा र समाजसेवीहरुलाई सम्मानका साथ सामाजिक अभियानमा उत्प्रेरित गरिनेछ ।
(घ) उद्योग तथा पर्यटन विकास
  • जिल्लाका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरुको थप उजागर र संरक्षण गरी पर्यटकीय जिल्लाको रुपमा राष्टिय पहिचान बनाउँदै काभ्रेपलाञ्चोकलाई नेपालकै प्रमुख पर्यटकीय गन्तब्यको रुपमा विकसित गरिनेछ।
  • सुनकोशीमा र्याफ्ंिटग, फिसिंग, रक क्लाइम्बिंग, कुशादेवीमा प्याराग्लाइडिंग लगायतका पर्यटन पूर्बाधारहरु तयार गरिनेछन् ।
  • तेमाल क्षेत्रमा तामांग सांस्कृतिक संग्रहालय, रोशी क्षेत्रमा हायु, भुम्लुमा माझी र पहरी, पाँचखालमा दनुवार समुदायको संस्कृतिको जगेर्नाका लागि संग्रहालय तथा सांस्कृतिक प्रदर्शन केन्द्रहरु स्थापना गरिनेछन् ।
  • धुलिखेल, पनौती, साँगा, नगरकोट, नमोबुद्ध, पलाञ्चोक, दोलालघाट, बेथानचोक, तेमाल, चौवास, महाभारत क्षेत्रको दिर्घकालीन पर्यटन गुरुयोजना तयार गरी तदनुरुप कार्यक्रम अघि बढाइनेछ ।
  • भौगोलक, ऐतिहाँसिक, धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय सम्पदायुक्त स्थानहरुको संरक्षण, प्रवद्र्धन र विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछ । महाभारत क्षेत्रलाई इको टुरिजमको अवधारणा अनुरुप विकास गरिनेछ।
  • जिल्ला भित्र रहेको वनक्षेत्र संरक्षण गरिनेछ । वनको दिगो उपभोग र ब्यवस्थापनको लागि समुदायमा आधारित वन ब्यवस्थापनलाई प्रबद्र्धन गरिनेछ।
  • जिल्लामा पर्यटन सम्भावित क्षेत्रहरुमा पर्यटकीय मार्ग, साइक्लिंग रुट, भ्यू टावरहरु, होमस्टे प्रवद्र्धन, कृतिम ताल, मनोरञ्जन पार्कहरु निर्माण गरिनेछन् ।
  • नगरकोटबाट धुलिखेल, नमोबुद्ध हुँदै बल्थलीसम्म ब्यवस्थित पर्यटकीय मार्ग निर्माण गरिनेछ । सो क्षेत्रमा आबश्यक शौचालय, बिश्रामस्थल, सुचनापाटी, पर्यटकीय नक्सा, अतिथी गृहहरु निर्माण र संचालन गरिनेछ।
  • आबश्यक र सम्भाब्य क्षेत्रमा पर्यटन सूचना केन्द्र स्थापना, बोटानिकल पार्क र चिडियाखानाको निर्माण गरिनेछ । प्रत्येक गाउँपालिका र नगरपालिकामा कम्तिमा एक एकवटा मनोरञ्जन पार्क र बाल उद्यान केन्द्र निर्माण गरिनेछ ।
  • एक गाउँ एक उत्पादन, एक शहर एक पहिचानलाई प्रबद्र्धन गरिनेछ । दश युवा एक उद्यम कार्यक्रममार्फत सामुहिकरुपमा युवा बेरोजगारको संख्यालाई न्यूनीकरण गरिनेछ।
  • युवाहरूलाई रूपान्तरणका संबाहक र नेतृत्वका साझेदारको रुपमा विकास गर्दै सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रका समग्र जिम्मेवारी सम्हाल्न युवा नेतृत्व विकास गरिने छ । उद्यमशीलता वृद्धि गरी युवाहरूलाई स्वरोजगारतर्फ आकर्षित गरिने छ ।
  • उद्योगी ब्यवसायीहरुका लागि लगानीमैत्री वातावरण सिर्जना गरिनेछ । उद्योगहरु स्थापना र संचालनका लागि आबश्यक पर्ने सडक, पानी तथा बिजुलीको ब्यवस्थापनमा सहयोग गरिनेछ ।
