काभ्रे । नेपाली काँग्रेस काभ्रेले अनसनरत डा. गोविन्द केसी र गंगामाया अधिकारीको जीवन रक्षाको माग गर्दै बनेपामा प्रदर्शन गरेको छ ।
नेपाली काँग्रेस काभ्रेको स्वास्थ्य विभागले स्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै अनशन बस्दै आएका केसी र युद्धविरामपछि आफ्नो छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएको भन्दै गंगामाया अधिकारीको जीवन रक्षाको माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनको नेतृत्व नेपाली काँग्रेस काभ्रेका सभापति मधुप्रसाद आचार्यले गरेका थिए । ¥यालीमा करिब ४०–५० को संख्यामा नेपाली काँग्रेस काभ्रेका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
काँग्रेसले बर्तमान सरकार निरंकुश भएको आरोप लगाउँलै डा. गोविन्द केसी तथा गंगामाया अधिकारीको जीवन रक्षाको माग गरेको छ ।
पार्टी कार्यालय बनेपा गोदमचोकबाट निस्किएको बिरोध ¥याली चारदोबाटो, तीनदोवाटो हुदैँ पुनः चारदोबाटोमा आएर कोणसभामा परिणत भएको थियो । जिल्ला सभापति आचार्य लगायतका जिल्ला तहका नेताहरु, विभिन्न भातृसंगठनका नेताहरु तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
मेडिकल शिक्षाको व्यापारीकरण बन्द गर, डा. गोविन्द केसीको माग पुरा गर, दण्डहीनता र अन्याय चाहिँदैन, गंगा अधिकारीलाई मार्न पाइदैँन लगायतका प्ले कार्ड सहित नाराजुलुस गदै बनेपा बजार परिक्रममा गरिएको थियो । कोण सभामा काँगे्रस स्वास्थ्य विभाग प्रमुख दिनेश भुर्तेलले स्वास्थ्यमा भएको बेथितीको अन्त्यको माग गरेका थिए ।
नेपाली काँग्रेसका तत्कालीन सभापति स्वर्गिय सुशिल कोइरालाको नेतृत्वकै सरकार रहेका बेला गंगामायाका पतिको मृत्यु भएको थियो । त्यस्तै नेपाली काँग्रेसको नेतृत्वको चारवटा सरकार बनिसक्दा पनि हरेक पटक अनशन बसेका डा. गोविन्द के.सी.को माग भने काँग्रेसको कुनै पनि सरकारले सम्बोधन गरेको थिएन । नेपाली काँग्रेसले अहिले प्रतीपक्षमा रहेका बेला नियतवश के.सी.को मुद्दा उठाएको आरोप सर्वसाधारणले गर्न थालेका छन् ।






















