दोलखा । जिल्लामा एक वर्षको भित्रमा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढी देखिएको छ ।

एक वर्षको अवधिमा ६२ जनाले आत्महत्या गरेको तथ्य सार्वजनिक भएकोमा ४७ जनाले झुण्डिएर आत्महत्या गरेको हो ।

प्रहरीका अनुसार दोलखामा आर्थिक वर्ष २०७४÷७५ को एक वर्षको अवधिमा ६२ जनाले आत्महत्या गरेकोमा ४७ जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने १५ जनाले विष सेवनगरी आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सबैभन्दा बढि पुरुष रहेका छन् । एक वर्षको अवधिमा ४२ पुरुषले आत्महत्या गरेका छन् भने १२ महिला, ६ बालक र २ बालिकाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

विगतका आर्थिक बर्षमा आत्महत्या गर्नेमा महिलाको सख्या बढि हुने गरेपनि गत आर्थिक बर्ष महिलाको तुलनामा झण्डै ४ दोव्वर बढि पुरुषले आत्महत्या गरेका छन् ।

पारिवारिक तनाव, कुलत, मादक पदार्थ सेवन, कमजोर मानसिक तथा आर्थिक अवस्था लगाएतका कारण आत्महत्याका घटनामा वृद्धि भएको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) वाशुदेव पाठकले जानकारी दिए । उनका अनुसार परिवारबाट उचित हेरबिचार नपाउँदा अपहेलित भई वृद्धवृद्धाले समेत आत्महत्या गर्ने गरेका छन् । एक बर्षको अवधिमा ६ जना बृद्धबृद्धाले आत्महत्या गरेका छन् । दोलखा जिल्लामा एक वर्षको अवधिमा भवितव्य ज्यान सम्बन्धि २९, सवारी ज्यान १४, वेवारिसे ज्यान, फुटकर ज्यान र कर्तव्य ज्यान सम्बन्धि ४÷४ वटा मुद्धा दर्ता भएको प्रहरीको तथ्यांक छ ।

दोलखा प्रहरीमा मुद्दा दर्ताको संख्यामा पनि बृद्धि भएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्यांक हेर्दा जिल्लामा गत आर्थिक बर्ष सवैभन्दा बढी मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७४÷७५ मा २ सय ५१ वटा अपराधिक घटनाको मुद्दा दर्ता भएको छ । यसअघि गत आर्थिक वर्ष २०७३÷७४ मा १ सय ८९ वटा र अघिल्लो आर्थिक वर्ष २०७२र७३ मा १ सय ७३ वटा मुद्धा दर्ता भएको थियो । दोलखामा बलत्कारको घटनामा पनि कमी आउन सकेको छैन ।

विगतको तुलानामा बलत्कारको घटना केही कम भएपनि उल्लेख्य रुपमा भने कमी आउन नसकेको हो । आर्थिक वर्ष २०७४÷७५ मा १२ वटा जवरजस्ती करणीको घटना दर्ता भएका छन् । यसअघि अघिल्लो आर्थिक वर्ष २०७३÷७४ मा १० वटा र २०७२÷७३ मा १४ वटा जवरजस्ती करणीको घटना दर्ता भएका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।