(ङ) सूचना÷सञ्चार, सुशासन तथा संस्थागत विकास
  • जिल्लाका सबै नगरपालिकाहरुलाई स्मार्ट सिटीको रुपमा विकसित गरिनेछ ।
  • विद्युतीय शासन तथा सेवा प्रणालीलाई प्रबद्र्धन गरिनेछ । सबै व्यक्तिहरूमा सञ्चारको सुविधा पु¥याइनेछ । सबै नगर/गाउँ पालिकाहरूमा सूचना प्रविधिको सुविधा पु¥याइनेछ ।
  • सबै पालिकाहरुको नागरिक वडापत्र अद्यावधिक गरी हेल्प डेस्क र आन्तरिक लेआउटलाई सेवाग्राहीमैत्री बनाइनेछ । सबै पालिकाहरुको वेभसाइट तयार गरी सबै स्थानीय तहको विवरण सार्वजनिक गरिनेछ एवम् सबै प्रकारको बोलपत्रबाट हुने खरिद प्रक्रियामा इबिडिङको प्रक्रिया अनिवार्य लागू गरिनेछ ।
  • सबै पालिकाहरुले डिजिटाईज प्रोफायल तयार गरी आप्mनो क्षेत्र भित्र रहेका सम्पुर्ण घरधुरीहरुको विवरणलाई जिपिएस ९न्एक्० प्रणालीमा लिंक गरी सूचनाहरुलाई अद्यावधिक गरिनेछ । सबै पालिकाहरुमा सूचना केन्द्रको स्थापना गरी इ लाइब्रेरी समेत संचालन गरिनेछ ।
  • स्थानीय सञ्चार माध्यममा लैङ्गिक समानता, श्रमजीवी संचारकर्मीको पेशागत सुरक्षा तथा वृत्ति–विकासको सुनिश्चितता गरिनेछ । स्थानीय संचारमाध्यमहरुको क्षमता विकास गरी प्रभावकारी र बिश्वसनीय बनाइनेछ ।
  • प्रत्येक नगर÷गाउँपालिकामा सामुदायिक सूचना केन्द्र तथा एफ.एम रेडियो संचालन गरिनेछ ।
  • स्थानीय तहहरुबाट सम्पादन हुने हरेक आयोजना तथा कार्यक्रमहरुको सार्वजनिक परीक्षण, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण जस्ता कार्यहरुबाट पारदर्शिता एवम् स्थानीय सुशासन कायम गरिनेछ । गुनासो सुन्ने र समाधान गर्ने परिपाटीको विकास गरिनेछ । विकास कार्यहरुको ब्यवस्थित अनुगमन नीति तथा प्रणाली स्थापना गरी कार्यान्वयन गरिनेछ ।
  • ब्यवस्थित र योजनाबद्ध विकासका लागि समष्टिगत शहरी विकास योजना, भू उपयोग योजना, नगर÷गाउँ यातायात गुरुयोजना, स्थानीय विपद ब्यवस्थापन योजना, ब्यवस्थित आवास विकास योजनासहितको गुरुयोजना तर्जुमा र कार्यान्वयन गरिनेछ ।
  • जिल्लाका सबै नगरपालिकाहरुलाई बिश्वका बिभिन्न विकसित शहरहरुसँग भगिनी सम्बन्ध स्थापना गरी स्थानीय विकासका अनुभवहरु आदान प्रदान गरिनेछ ।
  • ७ वटै गाउँपालिकामा एक एक वटा नमूना बस्तीको विकास गरिनेछ ।
  • भुकम्पबाट घरबार नै गुमाएका बिपन्न परिवारहरुलाई भवन निर्माणको लागि थप अनुदान उपलब्ध गराउन पहल गरिनेछ। नक्सा निर्माण तथा नक्सापासका लागि लाग्ने शुल्क मिनाह गरिनेछ। भुकम्प प्रभावित परिवारहरुको पुर्नस्थापनाको लागि जीविकोपार्जन कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
