नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले र्इंट्टा भट्टाको नविकरण, दर्ता र कर असुली बन्द गरेको स्पष्टोक्ति दिएको छ ।

सोमबार(असार ३२ गते) साँझ नगर प्रमुख टंकप्रसाद शर्मा (टिपी)ले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त स्पष्टोक्ति दिएका हुन् ।

‘यस नमोबुद्ध नगरसभाको प्रथम नगरसभाले पारित गरेको ‘आर्थिक ऐन–२०७४’ बमोजिम ईंट्टा भट्टाबाट असुली गर्नुपर्ने राजस्व असुलीका लागि प्रदान गरिएको प्रमाणपत्रलाई लिएर केही व्यवसायी तथा सरोकार वालाहरुले सामाजिक सञ्जालमा अतिरञ्जित ढंगले प्रचार–प्रसार गरेकोमा यस नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा लेखिएको छ, ‘प्रमाण पत्रको पछिल्तिर नविकरण मान्य अवधि आ.व. २०७४÷०७५सम्म मात्र भएकोले नविकरण भएको भ्रममा नपर्न सम्बद्ध सबैमा जानकारी गराईन्छ ।’

साथै नगरपालिकाको घोषित नीति बमोजिम आ.व. २०७५।०७६बाट कुनै पनि प्रकारको र्इंट्टा भट्टाको दर्ता, नविकरण तथा कर असुली समेत नहुने विज्ञप्तिमा उल्लेख छ ।

प्रमाण–पत्र दिएर बदमासी गरे

नगर प्रमुख शर्माले प्रेश विज्ञप्ति जारी गर्ने वित्तिकै आज (असार ३२ गते) नै ईंटा भट्टा दर्ता भएको प्रमाणपत्र सामाजिक सञ्जालमा आएको थियो । नगर प्रमुख शर्माले यसलाई बदमासीको संज्ञा दिएका छन् । बदमासीलाई छानविन गरेर कार्वाही समेत गर्ने उनले बताए ।

‘यो सब बदमासी हो, यो पूरै नीति विपरीत छ ।’ नगर प्रमुख शर्माले थपे, ‘चाँडै नै छानविन हुन्छ र दोषी माथि कार्वाही हुन्छ ।’

यता सामाजिक सञ्जालमा भने प्रमाण–पत्रको विषयलाई लिएर नगरपालिकाको विरोध गर्नेको संख्या धेरै देखिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।