काभ्रे । काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १बाट निर्वाचित सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले अनसनरत डा. गोविन्द केसी नै अधिनायकवादी भएको आरोप लगाएका छन् ।

चौरीदेउराली गापाको आ.व. २०७५।०७६ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

‘सिंगो सदनले भनेको कुरा नहुने, डा. केसीले जे भन्यो संसदले त्यो मान्नुपर्ने ?’ सांसद बमध्वजले भने, ‘कुनै एउटा व्यक्तिले सरकारलाई वा सदनलाई निर्देश गर्न मिल्छ ? त्यसैले अधिनायकवादी गोविन्द केसीहरु हुन्, कम्युनिष्ट सरकार होइन ।’

कांग्रेसले गोविन्द केसीलाई काँधमा बोकेर सरकारको विरुद्ध उभिएको समेत सांसद बमध्वजले आरोप लगाए । ‘आफूलाई लोकतन्त्रवादी भन्ने कांग्रेसले डा. केसीलाई बोकेर ठिक गरेन ।’ उनले भने, ‘डा. केसी के सार्वभौम सदन भन्दा पनि माथि हो ? कांग्रेसले यसको जवाफ दिनुपर्छ ।’

जनतासँग गरेको बाचा विर्सेका छैनौं

प्रमुख अतिथि समेत रहेको सांसद बमध्वजले आफूरुहरुले निर्वाचनको बेला जनतासँग गरेको बाचा नविर्सेको बताएका छन् ।

‘निर्वाचनमा जनताको घर–घरमा पुगेर हामीले सम्बृद्धिको सपना बाँडेका छौं, यो हामीले विर्सेका छैनौं ।’ सांसद बमध्वजले भने, ‘जनताको हरेक समस्यासँग हामीले निर्वाचनमा भोट माग्दा साक्षत्कार गरेका छौं, हामीले गरेको प्रतिबद्धता कार्यन्वयन गरेरै छाड्छौं ।’

कोशीपारीका जनताले व्यहोर्नुपर्ने समस्याहरुको केन्द्रिकरण गर्दै प्राथमिकता र महत्वको आधारमा क्रमशः समाधान गर्दै लैजाने प्रतिबद्धता जाहेर गरे ।

जनताको अपेक्षा अनुरुपाको बजेट ल्याएको भन्दै चौंरीदेउरालीको विकास निर्माणको लागि आफू सदैव लागिरहने उनले बताए ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।