नुवाकोट । जिल्लाको विदुर नगरपालिकाका एक हजार पाँच सय घरधुरी खानेपानीबाट बञ्चित भएका छन् ।

पहिरोले खानेपानीको पाइप बगाउदा यहाँका उपभोक्ताहरु एक हप्ता देखि खानेपानीबाट बन्चित भएका हुन् । असार ३० गतेको वर्षाका कारण पहिरो जाँदा पाईपमा क्षति पुगेको थियो ।

रसुवाको पैरेबेँसीस्थित त्रिशूली खोलाबाट ल्याइएको पानी विदुर नगरपालिका–१० भैंसे, तिरतिरे भीरमा पहिरोले पाइप बगाएको कारण वितरण गर्न नसकिएको विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नारायणबहादुर खनालले बताए ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक स्तरोन्नतिका क्रममा भित्तो काटिएका स्थानमा अविरल वर्षाको कारण पहिरो निरन्तर खस्दा पानी ल्याउन समस्या भएको विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कार्यालय सचिव नवराज न्यौपानेले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।