काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संयुक्त अध्यक्षात्मक प्रणालीबाट सञ्चालन हुने भएको छ । आलोपालो अध्यक्षताबाट बैठक सञ्चालन गर्ने यसअघिको प्रस्तावित व्यवस्थाविपरीत अध्यक्षद्वय ओली र प्रचण्ड संयुक्त अध्यक्षताबाट पार्टी सञ्चालन गर्न सहमत भएका इनयाँपत्रिका डटकम मा समाचार छ । अब केन्द्रीय सचिवालय, स्थायी समिति, केन्द्रीय कमिटी बैठक संयुक्त अध्यक्षात्मक प्रणालीबाट चल्नेछन् ।

दुई अध्यक्षबीचको सहमतिअनुसार नै पार्टी विधान पारित भएको छ । मंगलबारको सचिवालय बैठकले विधान र नियमावली पारित गरेपछि महासचिव विष्णु पौडेलले छपाइका लागि प्रेसमा पठाउनुअघि बुधबार अध्यक्षद्वयसँग अन्तिम परामर्श गरे । ‘विधान र नियमावली दुवै सम्पादनको क्रम सकिएको छ, बिहीबारसम्म छपाइका लागि प्रेसमा पठाइनेछ,’ पौडेलले भने ।

यसअघि प्रत्येक बैठकमा दुई अध्यक्षले आलोपालो गरेर बैठकको अध्यक्षता गर्ने र त्यसक्रममा मर्यादाक्रम हेरफेर हुने गरी विधान तयार भएको थियो । जसले अध्यक्षता गर्छ, उसैको मर्यादाक्रम पहिलो नम्बरमा हुने प्रस्तावित व्यवस्थालाई परिवर्तन गर्दै अब नेकपाको हरेक बैठकमा दुवै अध्यक्षले संयुक्त अध्यक्षता गर्नेछन् ।

८८ जिल्ला कमिटी

नेकपामा भौगलिक र गैरभौगलिकसहित ८८ वटा जिल्ला कमिटी रहने भएका छन् । नयाँ विधानअनुसार ७७ जिल्ला कमिटी भौगलिक हुनेछन् भने ११ वटा गैरभौगोलिक कमिटी हुनेछन् ।

विधानअनुसार काठमाडौं उपत्यकाभित्र भूगोलका ३ र गैरभूगोलका ११ सहित १४ वटा जिल्ला कमिटी हुने भएको छ । भूगोलअन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुरमा कमिटी हुनेछन् । ७ वटा प्रदेश सम्पर्क समन्वय कमिटीहरूको हैसियत जिल्ला कमिटी सोसरह रहने हुँदा काठमाडौंमै क्रियाशील हुनेछन् ।

केन्द्रीय सदस्यलाई दुई ठाउँमा जिम्मेवारी

नेकपामा केन्द्रीय सदस्यहरूले केन्द्र र प्रदेश दुई ठाउँमा जिम्मेवारी पाउने भएका छन् । केन्द्रीय सदस्य रहेको व्यक्ति आफूले प्रतिनिधित्व गर्ने प्रदेशमा स्वतः प्रदेश कमिटी सदस्य रहने गरी विधान बनेको हो । यसअनुसार उनीहरूले केन्द्र र प्रदेश दुवैले तोकेको जिम्मेवारी पूरा गर्नुपर्नेछ । केन्द्रीय सदस्यहरूलाई प्रदेशभन्दा तलका जिम्मेवारीमा खटाइने गरी नियमावली तयार भएकाले अधिकांश केन्द्रीय सदस्यले जिल्ला र निर्वाचन क्षेत्रीय इन्चार्जको जिम्मेवारी पाउने एक सचिवालय सदस्यले बताए ।

एकले बैठक सुरु गरे अर्कोले समापन गर्ने

पारित विधानअनुसार संयुक्त अध्यक्षता प्रणालीअनुसार एउटा अध्यक्षले बैठक सुरु गर्नेछन् । त्यसपछि ब्रिफिङ गर्नेछन् । अर्का अध्यक्षले पनि ब्रिफिङ गर्न सक्नेछन् । तर, बैठक सुरु गर्ने अध्यक्षले समापन गर्नेछैनन् । समापन गर्ने जिम्मेवारी अर्को अध्यक्षलाई हुनेछ । नेकपाको पछिल्लो सचिवालय बैठक ओलीले सुरुवात गरेका थिए भने प्रचण्डले समापन गरेका थिए ।

विधानको व्यवस्थामा दुवैले वा आपसी सहमतिमा बैठकको अध्यक्षता गर्ने व्यवस्था राखिएको नेकपाको उच्च स्रोतले जनायो । यससँगै विधानमा दुवै अध्यक्षको बराबरी अधिकार स्थापित भएको छ ।

निर्णय र सर्कुलरमा पनि संयुक्त हस्ताक्षर

संयुक्त अध्यक्षात्मक प्रणालीलाई स्थापित गर्दै विधानले बैठकको निर्णयहरूमा दुवै अध्यक्षले हस्ताक्षर गर्ने र निर्णयपछिका सर्कुलरहरूमा पनि त्यसैगरी गर्ने व्यवस्था सुनिश्चित गरेको छ । ‘बैठकका निर्णयहरूमा दुवै अध्यक्षको हस्ताक्षर रहने वा आपसी सहमतिमा हस्ताक्षर हुने’ वाक्यांश राखिएको स्रोतले जनाएको छ । सर्कुलर पनि संयुक्त रूपमै जारी हुनेछन् ।

ओली र प्रचण्डसमेत चुनावबाट महाधिवेशन प्रतिनिधि

नेकपाको पारित विधानले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसमेत आगामी महाधिवेशनमा प्रतिनिधि बन्न सदस्यता रहेको क्षेत्रमा संगठित सदस्यहरूबाट निर्वाचित हुनुपर्ने भएको छ । महासचिव विष्णु पौडेलले पार्टीका पदाधिकारी, केन्द्रीय कमिटी सदस्यहरू हरेक कमिटीको अधिवेशन र महाधिवेशनमा प्रतिनिधि बन्न निर्वाचित बन्नुपर्ने विधानले व्यवस्था गरेको जानकारी दिए ।

यो व्यवस्थाअनुसार नेताहरू महाधिवेशन प्रतिनिधिमा पराजित भए केन्द्रीय तहमा उम्मेदवार बन्न वञ्चित हुनेछन् । सबै केन्द्रीय, प्रदेश र जिल्लाका अगुवा नेतालाई पार्टी कामप्रति जवाफदेही बनेर मात्र नेतृत्वमा स्थापित हुने प्रणाली बलियो बनाउन विधानमै त्यस्तो व्यवस्था गरिएको एक सचिवालय सदस्यले बताए ।

Comments

comments