तेमाल । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. २ ल्हप्सेमा रहेको सरस्वती प्राविका अध्यक्ष ज्यामयाङ लामाले विद्यालयलाई कमाउने थलोको रुपमा प्रयोग गर्दै आएको खुलासा भएको छ ।
जिल्ला शिक्षा कार्यालयको सहयोगमा विद्यालय भवन पूनर्निर्माण गर्ने क्रममा भ्रष्टचार गरेको आरोप लगाएपछि उनको कालो कर्तुतको खुलासा भएको हो । उनी विगत १७ वर्षदेखि त्यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुँदै आएको छ ।
स्थानीय ज्ञान्जा लामाका अनुसार उनले अनियमितता गरेपछि जिल्ला प्रशासन कार्यालय, धुलिखेलमा उजुरी समेत दर्ता गरेको छ ।

यसरी खुल्यो रहस्य

भूकम्पले गर्दा क्षति भएको विद्यालय भवन पुनर्निर्माणका लागि आर्थिक वर्ष २०७४।०७५ मा जिल्ला शिक्षा कार्यालय काभ्रेबाट तीन कोठे भवन निर्माणको लागि ३१ लाख ८ हजार ५१ रुपैयाँ बजेट विनीयोजन गरेको थियो ।
विव्यसका अन्य सदस्यहरुले विव्यसले नै भवन निर्माण गर्ने भनिएकोमा ज्यामयाङले बेवास्त गर्दै आएका थिए । विव्यसका एक सदस्यका अनुसार बैठक बोलाउनुको सट्टामा तेमाल–५ निवासी प्रदीप तामाङ नामको ठेकदारसँग मिलेर काम शुरु गरेका थिए ।
यो आर्थिक वर्षमा काम सम्पन्न गर्नुपर्नेमा विद्यालय भवन निर्माण अलपत्रमा पारेको उनले बताए ।
भवन निर्माणको लागि तत्कालिन जिल्ला शिक्षा कार्यालय (हाल जिल्ला शिक्षा समन्वय इकाई) ले पहिलो किस्ता स्वरुप ७ लाख ५० हजार रकम विद्यालयको खातामा हालेको थियो ।  खातामा पैसा नदेखेपछि ज्यामयाङले भ्रष्टचार गरेको रहस्य खुलेको हो ।

अलि अलि सम्याएको भरमा रकम च्वाट

विद्यालय भवन निर्माणस्थलमा अलि अलि सम्याएकै भरमा रकम सिध्याएको विव्यस सदस्यहरुको आरोप छ ।
‘पहिलो चरणमा उक्त रकमले भवनको डिभिसी र ट्रास उठाउनुपर्ने थियो तर जग समेत नखनी सम्याएको भरमा पैसा सकाए छ ।’ स्थानीय ज्ञान्जा लामाले भने, ‘यसरी सिधै भ्रष्टचार गर्न कहाँबाट पाउँछ ?’

बैठक बोलाउन अनुरोध गर्दा धम्की

विद्यालयको हिसाव किताब माग गर्न अभिभावक भेला बोलाउन अनुरोध गर्दा उनले उल्टै धम्की दिन थाले । ‘धेरै पटक भन्यौ हामीले कि भेला बोलाउ । तर उनले कहिल्यै पनि मानेन् ।’ स्थानीय एक अभिभावकले भने, ‘भ्रष्टचार नगरेको भए उसले किन नमानको छ भोला बोलाउन ?’
विद्यालयकोबारेमा ज–जस्ले कुरा उठायो उसकोे खुट्टा भाँच्ने धम्की दिएको बुझिएको छ ।
अभिभावकहरुले ज्यामयाङलाई हटाएर विद्यालय व्यवस्थापन समितिको निर्वाचन गर्न माग समेत गरेका छन् ।

ज्यामयाङको अनियमितताको श्रृंखला

उनले १७ वर्षको अवधिमा धेरै नै भ्रष्टचार गरको आरोप अभिभावकहरुले गरेका छन् ।
२०६१ सालमा सीसीएस नेपाल नामक संस्थाले विद्यालय सुधारको लागि २ लाख ५३ हजार रकम विद्यालयलाई हस्तान्तरण गरेको थियो । उक्त रकम पनि २ लाख आफूले राखेर बाँकी ५३ हजार विद्यालयको प्रधानाध्यापकलाई दिएका थिए ।
तत्कालीन माओवादी पार्टीले सञ्चालन गरेको जनसरकारमा उजुरी परेपछि उनलाई कार्वाही समेत गरेको थियो । स्थानीयसँग माफी माग्दै जनसरकारले रकम फिर्ता गर्न निर्देशन दिएपछि रकम फिर्ता गरेको बुझिएको छ ।
त्यसैगरि २०६६ सालमा कालीमाटी–ल्हाप्से–भञ्ज्याङ ग्रामिण सडक निर्माणको लागि बनेको उपभोक्ता समितिका अध्यक्ष आफै बनेर धेरै रकम भ्रष्टचार गरेको स्थानीयले बताए ।
७ लाख ५० हजार बजेट रकम मध्य ९५ हजार रुपैयाँको मात्र काम गरेर बाँकी पैसा आफैले लिएको उनीहरुको आरोप छ । ५ वर्षसम्म पनि सर्वजनिक सुनुवाई नगरेपछि स्थानीयले भेलामा समातेर ल्याएर उनीसँग स्पष्टीकरण लिएपछि उनले २ लाख ५४ हजार रकम फिर्ता गरेका थिए ।
त्यति मात्र होइन २०७० सालमा सांसद विकास कोषबाट सोही सडकको लागि ३ लाख रकम विनियोजन भएकोमा उनले शिर्षक नै परिवर्तन गरेर आफ्नो घरसम्म बाटो खनेका थिए । त्यस बेला पनि उनले करिब १ लाख ५० हजार भन्दा बढी रकम भ्रष्टचार गरेको स्थानीयको आरोप छ ।

उता यस विषयमा विव्यस अध्यक्ष ज्यामयाङसँग ९८४१०५७३१३ मा सम्पर्क गर्दा उनको फोन लागेन ।

स्थानीयलाई यसरी धम्क्याए ज्यामयाङले लो सुन्नुहोस् अडियोः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।