  • विपद ब्यवस्थापनको लागि संस्थागत संरचनाहरु सुदृढ गर्दै संभावित बिपद् जोखिम पहिचान गरी पूर्वतैयारीको लागि आवश्यक कार्य गरिनेछ । आपतकालीन खोज, उद्धार तथा राहत र पुर्ननिर्माणका लागि आबश्यक प्रबन्ध गरिनेछ । आपतकालिन अवस्थामा बस्नको लागि खुला ठाउँ तथा सेल्टर हाउसहरुको ब्यवस्था गरिनेछ । दमकलको ब्यवस्था गरी आपतकालीन प्रयोगका लागि तयारी अवस्थामा राखिनेछ ।
  • औद्योगिक, पर्यटन, यातायात र निर्माण क्षेत्र लगायतका श्रमिकहरुको सामाजिक सुरक्षा तथा दुर्घटना बीमालाई अनिवार्य गरिनेछ ।
  • सशस्त्र द्वन्द्व तथा जनआन्दोलन लगायतका घटनाहरुमा प्रभावित परिवार तथा घाइतेहरुका लागि उचित पुनस्र्थापना र स्वरोजगारको ब्यवस्था गरिनेछ ।
  • भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलता नीति अवलम्बन गरी असल शासन र भ्रष्टाचार नियन्त्रणको लागि आवश्यक नीति, कानून र कार्यविधी बनाई सुशासन र सदाचारको अभियानलाई जिल्लाभरी नै प्रभावकारी रुपमा अगाडि बढाइनेछ ।
  • निर्बाचित पदाधिकारी तथा कर्मचारी प्रशासन संयन्त्रलाई सबल, सक्षम, समावेशी, जवाफदेही, सदाचारी, पारदर्शी र बित्तीय जोखिममुक्त बनाइने छ ।
  • निर्वाचित पदाधिकारीहरुको लागि आचारसंहिता बनाई लागू गरिनेछ । निर्वाचित भए लगत्तै र कार्यकाल समाप्त भएपछि अनिवार्य सम्पत्ति बिवरण बुझाउने कानूनी ब्यवस्था गरिनेछ । सम्पूर्ण कर्मचारीहरुको सम्पत्ति बिवरण बार्षिक रुपमा अद्यावधिक गरिने छ ।
  • वडा कार्यालयलाई नागरिकहरुको पहिलो र नजिकको सरकारको रुपमा विकास गरिनेछ । वडा कार्यालयहरुलाई भौतिक सुविधा सम्पन्न गरिदै लगिनेछ र आवश्यक जनशक्ति ब्यवस्थापन गरिनेछ । वडा कार्यालय तथा प्रत्येक सार्बजनिक निकायहरुमा नागरिक वडापत्र राखिनेछ।
  • प्रत्येक स्थानीय तहमा आबश्यक र उपयुक्त कानून, नियमावली, कार्यविधि तथा निर्देशिकाहरु तयार गरी जिल्लावासीहरुलाई सरल, सहज र प्रभावकारी सेवा प्रदान गरिनेछ ।
  • स्थानीय तहबाट सम्पादन हुने न्यायप्रणालीलाई सरल, सहज र सबैको पहुँचमा पुर्याइनेछ । सबै वडाहरुमा सामुदायिक मेलमिलाप केन्द्रको स्थापना, क्षमता विकास र परिचालन गरिनेछ ।
  • सार्बजनिकस्थल, सार्बजनिक सम्पत्ति एवम् संरचनाहरुको अतिक्रमणलाई पूर्णरुपमा रोक्दै थप पहिचान, अभिलेखीकरण तथा संरक्षण गरिनेछ ।
  • चेलीबेटी बेचबिखन, बोक्सीको आरोप, घरेलु हिंसा, यातना, संगठित अपराध, वालविवाह, चोरी, डकैती, छुवाछुत, लैंगिक हिंसा, यौनजन्य हिंसा, जबरजस्ती श्रम गराउने, बधुवा मजदुर, वालश्रम, अमानवीय दुब्र्यवहार अन्त गर्न आवश्यक पहलकदमी गरिनेछ । आपतकालीन अवस्थाको लागि आवश्यक सुरक्षा प्रणालीको ब्यवस्था गरिनेछ ।
  • प्रत्येक स्थानीय तहमा उपभोक्ता हित संरक्षणसम्बन्धी निकाय स्थापना गरी उपभोक्ता शिक्षा, सूचना र बजार अनुगमनको व्यवस्था प्रभावकारी ढङ्गले लागू गरिनेछ । सबै पसलहरूमा मूल्यसूची राख्न अनिवार्य गर्ने तथा मूल्य र गुणस्तरको नियमित अनुगमन गरिने छ ।
