काभ्रे । प्रदेश ३ का प्रदेशसभा सदस्य चन्द्र लामाले प्रदेश ३ को नामाकरण नेवा–ताम्सालिङ हुनुपर्नेमा जोड दिएका छन् । तेमाल अनलाईनको जिज्ञासामा सांसद लामाले उक्त कुरा बताएका हुन् ।

पहिचानको आधारमा नामाकरण

प्रदेश सांसद लामाले प्रदेश ३ को नामाकरण पहिचानको आधारमा हुनुपर्ने बताए । ‘विगतमा पनि करिब करिब नेवा–ताम्सालिङ कै नजिक पुगेको हो ।’ उनले भने, ‘नामाकरण मात्रै भएपनि पहिचानको आधारमा गर्न पाए हुनेथ्यो ।’ सांसद लामाका अनुसार आफूहरु प्रदेश ३ को नामाकरण नेवा–ताम्सालिङ हुनुपर्नेमा लागेको बताए ।

प्रदेश राजधानी काभ्रेको विकल्प छैन

सांसद लामाले प्रदेशको राजधानी काभ्रेमा नै हुनुपर्नेमा अधिकांशको जोड रहेको बताए । प्रस्तावक भएको नाताले आफूले पनि काभ्रेमा प्रदेशको राजधानी बनाउन विभिन्न चरणमा छलफल लाईसकेको बताए । ‘सम्भाव्यता अध्ययन टोलीले पनि पहिलो नम्बरमा काभ्रेलाई राखेको छ । म प्रस्तावक भएको नाताले यसको पहल म आफूले पनि विशेष ढंगले गरिरहेको छु ।’ लामाले भने, ‘अब लगभग टुंगिन्छ । प्रतिपक्ष दलले सदन अबरोध गरेका कारण यो विषयले छलफलको लागि प्रवेश पाएको छैन ।’

सरकारी कामकाजको भाषा तीन वटा हुनुपर्छ

सरकारी कामकाजको भाषाको विषयमा सांसद लामासँग जिज्ञासा राख्दा संविधानमा उल्लेख भएबमोजि हुने उनले बताए ।

प्रदेश ३ मा ३ वटा भाषा सरकारी कामकाजको भाषा हुने उनले स्पष्ट पारे । संविधानमा व्यवस्था भएबमोजिम यस प्रदेशमा नेवार, तामाङ र नेपाली भाषा सरकारी कामकाजको भाषा हुने उनले बताए । ‘संविधानले नै व्यवस्था गरे अनुसार यहाँको सरकारी कामकाजको भाषा हुनेछ ।’ लामाले भने, ‘प्रदेश ३ मा नेवार, तामाङ र नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ ।’

नेवार र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन आफूहरु छलफलमै रहेको लामाले तेमाल अनलाईनलाई बताए ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले सदन अबरुद्ध गरेपछि प्रदेशको राजधानी, नामाकरण र भाषाले छालफलमा प्रवेश नपाएको लामाको भनाई छ ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।