काभ्रे । प्रदेश ३ का सांसद रत्न ढकालले प्रदेशको नामकरण पहिचानको आधारमा हुनुपर्ने बताएका छन् ।

चौरी देउराली गाउँपालिकाको आर्थिक वर्ष २०७५।०७६ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद ढकालले उक्त करा बताएका हुन् । आफूहरु पहिचानको पक्षमा रहेको पनि सांसद ढकालले स्पष्ट पारे ।

‘प्रदेशको नामकरणको विषयले प्रवेश पाईरहेको छैन । हामी पहिचानका आधारमा नामकरण हुनुपर्छ भन्ने पक्षमा छौं ।’ सांसद ढकालले भने, ‘संघीयताको मर्म विपरीत नामकरण गर्न हामी दिन्नौं ।’

अरु प्रदेशहरुको नामकरण र बहस पहिचान विरोधी भएको उल्लेख गर्दै त्यो राम्रो नभएको स्पष्ट पारे । ‘अन्य प्रदेशहरुमा पहिचानको आधारमा नामकरण नगरेर संघीयताको मर्म विपरीत निर्णय गरेको छ ।’ ढकालले भने, ‘यो विषय राम्रो होइन । उत्पीडित जातिहरुको समस्याको सम्बोधन संघीयताले मात्र गर्ने भएकोले पहिचानको आधारमा नामकरण हुनुपर्छ ।’

राजधानी काभ्रेको विकल्प छैन

सांसद ढकालले प्रदेश ३ को राजधानी काभ्रेका विकल्प नरहेको बताए । सबै हिसाबले काभ्रे नै प्रदेशको राजधानी उपयुक्त रहेको उनले स्पष्ट पारे ।

‘काभ्रे सबैको जिल्लाको लागि उपयुक्त स्थान हो । यसको विकल्प खोज्नु नै हुन्न ।’ सांसद ढकालले भने, ‘दुईतिहाई भन्दा बढी सांसदहरु काभ्रेमा प्रदेशको राजधानी हुनुपर्छ भन्ने पक्षमा छन् ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।