  • समृद्ध काभ्रेपलाञ्चोक निर्माणका लागि देहायका महत्वपुर्ण कार्यक्रम तथा आयोजनाहरुलाई जिल्ला गौरवका आयोजनाको रुपमा संचालन गर्न नेपाल सरकार तथा प्रदेश सरकार समक्ष प्रस्ताव गरेको छु ।
  • भौगोलिक, आर्थिक, सामाजिक, तथा पूर्बाधारका हिसाबले समेत उपयुक्त काभ्रेपलाञ्चोकलाई ३ नं. प्रदेशको राजधानी कायम गर्न ।
  • राजधानीदेखि जिल्ला सदरमुकामसम्म जोडिने ६ लेन सडक निर्माणको कार्य अबिलम्ब शुरु गरिनुपर्ने । उक्त ६ लेनको सडकलाई दोलालघाटसम्म बिस्तार गर्न ।
  • जिल्लामा कम्तिमा एक हजार सीट क्षमताको एक सुबिधासम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणका लागि बजेट विनियोजन गर्न ।
  • सुनकोशी, ईन्द्रावती तथा रोशी नदीबाट पानी लिफ्ट गरी क्रमशः पाँचखाल, मण्डन र भकुण्डे उपत्यकामा खानेपानी तथा सिंचाईको ब्यवस्थाका लागि आबश्यक बजेट विनियोजन गर्न।
  • नेपाल सरकारबाट शुरुवात गर्ने घोषणा गरिएको सुनकोशी तथा इन्द्रावती नदीको जलाशययुक्त बिद्युत आयोजनाबाट ५३६ मेगावाट विद्युत उत्पादन हुनसक्ने प्रारम्भिक सम्भाब्यता अध्ययनबाट देखिएको हुँदा उक्त परियोजनालाई राष्ट्रिय गौरबको योजनाको रुपमा पर्याप्त बजेट बिनियोजन गरी अगाडि बढाउन । उक्त आयोजनालाई सिंचाई, बिद्युत तथा पर्यटनको संयुक्त प्याकेजको रुपमा इन्द्रावती बहुद्देश्यीय परियोजनाको रुपमा अघि बढाउन ।
  • जिल्लाभित्र रहेका फलाम, तामा लगायतका धातुजन्य पदार्थहरुको खोजी र बिस्तृत अध्ययन अनुसन्धान र तीनको उपयोगका लागि आबश्यक कार्य अगाडि बढाउन ।
  • सार्वजनिक निजी साझेदारीको अवधारणामा मण्डन देउपुरमा कृषि अनुसन्धान केन्द्र तथा पाँचखालमा कृषि क्याम्पस स्थापना र संचालनका लागि आबश्यक कार्य अगाडि बढाउन ।
  • अर्धशिक्षित बेरोजगार युवाहरुलाई लक्षित गरी बहुप्राविधिक शिक्षालयको स्थापना र संचालन गर्न ।
  • बहुमूल्य जडीवुटी उत्पादन हुने स्थानहरुको पहिचान गरी जडीवुटी पकेटक्षेत्रको रुपमा स्थापना र विकास गरिनुपर्ने, महाभारत क्षेत्रमा जडिबुटी प्रशोधन केन्द्र स्थापना, संचालनका लागि आबश्यक कार्य अगाडि बढाउन ।
  • सामुदायिक वनको नमूना क्षेत्रको रुपमा रहेको भुम्लु, चौवास क्षेत्रमा अन्तर्राष्ट्रिय सामुदायिक वन अध्ययन केन्द्रको स्थापना गर्न ।
  • सबै नागरिकहरुमा स्वास्थ्य बीमाको सेवा पुर्याउन । प्रत्येक गाउँपालिकामा कम्तिमा १५ शैया तथा नगरपालिकामा कम्तिमा २५ शैयाको सुबिधासम्पन्न अस्पताल निर्माणका लागि पर्याप्त बजेट विनियोजन गर्न ।
  • धुलिखेल, पलाञ्चोक, नमोबुद्ध, बेथानचोक, सुलिकोट क्षेत्रमा केबुलकार संचालनका लागि सम्भाब्यता अध्ययन गरी कार्य अगाडि बढाउन ।
