काभ्रे । पनौती नगरपालिका–७ मल्पीकी ५८ वर्षीया तिलकुमारी देउजाको हत्यामा संलग्न रहेका दुई युवालाई प्रहरीले सार्वजनिक गरेको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्काले दिएको जानकारी अनुसार सिन्धुपाल्चोकका सुनखानी गाउँपालिका सन्तोष थामी र खाँडादेबी गाउँपालिका–७, रामेछापका राजबहादुर थामीले लुटपाटपछि हत्या गरेका थिए ।

मदिरा सेवन पछि तिलकुमारीको हत्या

प्रहरीका अनुसार राजबहादुर थामी तिलकुमारीको घरमा डेरा गरी बस्थे । तिलकुमारीको पसलमा सन्तोष एक दिन खाजा खाना आएका थिए । राजबहादुर र सन्तोषले लुटपाट गर्ने योजना बनाए । असार २१ गते मृतक तिलकुमारीको पसलमा सन्तोष, राजबहादुरसँगै बसेर राती अबेरसम्म घरेलु मदिरा सेवन गरेका थिए ।

रात धेरै परेकोले मृतक तिलक कुमारी देउजाले घरको माथिल्लो तलामा सुत्न जान्छु भनि गएको बेला उनीहरु दुईजनाले हत्या गरेको योजना बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ । त्यसपछि राजबहादुर र सन्तोष दुवैजनाले देउजासँग धेरै सम्पत्ति भएकोले सम्पत्ति दुवैजनाले बाँडी लिने योजनाका साथ तिलकुमारी सुत्ने कोठामा पुगेका थिए । मदिराले मातिसकेको तिलक कुमारीको एकजनाले घाँटीमा र एकजनाले खुट्टामा थिचेर हत्या गरेको प्रहरीको अनुसन्धामा खुलेको एसपी खड्काले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यसरी पक्राउ परेको थियो हत्यारा

नियमित मापसे चेकिङका लागि ट्राफिक प्रहरी साँगामा परिचालन भएको थियो । प्रहरीका अनुसार अरनिको राजमार्गको बनेपा तर्फबाट एउटा बाइक अत्याधिक गतिमा साँगातर्फ आयो । बनेपातर्फ आएको बाइक प्रहरीले चेकिङका लागि रोक्यो ।

पछाडि बसेका खाडादेबी गाउँपालिका २६ वर्षीय राजबहादुर थामी बाइकबाट झरिहाले । बाइक चालक सुनकोसी गाउँपालिका–७ रामेछापकै सन्तोष थामीले जवरजस्ती बाइक लछार–पछार पार्दै भागे ।

पक्राउ परेका राजबहादुर र सन्तोष थामीको सामा बरामत गरेको पैसा

बाइकमा रहेका राजबहादुरलाई प्रहरीले इलाका प्रहरी कार्यालय बनेपामा ल्याएर जेकजाँच गर्ने क्रममा उनका साथबाट सुनको सिक्री, झुम्का, पुराना नोट, तीन किलो जति सिक्का पैसा, तीनवटा मोवाइल भेटियो ।

सोही आधारमा प्रहरीले मल्पी पुगेर तिलकुमारीको घरमा हेर्दा, उनीहरुले लुटेर, हत्या गरी भागेको खुलेको थियो । प्रहरीले नियमित चेकिङ गर्दा शंका लागेपछि थप बुझ्न खोज्दा सन्तोष भागेपछि राजबहादुरसँग लिएको बयान र उनीहरुको साथबाट तिलकुमारीको नागरिकता भेटिएको पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रहरीले मापसे मात्रै होइन, शरीर पनि सर्च गर्दा थाहा हत्यारा पत्ता लागेको प्रहरीले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।