हेटौंडा । मकवानपुरका विभिन्न सार्वजनिक स्थानहरु महिला मैत्री नभएको अध्ययनले देखाएको छ ।
अध्ययनका अनुसार लागुऔषध सेवनकर्ताहरुका कारण आफूहरुले सार्वजनिक स्थलहरुमा असुरक्षित महसुस गर्न परेको हर्नामाडी र बसामाडीका महिला र किशोरीहरुले बताएका छन् ।
एक अध्ययनका क्रममा अधिकांश महिला तथा किशोरीहरुले आफूहरु मदिरापान तथा लागुऔषध सेवन गर्ने मानिसहरुका कारण साँझ बिहान डराईडराई हिँड्ने गर्नुपरेको बताएका हुन् ।

‘सार्वजनिक स्थानहरु कत्तिको महिलामैत्री छन्’ भन्ने विषयमा जानकारी लिने उद्देश्यले केही समयअघि मकवानपुर महिला समूहले यस विषयमा अध्ययन गरेको थियो । यि दुई स्थानका किशोरी समूह परिचालन गरी गरिएको अध्ययनमा छात्राहरु बिहानै स्कूल जाँदा वा साँझ फर्केर आउँदा लागुपदार्थ सेवन गर्ने मानिसहरुले पिछा गर्ने, जिस्काउने, अपशब्द प्रयोग गर्ने लगायतका हैरानी व्यहोर्ने गर्नुपरेको बताएका थिए ।
यस्ता समस्याका कारण एक्लै हुँदा बरु स्कूल नै नजाने भन्दै कतिपय छात्राहरु कक्षा छोड्ने गरेको कुरा अध्ययनकर्ताहरुलाई बताएका छन् ।
साथै यि स्थानहरुका सार्वजनिक सेवा प्रवाह हुने कार्यालय र स्थानहरु, बसपार्क, बजार, पार्क, चोक–चौतारा जस्ता मानिसहरुको भीड हुने क्षेत्रहरुमा अध्ययन गरिएको थियो ।
अन्तरवार्ता, समूह छलफल र सुरक्षित पदयात्रा जस्ता विधि अपनाई अध्ययन गरिएको थियो । अध्ययनबाट महिला र किशोरीहरु दिउँसोको समयमा खासै हिँसा भोग्नुपर्ने अवस्था नभएपनि साँझ, बिहान भने यस्तो समस्या बोक्नुपर्ने बताएका छन् ।
वडा अध्यक्षलाई ज्ञापन पत्र
अध्ययनबाट प्राप्त तथ्यका आधारमा दुई वडाका अध्यक्षहरुलाई ९ बुँदे मागपत्र पेश गरिएको छ । हेटौंडा उपमहानगरपालिका–१९, का अध्यक्ष नरनाथ सुवेदी (नवराज)लाई अध्ययनबाट प्राप्त तथ्य सहितको मागपत्र बुझाउँदै मकवानपुर महिला समूहकी अध्यक्ष इश्वरी बानियाँले आफ्नो वडाका सार्वजनिक स्थान महिलामैत्री बनाउन वडा अध्यक्षसमक्ष आग्रह गरेकी हुन् ।

कार्यक्रममा वडाअध्यक्ष सुवेदीले यस्ता विषय वडाको पनि चासोका विषय भएको भन्दै समस्या समाधानमा लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । दशैंसम्ममा वडाका संवेदनशील क्षेत्रहरुमा बत्तीको व्यवस्था गर्ने, भित्री बजार क्षेत्रमा सिसि क्यामराको व्यवस्था गर्ने र टाढा टाढाबाट पढ्न आउने विद्यार्थीलाई छात्रबासको व्यवस्था गर्ने योजना रहेको अध्यक्ष सुवेदीले जानकारी दिए ।
कार्यक्रममा वडा सदस्यहरु शान्ति विश्वकर्मा, इन्दिरा तामाङ, मकवानपुर महिला समूहकी सामाजिक परिचालक विष्णु तितुङ, किशोरी समूहकी सदस्य पूजा वि.क लगायत सहभागी थिए ।
त्यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष अनिलकुमार बानियाँलाई अध्ययनबाट प्राप्त तथ्यसहितको मागपत्र बुझाउँदै मकवानपुर महिला समूहकी कार्यक्रम संयोजक निशा लामाले सार्वजनिक स्थान महिलाको पनि हो भन्ने महसुस गराउने दायित्व जनप्रतिनिधिको भएकाले यसतर्फ ध्यान दिन वडा अध्यक्षलाई आग्रह गरेकी हुन् ।
मागपत्र बुझ्दै अध्यक्ष बानियाँले यस विषयमा आफू सकारात्मक भएको प्रतिक्रिया दिए । छात्राहरुलाई पढ्न आउन टाढा भयो भनेर होस्टल चलाउने तयारीमा रहेको उनले बताए ।
साथै, कोही छात्राले कुनैपनि दिन कक्षा छोड्नु नपरोस् भन्ने उद्देश्यले आफूले विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरेको अध्यक्ष बानियाँले बताए ।
कार्यक्रममा मकवानपुर महिला समूहकी १८ नम्बर वडास्थित सामाजिक परिचालक जुना दंगालले आफूहरुले यस क्षेत्रमा समूह मार्फत गरेको कामहरुका बारेमा जानकारी गराइन् ।
सार्वजनिक स्थानमा महिला सुरक्षाको अवस्थाबारे बुझ्दै महिलामैत्री सार्वजनिक स्थानको विकास गर्ने उद्देश्यका साथ एक्सन एडको सहयोगमा मकवानपुर महिला समूहले अध्ययन गरेको हो । अध्ययनले स्थानीय तहलाई महिलामैत्री बनाउन सहयोग पुग्ने अपेक्षा लिइएको मकवानपुर महिला समूहकी कार्यक्रम संयोजक निशा लामाले बताइन् ।






