  • पनौती, नमोबुद्ध, पलाञ्चोक क्षेत्रलाई बिश्व सम्पदा सूचीमा सूचिकृत गर्नका लागि आबश्यक पहल गर्न ।
  • पाँचखाल सुख्खा बन्दरगाह निर्माण आयोजनालाई पर्याप्त बजेटको ब्यवस्था गरी निर्माण कार्यलाई तिब्रता दिर्ने, पाँचखाल क्षेत्रलाई चीनसँगको ब्यापारीक केन्द्रको रुपमा विकास गर्न ।
  • बनेपाको नागिडाँडामा शुरु भएको आन्तरिक विमानस्थल निर्माणको कार्यलाई तिब्रता दिन ।
  • जिल्लामा रहेको आइटी पार्कलाई पूर्ण संचालनमा ल्याउन तथा सार्बजनिक स्थलहरुमा फ्रि वाइफाई इन्टरनेट सुविधाको ब्यवस्थाका लागि आबश्यक बजेट विनियोजन गर्न ।
  • खोपासी जलविद्युत केन्द्रको पूर्ण क्षमतामा संचालनको ब्यवस्था गर्न ।
  • जिल्लाभित्र रहेका नाङ्गा डाँडाहरुमध्ये खानी क्षेत्रका लागि सम्भाब्य क्षेत्रहरुको पहिचान गरी मानवीय बस्ती, बनजंगल, खानेपानीका मुहानहरु नभएका क्षेत्रमा खानी उद्योगहरुलाई स्थानान्तरण गर्दै खानी उद्योगहरुको दिर्घकालीन ब्यवस्थापन गर्न ।
उपस्थित महानुभावहरु
जिल्ला समन्वय समितिले आयोजना गरेको यस समारोहमा प्रमुख आतिथ्यता ग्रहण गरी जिल्लाको नीति, कार्यक्रम तथा बजेट सम्बन्धमा महत्वपूर्ण सुझाव एवं मार्गदर्शन प्रदान गर्नुहुने माननीय सूचना तथा संचार प्रबिधि मन्त्रीज्यूप्रति हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गर्दछु ।
कार्यक्रममा सहभागी भइ हामीलाई हौसला प्रदान गर्नुहुने ब्यवस्थापिका संसदका माननीय सदस्यज्यूहरु तथा माननीय प्रदेश सभाका सदस्यज्यूहरु, जिल्ला समन्वय समिति महासंघका अध्यक्षज्यू, जिल्ला समन्वय समितिका उपप्रमुख लगायत सदस्यज्युहरु, नगरपालिकाका प्रमुखज्यूहरु तथा उप प्रमुखज्यूहरु, गाउँपालिकाका अध्यक्षज्यूहरु तथा उपाध्यक्षज्यूहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु । जिल्लाको समग्र विकास गतिविधीहरुमा सहयोग पु¥याउने नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल सरकारका अन्य मन्त्रालयहरु, विभाग तथा निर्देशनालयहरु, प्रमुख जिल्ला अधिकारीज्यू लगायत जिल्लास्थित सम्पूर्ण कार्यालयका प्रमुखज्यूहरु, दातृ निकायहरु, स्थानीय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु, सबै सञ्चार कर्मीहरु र संस्थाहरु, निजी क्षेत्र, नागरिक समाज लगायत सबै पक्ष, बर्गहरु र सम्पूर्ण काभ्रे जिल्लावासीहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै जिल्ला विकासका हरेक अभियानमा निरन्तर सहयोगको अपेक्षा गरेको छु ।
धन्यवाद ।                                                                                                                           
१८ आषाढ¸ २०७५

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।