काभ्रे । आर्थिक वर्षको अन्त्य हुँदै गर्दै काभ्रेको खानीखोला गाउँपालिकाले बनेपाको एक होटलमै कार्यालयको स्थापना गरी काम थालेको छ ।
असार मसान्तको अन्तिम समयमा आएपछि खानीखोला गाउँपालिकाले आर्थिक वर्ष २०७४।०७५ को बजेट सकाउनका लागि कामको अनुगमन नगरी बनेपास्थित च्याम्राङबेसी भोजनालय एण्ड खाजा घरको पहिलो तल्लामा कार्यालय सारी बजेट फछ्र्यौटतिर लागेका हुन् ।

बनेपाको च्याम्राङबेसी होटलमा गाउँपालिकाको कार्यालय

खानीखोला गाउँपालिकाले आफ्नो केन्द्र ताल्ढुंगाको कार्यालयलाई निष्क्रिय पार्दै बनेपामा कार्यालय स्थापना गरेको छ । बनेपास्थित च्याम्राङबेशी होटलमा भाडामा कोठाहरु लिँदै कार्यालय सञ्चालनमा ल्याएको हो ।

आर्थिक वर्ष ०७४÷०७५ को बजेट फछ्र्यौटमा हतारोमा रहेका खानीखोला गाउँपालिकाले बनेपामा कार्यालय खोलेर जसोतसो बजेट फछ्र्यौट गर्न लागि परेको देखिन्छ । चरम बेथिति र भ्रष्टचारका बीचमा खानीखोला गाउँपालिका अगाडि बढिरहेको चर्चा चलिरहेको बेला खानीखोलाले बनेपामा कार्यालय नै स्थापना गरेपछि त्यसमाथि झन् आशंका पैदा भएको स्थानीयको आरोप छ । पछिल्लो समय स्थानीय बुद्धिजीवी र राजनीतिक दलका नेताहरुले खानीखोलामा भ्रष्टचार र बेथिति बढेको आरोप लगाइरहेका छन् ।
खानीखोला गाउँपालिकाकी उपध्याक्ष रुकमिणी गुरुङले जनताको सेवा र सुविधाको लागि सदरमुकाम आएर काम गरेको दाबी गरिन् । ‘गाउँमा बैँक छैन, त्यसकारण सबै हिसाब किताब फछ्र्याैट गर्नका लागि सहरमा आएर सेवा दिन बाध्य भएको हो ।’ उनले भनिन् ।

खानीखोला वडा नं. २ का नासु केदार बास्तोलाले पत्रकारको जिज्ञासालाई बेवास्त गर्दै उल्टै थर्काउन समेत भ्याए ।
‘के यहाँ सोधीरहेको ? खानीखोला गाउँपालिका पुगेर हेर्नुस अनि हामी किन यहाँ बसेर काम गरेको थाहा पाउनु हुन्छ’ नासु बास्तोलाले भने, ‘अनि मात्रै समाचार लेख्नुहोस् । नत्र अनाबश्यक रुपमा समाचार लेख्ने होइन नि ।’
गाउँमा बैक नहुनु र सेवाग्राहीलाई सुविधा दिन नसक्नुका कारण आफुहरुले बनेपाको होटलमा आएर योजनाको कागजजात फछ्र्याैट गर्नु पर्ने बाध्यता रहेको उनले दावी गरे होटलमा सञ्चालन भएको खानीखोला गापाको कार्यालयमा पुगेर फोटो खिच्न खोज्दा फोटो खिच्न अनुमति नभएको बताए । पत्रकार भन्ने थाहा पाउने वित्तिकै बास्तोला कार्यालयबाट बाहिरीएका थिए ।
यसरी आर्थिक वर्ष सकिन नजिकीदै जाँदा गाउँपालिकाको योजनाहरु अनुगमन नगरी सदरमुकाम बसेर बिल र कागजको भरमा फछर्यौट गर्दा कुन योजनाले कति प्राथामिकता पाए यसको अनुगमन गर्ने निकाय को र कसले गर्ने ?

जनप्रतिनिधी र वडा सचिब अनुगमन विना नै फछ्र्यौट गर्ने हतारोमा

बनेपामा कार्यालय खोलेपछि खानीखोलाका कर्मचारीहरु पनि बनेपा आएका छन् । बनेपाबाट अहिले गाउँपालिकाका प्रमुख कृष्ण खुलाल र उपाध्यक्ष रुकमणी गुरुङ, १ नम्बर वडा सचिव र २ नम्बर वडा सचिव कामको अनुगमण विना नै बजेट फछ्र्यौट गर्ने हतारोमा छन् ।
कमिशनको चक्करमा गाउँपालिकाको टिम नै लागेको आरोप खेपिरहेका खुलालले कामको गुणस्तर नहेरिकनै धमाधम बजेट फछ्र्यौट गर्नुले उनको कार्यशैलमाथि समेत प्रश्न उठेको छ । अत्यन्तै गैरजिम्मेवार ढंगबाट अघि बढिरहेको भन्दै पार्टीभित्रै आलोचना खेपिरहेका खुलालले अहिले कानुनलाई समेत मिच्दै धेरै आयोजना फछ्र्यौट गर्न कर्मचारीलाई दबाब दिएको बताइन्छ ।
स्थानीय शेखर लामा खानीखोलामा भ्रष्टचार बढेको भन्दै त्यसका विरुद्ध जनता उठ्नुपर्ने बताउँछन् । आर्थिक वर्ष ०७५÷०७६ सालको बजेट ल्याउने तयारीमा लाग्नुपर्ने गाउँपालिका अध्यक्ष खुलाल अहिले कमिशनको निम्ति बनेपामा कार्यालय खोलेर हतारमा बजेट फछ्र्यौट गर्ने तयारीमा लागेको उनले आरोप लगाए ।

बजेट रोकिने डरले बोल्न मान्दैनन् उपभोक्ता समिति

गाउँबाट योजना सम्पन्न गरि वडा र गाउँपालिका कार्यालयमा पुगेका स्थानीय उपभोक्ता समितिले गाउँमै सेवा सुविधा नपाएपछि सास्ती खेप्नु परेको बताउँछन् । आफुहरु गाउँमै सम्पन्न भएको योजनाको फछ्र्याैट र बाँकी रकम लिन गाउँपालिका कार्यालय र वडा कार्यालयमा पुग्दा त्यही कार्यरत कर्मचारीले आफुहरुलाई सदरमुकाम जान आग्रह गरेको त्यहाँका एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा बताए । उनले भने, ‘के गर्नु हजुर मिडियामा नाम आयो भने हाम्रो काम हुँदैन बाध्य भएर बोल्न सकिरहेको छैन ।’

५ हजार गाडी भाडातिरेर योजना फछ्र्यौट

‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने नारा नारामै सिमित भएको खानीखोला गाउँपालिका तालढुंगाका रमेश लामा तामाङले बताए । सेवा सुबिधा गाउँमै दिनुको सट्टा गाउँपालिकाले बनेपामा आएर योजना फछ्र्याैट गर्दा गाउँका उपभोक्ता समितिलाई मार परेको बताउँछन् ।
खानीखोलाबाट सदरमुकाम आएर हिसाब फछ्र्याैट गर्दा प्रति व्यक्ति १० हजारले पनि नपुग्ने उनको भनाई रहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।