राजकुमार गोले
काभ्रे । काभ्रेको बनेपा नगरपालिका–७ स्थित चारदोबाटो चोकमा सोमवार दिउँसो टिपरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुनिलजंग शाहले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा नमोबुद्ध नगरपालिका–७ का ५७ वर्षीय जित बहादुर तामाङ रहेका छन । बनेपाबाट धुलिखेलतर्फ गईरहेको बा २ क ३९३४ नम्बरको टिपरले सोही दिशातर्फ गईरहेको बा८३प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको र मोटरसाइकल चालक घाइते भई उपचारको क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए ।

आक्रोशित स्थानीयले टिपर जलाए
घटना घटेलगतै आक्रोशित भिडले टिपरमा आगो लगाएको र टिपर पूर्ण रुपमा जल्नुका साथै भिडले चारदोबाटो चोकमा रहेको प्रहरी बिटमा समेत क्षति र्पुयाएका छन् । प्रहरीले दमकलको सहायताले टिपरमा लागेको आगो निभाएको थियो। प्रहरीका अनुसार टिपर र चालक नुवाकोट विदुर नगरपालिका–१ बस्ने वर्ष २९ का सुधन श्रेष्ठ तथा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
टिपर सञ्चालनमा रोक लगाउने चेतवानी
जिल्लाको विभिन्न ठाउँमा टिपरका कारणले अकालमै ज्यान गुमाउनु परेको भन्दै आक्रोशित स्थानीयहरुले टिफर सञ्चालनमा रोक लगाउने चेतवानी दिएका छन् ।

प्रत्यक्षदर्शी बिशाल तामाङले भने,‘गाडी चालकले घाइत अवस्थामा रहेको मोटरसाइकाल चालकलाई पछाडी ब्याग गरेर किचेर मारेको भन्दै आक्रोशित स्थानीयहरुले यस्तो चेतवानी दिएका हुन् । म चारदोबाटाबाट धुलिखेलमा जान गाडी चढने तयारीमा थियो एक्काशी ठूलो अवाज आयो हेर्दा दुर्घटना भएको रहेछ मोटरसाइकल चालक घाइते अवस्थामा थियो पछि ब्याग ल्याएर किचेर मा¥यो ।’
एक वर्षमा दुर्घटनामा ६५ जनाको ज्यान गयो
जिल्ला ट्राफिक कार्यालय काभ्रेको तथ्याङकमा एक वर्षमा ६५ जनाले सवारी दुर्घटना ज्यान गुमाएका छन भने त्यस मध्ये २७ जना टिफरले ठक्कर दिएकै कारणले ज्यान गुमाएका छन् ।

जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रहरी नायब निरिक्षक राजेश कुमार दाहालले सडक पूर्वाधारदेखि चालकको लापर्बाहीसम्म धेरै कारणहरु दुर्घटनासँग सम्बन्धीत रहेको बताए । यसको न्यूनिकरणका लागि सचतनाका कार्यक्रमहरु धेरै भन्दा धेरै गर्नलाई सुजाए । सडक दुर्घटनापछि स्थानीयले बिपी राजमार्गमा पर्ने भकुण्डेबेसीमा टायर बालेर सडक अवरोध गरे । सडक अवरोधका कारण यातायात ठप्प रहेको छ । जसका कारण ३ नम्कर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बिच बाटोमा अलपत्र परेका थिए । उनी अहिले मंगलटार प्रहरी चौकीमा रहेका छन ।






















