काठमाडौं । कानून, न्याय तथा संसदीय व्यबस्था मन्त्री शेरबहादुर तामाङले तामाङ चलचित्रमाथिको कानूनी समस्याहरु समाधान गर्ने ‘घ्रान’ (कसम) खाएका छन् ।

तामाङ कथानक चलचित्र ‘घ्रान’ को जमाल नाचघरमा भएको च्यारीटी सोलाई सम्बोधन गर्दै मन्त्री तामाङले ‘घ्रान’ खाएका हुन् ।

‘म आजैकै मितिबाट प्रतिबद्धता जाहेर गर्छु कि तामाङ चलचित्र माथिको कानूनी समस्याहरु समाधान गर्छु ।’ उनले भने, ‘एक एक गरि अध्ययन गर्छु र समस्या समाधान गरेरै छाड्छु ।’

कार्यक्रममा तामाङ चलचित्र संघका अध्यक्ष जेनिस दोङले तामाङ चलचित्रमाथि विभेद गरेको बताएका थिए । विभिन्न कानूनी प्राबधान देखाउँदै तामाङ चलचित्रको सेन्सर गर्नै नमानेको दुखेसो पोखेका थिए । ‘तामाङ चलचित्रको सेन्सर गर्नै गाह्रो मान्छन् ।’ उनले भने, ‘विभिन्न कानुनी प्राब्धनहरु देखाउँदै आनाकानी गर्छन् ।’

दोङले यी समस्याहरु कानूनी रुपमा हल गर्न मन्त्री तामाङलाई अनुरोध गरे । तामाङ चलचित्रको लागि नेपालका सबै फिल्म हलको ढोका बन्द रहेको बताउँदै दोङले तामाङ चलचित्रको लागि पनि ढोका खुल्ला गराउन कानून मन्त्री तामाङलाई विशेष अनुरोध समेत गरे ।

तामाङ चलचित्र ‘घ्रान’ (कसम) प्रदर्शन अगावै चर्चामा रहेको थियो । गीतसँगीत र दमदार ट्रेलरका कारण चलचित्रले थप चर्चा पाएको हो । तामाङको मौलिक भाषा तथा सँस्कृति र तामाङ समुदायकै कथामा आधारित ‘घ्रान’ नेपाली चलचित्रजस्तै मेन स्ट्रीम चलचित्रको स्वाद दिने गरी छायाँकन गरिएका आकर्षक दृश्य, उच्चतम प्रविधि र उत्कृष्ट प्लटमा तयार पारिएको चलचित्रले तामाङ चलचित्रको परम्परागत शैलीलाई नै परिवर्तन गर्न सक्ने खालको रहेको छ ।
चलचित्रको प्रदर्शनमा चलचित्रकर्मी, पत्रकार, बुद्धिजीवि, चलचित्र समिक्षकका साथै दर्शकहरुको सहभागीता रहेका थिए ।

चलचित्रलाई ओखलढुङ्गाको मूलखर्क गाउँमा खिचिएको छ । देशमा राजनीतिक परिवर्तन भएता पनि थुप्रै ग्रामिण क्षेत्रमा सामन्ती प्रवृत्ति भएको भन्दै त्यही ज्यादतीको बाध्यात्मक उपचारलाई कलामार्फत प्रस्तुत गरिएको नायक घिसिङको तर्क छ । नेपाली भाषामा समेत डबिङ गरी अल नेपाल रिलिजको तयारी गरिएको चलचित्रको लागत डबिङ गर्दासम्म करिब ४० लाख पुगेको बताइएको छ ।

चलचित्रमा नायक सागर घिसिङसँगै नायिका सुष्मा मोक्तान, विकास स्याङ्तान, सुकुमाया मोक्तान, शम्भु घिसिङ, सुनिता थिङ,पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ, रामचन्द्र तामाङ, कर्मा घिसिङ, कुन्साङ तामाङ, योगेश मोक्तान, सरोज तामाङ, प्रशान्त तामाङका साथै अन्य कलाकारहरुको समेत अभिनय रहेको छ ।

त्यसैगरि चलचित्रमा अमृत लामा र सागर घिसिङको कथा छ । चलचित्रलाई राम घिसिङ, शम्भु घिसिङ, र सागर घिसिङले निर्माण गरेका छन् । त्यस्तै निर्देशन जनक गुरुङले गरेका छन् । चलचित्रको छायांकन बिक्रम लामा र सम्पादन बज्र न्यासुरले गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।