काठमाण्डौं । नेपाल राष्ट्रिय तामाङ घेदुङ केन्द्रिय समितिले पाँच जना क्यान्सर तथा मृगौला पिडितहरुलाई सहयोग रकम हस्तान्तरण गरेको छ । घेदुङले एक कार्यक्रम विच मंगलवार ५ जना क्यान्सर तथा मृगौला पिडितलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।
संस्थाले इजरायल घेदुङबाट विरामीको उपचारमा सहयोग स्वरुप उपलब्ध रकम मध्य इलामका समिर गोले तामाङलाई एक लाख , नुवाकोटका सुनिल घलेलाई ८० हजार , मकवानपुरका अमिन तामाङलाई ८० हजार , धादिङका पासाङ नोर्वु तामाङलाई ८० हजार र नुवाकोटका गणेश तामाङलाई ८० हजार गरि सहयोग स्वारुप रकम हस्तान्तरण गरेको हो ।
उपचारको लागि सहयोग रकम हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि देव कुमार लामा , विशेष अतिथि पूर्व उद्योग राज्य मन्त्री रेशम लामाले हाल समाजमा ब्याप्त विभिन्न रोगहरुको तथा विरामीको उपचारका लागि सवैले एक जुट हुनु पर्ने बताउनुभयो । आगामी दिनमा राज्यले नै यस्ता रोगको सवालमा निशुल्क उपचारको ब्यवस्था गर्नू पर्नेमा उहाँहरुले जोड दिनुभयो ।
कार्यक्रममा विरामीको सहयोग गर्नुका साथै हालै सह अनुसन्धान निर्देशकमा बढुवा हुनु भएका इन्द्र लामालाई सम्मान तथा बधाई ज्ञापन समेत भएको थियो ।
कार्यक्रमको सभापतित्व गरि रहनु भएका वीर वहादुर योञ्जनले संस्थाको साँस्कृतिक भवन निर्माण संग संगै समूदायमा भएका विरामीको उपचारमा सहयोग गर्नुहुने सहयोगीमनहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताउनुभयो । घेदुङले आफु संग प्राप्त भएको रकम मध्य तीन हजार आपतकालिन कोषमा राख्दै अन्य रकम भने विरामीहरुलाई नै हस्तान्तरण गरेको हो ।






















